भर्खरै :

तीन स्रष्टा पुरस्कृत

काठमाडौँ, २८ पुस : बाबा–ओमवीर सिंह बस्न्यात पुरस्कार प्रतिष्ठानले नेपाली साहित्यका विभिन्न विधामा विशिष्ट योगदान पु¥याउने तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीद्धारा मधुपर्क मासिकका प्रधान सम्पादक एवं साहित्यकार जयदेव भट्टराई रु २५ हजार र लेखक वासुदेव पाण्डेलाई रु २१ हजार राशिको यस वर्षको बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा साहित्यकार राम सञ्जेललाई सम्मानपत्रसहित रु १५ हजार राशिको बाबा–ओमवीरसिंह बस्न्यात प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
निजामती स्वास्थ्य सेवामा ३१ वर्ष बिताएर प्रथम श्रेणीबाट सेवानिवृत्त हुनुभएका साहित्यकार बस्न्यातले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा योगदान पुगोस् भन्ने हेतुले आफू र धर्मपत्नीको नाममा अक्षयकोष स्थापना गरी प्राप्त हुने वार्षिक ब्याजबाट पुरस्कारको व्यवस्था गरिएको हो । विसं २०५६ देखि हालसम्म ३३ जना सर्जक उक्त पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
समारोहमा उपकुलपति डा उप्रेतीले साहित्य क्षेत्रका सशक्त व्यक्तित्व बस्नेतले आफूले आर्जन गरेको सम्पत्ति चाहना गरेको विधामा समर्पण गरेर समाजमा उदाहरणीय काम गरेको बताउनुभयो । साहित्यकार डा रमेशचन्द्र अधिकारी र मोहन दुवालले साहित्य सिर्जनामा पक्ष तथा विपक्ष नभई निष्पक्ष भएर सिर्जना गर्नुपर्नेमा साहित्यको मूलबाटोबाट हिँड्ने बस्न्यात जस्तो व्यक्तिको खडेरी रहेको धारणा व्यक्त गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *