भर्खरै :

मृत्युको कारण छाउगोठ कि सरकार ?

बाजुरा बुढीनन्दा – भोगीचौरस्थित एक छाउगोठमा २ बालकसहित ३५ वर्षीया अम्बा बोहोराको गत म·लबार मृत्यु भयो । महिनावारी हुँदा २ छोरासहित छाउगोठमा सुतेकी अम्बाको निस्सासिएर मृत्यु भएको समाचार प्रकाशित भयो । अत्यधिक चिसोबाट बच्न छाउगोठभित्र आगो बाली सुतेको उनीहरु फेरि ब्युँझ्न पाएनन् । महिनावारी हुँदा यसरी छाउगोठमा सुत्न बाध्य महिलाले ज्यान गुमाएको यो न पहिलो घटना हो न अन्तिम नै हुनेछ । यस्ता समाचार र घटनाको अन्त्य कहिले हुने हो ?
देशमा बहुदल पुनःस्थापना भएको झण्डै तीन दशक लाग्यो । गणतन्त्र आएकै दशक नाघिसक्यो । तर, गरिब अझ त्यसमा पनि कामदार वर्गका महिलाले पशुतुल्य जीवन बाँच्नुपर्ने बाध्यता अन्त्य भएको छैन, अझ बढ्दो छ । नेपाली समाजमा अन्धविश्वास अझ गहिरिँदो छ । छाउपडी पनि अन्धविश्वासकै एक कुरूप पाटो हो । २१ औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा पनि नेपाली समाज हिजोकै सामन्ती संस्कारमा जेलिएकै छ ।
हाम्रो देशमा प्रधान न्यायधीशदेखि सभामुखसम्म पनि महिला भइसकेका छन् वा पदमा पुगेका छन् । बहुदल पुनःस्थापनादेखि प्रतिगमनविरोधी आन्दोलनसम्मको अवधिमा मात्रै झण्डै चार दर्जन महिला त मन्त्री नै भइसकेका छन् । गणतन्त्रपछि कैयौँ महिला मन्त्री भए भने प्रदेश प्रमुखमा समेत महिला छन् । सयौँ महिलाहरू शासक पार्टीबाट सभासद् र सांसद पनि भए । देशको सर्वोच्च पद राष्ट्रपतिमा अहिले महिला नै छन् । अहिले देशको केन्द्रीय संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व छ । बिडम्बना, ती कसैले पनि अन्धविश्वासका कारण महिलाले भोग्नुपर्ने दुःखकष्टलाई ध्यान दिएनन् । कहिल्यै सम्बोधन गरेनन् । कारण स्पष्टै छ, कि कामदारवर्गका महिला रुढीवाद – अन्धविश्वास वा पुराना मूल्य – मान्यताबाट बाहिर निस्के वा सचेत भए आफ्नो खाईपाईआएको भाग खोसिनेछ, काम गरी खाने बहुसङख्यक महिलामाथिको हैकम गुम्नेछ । हरेक चुनावमा बहुमत ल्याएर संसद् वा पदमा पुग्नेहरू शोषक–सामन्त वा जामिनदार वा पुँजीपति वर्गकै छोरी – बुहारी हुन् । शोषणको भाग खान पल्केकाहरूले बहुमत कामदार महिलालाई न्याय र सुख दिने विषय कसरी सोच्न सक्छन् र ?
संविधान निर्माणपछिको पहिलो चुनावमा केपी ओलीको कथित वामगठबन्धनले नेपाली समाजलाई अन्धविश्वासबाट माथि उठाउने भनेर आफ्नो घोषणापत्रमा लेखी जनतालाई झुक्याएर मत मागेको थियो । देशको समृद्धि, पानी जहाज, रेल, चुला–चुलामा ग्याँसको मिटर, सुतेकै ठाउँमा भात पु¥याइदिनेलगायतका अनेकन झूटा आश्वासन दिएर बहुमत पनि ल्यायो । अनि, के दुईतिहाइको सरकार बनाएपछि घोषणापत्र वा जनतालाई दिइएका आश्वासन पूरा गर्नुपर्दैन ? अन्धविश्वास अन्त्य गर्छु भन्ने तर त्यसैलाई भजाएर आफ्नो भुँडी भर्ने सरकार र शासक दलहरू अम्बाजस्ता छाउगोठमा मृत्युवरण गर्न विवश महिला एवम् किशोरीका दोषी हुन् कि होइनन् ? छाउपडी अन्त्यको नाममा NGO/INGO को डलर खाएर छाउगोठ भत्काउन तल्लीन ओली – प्रचण्डको सरकार अपराधी हो कि होइन ? अन्धविश्वासविरुद्ध जनचेतना फैलाउने काममा त सरकार लागेन लागेन, कमसेकम सुरक्षित छाउगोठ एउटा बनाइदिन त सक्थ्यो ! सुरक्षित छाउगोठको बन्दोवस्त गरी छाउपडी प्रथा कायम रहेका ठाउँका जनतालाई अन्धविश्वासबाट माथि उठाउने गतिविधि गर्न केले छेक्यो यो सरकारलाई ? NGO/INGO को नाममा डलरजति बालुवाटार–सिंहदरबार भित्रन्थ्यो अनि एउटा छाउगोठ भत्काउँदा अर्को ठडिसक्थ्यो । दिनभर छाउगोठ र छाउपडी प्रथाको अन्त्य गर्नुपर्छ भनी विद्यार्थीलाई सम्झाउने कतिपय शिक्षिकाहरूसमेत महिनावारी हुँदा रात परेपछि छाउगोठमा लुक्न बाध्य छन् । कुप्रथाविरुद्ध जनचेतना अभियानमा लाग्नुपर्ने महिला जनप्रतिनिधिहरू छाउगोठमा सुत्न विवश छन् ।
महिनावारी महिलाको शरीरलाई स्वस्थ राख्ने नियमित प्रक्रिया हो, महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो भनी सम्झाउनुपर्ने महिला स्वास्थ्य स्वयम् सेविकाहरू नै पनि छाउगोठमा महिनाको पाँच दिन बिताउँछन् भने आजसम्मका सरकार र महिला तथा बालबालिका मन्त्रीले सिन्कोसम्म नभाँचेको प्रस्ट हुन्न र ? छाउगोठमा महिला मृत्युका कारक ती सबै सत्तासीनहरू होइनन् र ? छाउगोठ होइन अन्धविश्वासमा विश्वास गर्ने मानसिकता भत्काउनुपर्छ भन्नेमा नालायक सरकारहरूको सोच नै नभएको हो र ? आजसम्मका सरकारहरूले जानाजान अन्धविश्वासलाई बढावा दिएका हुन् कि होइनन् ?
त्यसरी अन्धविश्वासको कारण छाउगोठमा ज्यान गुमाउन विवश अम्बाहरू कति भए, कुन–कुन पार्टीको सरकार अनि कुन प्रधानमन्त्री–महिला बालबालिका मन्त्रीका पालामा त्यस्ता घटनाहरू घटे ? ती सबैको छानबीन गरी विवरण सार्वजनिक गर्न आवश्यक छ । यसपाला त छाउ भएकी महिलासँगै उनका २ छोरा, जो देशका भविश्य थिए उनीहरूको समेत ज्यान गएको छ । छाउपडीजस्तो अन्धविश्वासमा ज्यान गुमाउनुलाई अहिलेको युगमा सहज मान्नु कदापि हुन्न । अम्बाको मृत्युलाई ‘दैवी प्रकोप’ को घटनामा राखेर राहत दिने तयारीमा सरकार र उसका अङ्गहरू लागेको समाचार आइरहेछ । त्यसो त नक्कली कम्युनिष्टले चलाएको देश भनेर प्रस्ट्याउने यो एउटा आधार पनि हो । अब, अम्बा र उनका २ छोराको मृत्यु साथै यसभन्दा अगाडि छाउगोठमा विभिन्न कारणले मृत्यु भएका महिला र किशोरीको मृत्युलाई हत्या मान्ने कि नमान्ने ? ती सबैका हत्यारा आजसम्मका सरकारहरू हुन् कि होइनन् ? हो, बहुदलपछि छाउपडी, बोक्सीलगायत अन्धविश्वासबाट नेपाली समाजलाई माथि उठाउन कुनै पनि विशेष योजना नल्याउने, कानुन नबनाउने र भएका कानुनको सही कार्यान्वयन नगर्ने सरकारहरू नै हत्यारा हुन् । महिला मन्त्रालयका मन्त्रीहरू हत्यारा हुन् । पदीय हिसाबले वा नैतिकताको आधारमा प्रधानमन्त्री जिम्मेवार वा हत्यारा नहुने किन ?
त्यसकारण यो मृत्युलाई ‘दैवी प्रकोप’ होइन जघन्य अपराधको मुद्दामा राखिनुपर्छ । आजसम्मका नालायक हत्यारा सरकारहरूलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । सुरुआत यही ओली–प्रचण्डको सरकारबाट किन नगर्ने ?
–अन्तरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *