भर्खरै :

देशमा विदेशी प्रभाव बढ्दा सार्वभौमिकतामा खतरा

भक्तपुर, २ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बुधबार २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले बैङ्क डुबे पनि देश डुब्नु हुँदैन र बैङ्कले देश र जनताको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनतालाई दुःख दिनको लागि ऐन–कानुन बनाउन नहुनेमा जोड दिनुभयो ।
देशमा अहिले विदेशीको प्रभाव बढिरहेको हुँदा देशको सार्वभौमिकता खतरामा भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले पुँजीवादी व्यवस्थामा देश नाफा र कमिसनमा चल्ने बताउनुभयो ।
विदेशीले भनेको सामान किन्ने भएमात्रै सहयोग गर्ने विदेशी दाताको मानसिकता ठीक नभएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले छाउपडी अहिलेसम्म हट्न नसक्नुमा सरकारकै कमजोरी रहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उपाय र सुरक्षाबारे विद्यालय र कलेजको पाठ्यक्रममा उल्लेख गर्नुपर्ने आवश्यकता औंँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल विश्वमा भूकम्पीय दृष्टिले एघारौँ जोखिम क्षेत्र र नेपालमा काठमाडौँ उपत्यका पहिलो जोखिममा पर्छ । काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माण गर्दा बढी सचेत हुुनुपर्छ र यो कार्यमा भनपाबाट सञ्चालित कलेजहरूबाट योगदान भइरहेको काम उल्लेखनीय छ ।’’
सरकारले विसं १९९० को भूकम्पबाट भएको क्षतिलाई बिर्सेकैले विसं २०७२ को भूकम्पमा बढी क्षति भएको चर्चा गर्नुहुँदै सांसद सुवालले विसं २०७२ को भूकम्पलगत्तै कतिपय मानिस अग्ला घर बनाउन नहुनेतर्फ सचेत देखिएको तर केही महिनापछि अग्ला घरहरू बन्ने क्रम सुरू भएको जानकारी गराउनुभयो ।
पुस ३० गतेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श समितिको बैठकमा प्रम केपी ओलीले स्थानीय तहमार्फत पुनःनिर्माणलाई गति दिने र निजी घर पुनःनिर्माणलाई प्राथमिकतामा राख्ने बताए पनि राष्ट्र बैङ्कका कर्मचारीले पीडितलाई सहुलियत ब्याजमा ऋण दिन नसक्ने बताएपछि प्रम ओलीले ढुकुटीले नधान्ने आकाङ्क्षा पीडितले राख्न नहुने, बैङ्क डुब्ने गरी ऋण दिन मिल्दैन भनी पीडितको घाउमा नूनचुक दल्ने काम गरेको सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले जोड दिनुभयो, ‘‘पीडितले पाउने अनुदान र सहुलियत ब्याजको ऋणको समय बढाउनु आवश्यक छ ।’’
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा निर्माणमा पुरातत्व विभागको कार्यालयबाट ठेकेदारमार्फत काम गराएकोमा भक्तपुर नगरपालिकाले कमसल निर्माणलाई सच्याउने काम गरेको बताउनुहुँदै सबै सरकारी निकायहरूलाई प्राचीन स्मारक संरक्षण ऐन र नगरपालिकाको नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भूकम्प पीडितलाई अनुदान रकम एकमुष्ट दिनुपर्ने र अनुदान रकम र समय बढाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित इन्जिनियरिङ कलेजले नेपालमै पहिलोपटक भूकम्पसम्बन्धी स्नात्तकोत्तर तहको अध्यापनको अवसर प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *