भर्खरै :

चीनले बदलास्वरूप मृत्युदण्ड दिएको दाबीमा सत्यता छैन

कुर्टिस स्टोन, पिपुल्स डेली
पेइचिङ, २ माघ । चीनको उत्तरपूर्वी प्रान्तको एक अदालतले लागूपदार्थ तस्करीको दोषी प्रमाणित भएका एक क्यानाडेली नागरिकलाई सोमबार मृत्युदण्डको सजाय फैसला ग¥यो । क्यानाडेली नागरिक रोवर्ट लोयड सेलेनवर्गलाई यसअघि नोभेम्बरमा तल्लो अदालतले १५ वर्ष कैदको सजाय गरेको थियो । उक्त सजाय चीनको कानुनअनुसार कम भएको भन्दै जनन्यायाधिवक्ताको कार्यालयले माथिल्लो अदालतमा पुनरावेदन गरेको थियो ।
चिनियाँ अदालतको उक्त फैसलालाई क्यानाडाले चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्खालाई गरेको पक्राउविरूद्ध बदलाबाट प्रेरित भई मृत्युदण्डको फैसला गरेको आरोप लगाएको छ । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरूका लागि उक्त फैसला गम्भीर चासोको विषय भएको उल्लेख गर्दै सबै अन्तर्राष्ट्रिय सहयात्रीका लागि गम्भीर चासोको विषय बन्नुपर्ने बताएका थिए ।
चीनले भने क्यानाडाको उक्त आरोप र दाबीको खण्डन गरेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा चुनयिङले चिनियाँ अदालतले आफ्नो देशको कानुन कार्यान्वयन गर्दै गरेको फैसलालाई बदलाबाट प्रेरित भएको दाबी गर्नु सत्यबाट धेरै टाढाको कुरा भएको बताउनुभयो ।
प्रवक्ता ह्वाले क्यानाडाका मानिसहरूले त्यस्तो दाबीलाई कसरी विश्वास गरे भनी आफूलाई आश्चर्य लागेको बताउँदै उक्त मुद्दाको सिलसिलेवार घटना र त्यससम्बन्धी चिनियाँ कानुन गम्भीरतापूर्वक अध्ययन गरेमा त्यस्तो भ्रम नरहने प्रस्ट पार्नुभयो ।
प्रवक्ता ह्वाले चिनियाँ अदालत विद्यमान कानुनबमोजिम मात्र चल्नेबाहेक चालू घटनाबाट प्रभावित भई फैसला नगर्ने र लागूऔषध तस्करी चीनमा मृत्युदण्डसम्म हुनसक्ने गम्भीर अपराध भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा चीनको डालियान इन्टरमेडियट जनअदालतद्वारा उक्त मुद्दाबारे जारी विस्तृत विवरण सार्वजनिक गरियो । जसअनुसार सेलेनवर्ग लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा लागूऔषध तस्करीमा सक्रिय थिए र उनी २२२.०३५ केजी मेथाम्फेटामाइन चीनमा तस्करी गर्ने षड्यन्त्रलाई कार्यान्वयन गरिरहँदा पक्राउ परेका थिए । उनका क्रियाकलाप लागूऔषध तस्करीमा संलग्नतासित सम्बन्धित थिए र अभियोगकर्ताले उनले गरेको अपराधको स्पष्ट, ठोस र पर्याप्त सबुत अदालतसामु पेश गरेका थिए ।
चीनमा ‘कानुनको सामुन्ने सबै बराबर’ भने नै चिनियाँ विधिको शासनको मान्यता रहेकोमा जोड दिँदै प्रवक्ता ह्वाले चिनियाँ अदालतको फैसलालाई मनपरी र बदलाबाट प्रेरित भएको दाबी गर्नेहरूमा विधिको शासनप्रति आदर नरहेको दाबी गर्नुभयो ।
‘हामी क्यानाडेली पक्षसँग विधिको शासनको आदर गर्न, चीनको न्यायालयको सम्प्रभुताको आदर गर्न, आफ्नो गल्ती सच्याउन र यस्ता गैरजिम्मेवार प्रतिक्रिया बन्द गर्न आग्रह गर्दछौँ ।’’ प्रवक्ता ह्वाले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *