भर्खरै :

‘प्रमुख प्रतिपक्ष नेकां भागबण्डामा’

भरतपुर, २ माघ । ‘‘प्रमुख प्रतिपक्ष कमजोर भएपछि सत्तापक्षले मनपरी गर्छ । प्रमुख प्रतिपक्ष नेकां पनि भागवण्डामा फसेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपा पनि नेकांभन्दा तात्विक फरक छैन ।’’
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भरतपुरस्थित कालीका एफएमको ‘आजको कुरा’ कार्यक्रममा राजु सापकोटासँगको फोन वार्तामा म·लबार व्यक्त गर्नुभएको हो ।
‘‘मान्छेको हुल र भीड हुँदैमा पार्टी शक्तिवान हुनेभन्दा पनि उसले लिएको विचार र चिन्तन देश र जनताको हितको निम्ति छ कि छैन, त्यो महत्वपूर्ण हुन्छ । नेकपाको चरित्र कम्युनिष्ट नभएको उसको व्यवहारले देखाउँछ । नामले भन्दा पनि कामले पार्टी कसको पक्षमा छ हेर्नुपर्छ ।’’ एक प्रश्नको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो ।
उहाँले दुईतिहाइको सरकारबारे स्पष्ट पार्र्दै भन्नुभयो – ‘‘नेकपाको व्यवहार राणा, राजा, पञ्चायत, काङ्ग्रेसभन्दा फरक छैन । सरकार जातजाति, नातागोता, धर्म, भाषा, दाजुभात्न्दा बाहिर आउन सकेको छैन । आउरेबाउरे, ठेकेदार, लुचालफङ्गाले घेरेको सरकारले जनताको हित गर्नसक्दैन ।’’
‘‘आफू सत्तामा हुँदा जे गरे पनि हुन्छ भन्ने शैली अपनाउनु विधिको शासनको उल्लङ्घन गर्नु हो । सधैँ सत्तामा हुन्छ भनी नसोचे हुन्छ । राम्रो काम गरे पो राम्रै परिणाम आउँछ । एक–दुई जना राम्रा व्यक्ति भए पनि नेकपा पनि नेकां नै हो । धेरै खराब मान्छेहरू भएकाले देश लथालिङ्ग र भद्रगोल भएको हो ।’’ – अध्यक्ष बिजुक्छेंले स्पष्ट पार्नुभयो ।
प्रश्नको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो, ‘‘आफ्नो बुद्धि बन्धकमा राखेर सरकारमा पुगेकाहरूले नै देशलाई बिगारेका हुन् । जनतालाई मान्छे नगन्ने शासकहरूलाई एक दिन जनताले नै ठीक पार्नेछन् ।’’
प्रचण्डले बेलाबेलामा विस्थापित राजतन्त्रको कुरा गरेर जनतालाई के गर्न खोजेको भन्ने अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘‘विश्वमा केही देशमा राजतन्त्र पुनःस्थापना भए पनि नटिकेको इतिहास छ । प्रचण्डले जनतालाई तर्साउन खोजेको मात्र हो ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *