भर्खरै :

जानकी मण्डपमा एउटा प्रसादको मूल्य रु.१५० !

जनकपुरधामको राम जानकी विवाहमण्डप रहेको दुईतले मन्दिरभित्रको दृश्य हेर्दा राम सीताको विवाहको समयमा मात्र होइन अहिले पनि झकिझकाउ छ । मन्दिरभित्र राम सीताका मूर्तिसँगै अन्य ऋषिमुनि, विश्वामित्र, जनक, गुरु षडानन्द, बेहुला र बेहुली पक्ष रहने ठाउँ र मन्दिरको चारैतिर तेत्तीसकोटी देवता भनिएका मूर्तिहरू सजाएर राखिएकोले पनि सो विवाहमण्डप आकर्षणको थलो बनेको हो । त्यो दृश्य हेर्नलायक छ । विवाहमण्डपमा रहेका गुरुजीले श्रद्धालुहरुलाई राम सीता विवाह हुँदाको प्रसङ्गको चित्रण गर्नु, मण्डपभित्र राखिएका व्यक्तिका प्रतिमूर्तिहरूको जानकारी दिएर सुशिक्षित पार्नु सकारात्मक पक्ष हो, त्यो गुरुजीको दायित्व पनि हो ।
मण्डपबारे उनले सुनाएका वृत्तान्त श्रद्धालुहरूले ध्यान दिएर सुने । गुरुजीले आफ्नो वृत्तान्त सुनाएपछि मण्डपभित्रको प्रसाद श्रद्धालुहरूले लानुपर्ने बताए । प्रसाद दिनु र लिनु ठूलो कुरा होइन । तर, एउटा प्रसाद (फूल) को मूल्य उनले रु. १५०।– तोके । उनले भने, “यो शुभ प्रसाद हो, यो प्रसाद तपार्इंको ढुकुटीमा राखेपछि धन बढ्छ, मनोकाङ्छा पूरा हुन्छ, प्रसाद लगेर ढुकुटीमा राखे तपाईंको भलो हुन्छ ।” एउटा प्रसाद (फूल) को मूल्य रु. १५०।– तोक्दा श्रद्धालुहरू अचम्म परे । मन्दिरभित्र पसेर प्रसाद लिइसकेपछि रु. १५०।– नदिई त्यसै फर्कन पनि मिलेन । केही श्रद्धालुहरूले तोकेको मूल्य दिए । तर, अरु श्रद्धालुहरू एउटा प्रसादको मूल्य रु. १५०।– भनेर हच्के, प्रसादै नलिई फर्के ।
के एउटा प्रसादको मूल्य रु. १५०।– पर्छ ? के यो पुजारी (गुरुजी) ले ठगेको होइन ? कतिले त त्यो रकम प्रसादको होइन विवाहमण्डपबारे प्रवचन गर्दाको रकम लिएको ठाने । मण्डपभित्र पस्दा प्रतिव्यक्ति १०÷१५ रुपैयाँ लिनु अन्यथा होइन । प्रसादको मूल्य राख्नु हुँदैनथ्यो । कति भक्तजन तथा श्रद्धालुले त प्रसाद लिएबापत आफूखुसी नगद÷रुपैयाँ चढाउँछन्, चढाइरहेकै हुन्छन् । प्रसादको मूल्य नै तोकेर लिनु सोझा सिधा जनतासँग ठग्नु हो । यसबारे विवाहमण्डप व्यवस्थापन समितिले सोच्नुपर्छ र प्रसादको मूल्य तोकेरै लिने काम छोडाउनु बुद्धिमानी हुनेछ ।
– विगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *