भर्खरै :

अछाममा नेमकिपा स्थापना दिवस

अछाम, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवस जिल्ला – जिल्लाका कामदार जनताले विविध गतिविधि गरी मनाइरहेका छन् । सोही क्रममा सोमबार प्रदेश नं ७ को अछाम जिल्लाका मजदुर – किसानहरूले नेमकिपा स्थापना दिवसको अवसरमा जनसभा गरेका छन् ।
नेमकिपा अछाम जिल्ला समितिको आयोजनामा असाराघाटमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बजिरसिंह विकले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारसँग सैद्धान्तिक सङ्घर्ष गरी नेमकिपाको स्थापना भएको बताउनुभयो ।
माक्र्सवादी सिद्धान्तलाई बङ्ग्याउने संशोधनवादी पार्टीले व्यापक कामदार जनताको हितमा समाजवादी व्यवस्था स्थापना गर्न नसक्ने चर्चा गर्दै उहाँले कामदार जनताको समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपाले संशोधनवादविरुद्ध सैद्धान्तिक सङ्घर्षलाई जारी राख्ने धारणा राख्नुभयो ।
“राजनीति गुलाबको ओछ्यान होइन । बहुमत काम गरी खाने जनताको हितमा लड्दा अनेकन कठिनाइ आउनु स्वाभाविक हो । तर, कार्यकर्ताले त्यस्ता प्रतिकूलताको सामना गर्दै अघि बढ्नुपर्छ ।”, विकले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–सङ्गठनभित्र गएर पनि देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले पञ्चायतकालदेखि स्थानीय र संसदीय निर्वाचनमा भाग लिएर व्यापक कामदार जनताको पक्षमा सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य ज्याख्वले मानव समाजको विकास, दर्शन र अर्थतन्त्रमा माक्र्सवादी विचारबारे प्रशिक्षण दिनुभयो । उहाँले वर्ग रहेसम्म वर्गसङ्घर्ष हुने भन्दै वर्गविहीन समाजको स्थापनाको लागि नेमकिपाले सम्झौताहीन सङ्घर्ष जारी राख्ने बताउनुभयो ।
नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ, केन्द्रीय सदस्य ईश्वर शाही, नेमकिपा दैलेखका सौर्य कामी, नेमकिपाका कार्यकर्ता हरिप्रसाद बासुकला, नेक्रायुवासङ्घका मीनबहादुर बाटा, किसान कार्यकर्ता पदमबहादुर बुढा,गम्भीर विकलगायतले नेमकिपा स्थापनाको पृष्ठभूमि र समाजवादी आन्दोलनबारे धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *