भर्खरै :

संसदीय सङ्घर्षमा नेमकिपा: नागरिकता दिन धनी र गरिबबीच भेद किन ?

(२०४६ सालको जनआन्दोलनपश्चात् २०४७ सालमा भएको निर्वाचित पहिलो प्रतिनिधिसभामा नागरिकतासम्बन्धी समस्याबारे सार्वजनिक महत्वको प्रस्तावबारे २०४८ असोज २ गते बुधबार भएको छलफलमा नेमकिपा अध्यक्ष एवम् पहिलो प्रतिनिधिसभाका सांसद नारायणमान बिजुक्छेंले व्यक्त गर्नुभएको मन्तव्य । संसदीय सङ्घर्षमा नेमकिपाको क्रान्तिकारी संसदवादी भूमिका बुझ्न यो आलेख उपयोगी छ । – सं)
राष्ट्रियता र नागरिकता फरक छ राष्ट्रियता, देश, सरकार र नागरिकता फरक–फरक कुरा हुन् । साथीहरूले यी सबैलाई एकै ठाउँमा मुछ्ने गरेको मैले पाएको छु ।
कुनै एउटा देशभित्र भिन्न–भिन्न राष्ट्रियता हुनसक्छ । देशको नागरिकता भन्नु नै राष्ट्रियता होइन । धेरै देशको एउटै राष्ट्रियता पनि हुनसक्छ । उदाहरणको निम्ति सोभियत सङ्घअन्तर्गत धेरै राष्ट्र थिए । अहिले उनीहरू विभिन्न देशमा विभाजित भए । त्यसरी नै अरब राष्ट्रियता एउटै हो । तर अरब देश धेरै छन् । त्यसकारण राष्ट्रियता र नागरिकता भिन्न–भिन्न कुरा हुन् ।
म यो देशमा जन्मेको मान्छे हुँ भने म यो देशको नागरिक हुँ भन्ने अधिकार मलाई छ । यो देशमा जन्मेको हरेक नागरिकले नेपालको नागरिक हुने अधिकार राख्छ ।
कुनै अङ्ग्रेज बाबु–आमाबाट नेपालमा कुनै बच्चा जन्मन्छ भन्ने नेपालको सरकारले त्यो नेपाली नागरिक हो भन्ने दाबी गर्ने अधिकार राख्छ । त्यतिमात्र होइन, कुनै हवाइजहाज उड्न ठिक्क परेको बेलामा कसैको बच्चा जन्मन्छ भने त्यो बच्चामाथि पनि हाम्रो अधिकार रहन्छ । कञ्जुसी गर्ने कुरा आउँदैन । कञ्जुसी यस मानेमा आएको छ कि हामीले समस्यालाई बाङ्गो ढङ्गले लाँदैछौँ । त्यसकारण यस्तो कञ्जुसी भइरहेको छ । हिन्दुस्तानका धेरै मानिसहरू नेपाल आउने भएको हुनाले, नेपाललाई हिन्दुस्तानले ‘खाने’ भएको हुनाले नागरिकताको समस्या आएको छ । पञ्चायत कालमा पञ्चहरूले हिन्दुस्तानमा ‘अराष्ट्रिय तत्वहरू’ बस्छन्, उनीहरू हिन्दुस्तानबाट आएर नेपालमा गोलमाल गर्छन् भन्थे । त्यसैले नागरिकताको समस्या उठाइएको थियो । प्रजातन्त्र आएको हुनाले अब हामीलाई हिन्दुस्तानसँग डर छैन, मेरो विचारमा अब ‘अराष्ट्रिय तत्व’ को समस्या पनि समाधान भइसक्यो । अब समस्या छ– सिमानामा बार लगाउने र परिचय पत्र दिने अनि नेपालमा बसिसकेका मानिसहरूलाई नागरिकता प्रदान गर्ने । यसमा कञ्जुसी गर्ने कुरा आउँदैन ।
धनीलाई नागरिकता दिने गरिबलाई नदिने ?
पञ्चायतकालमा हामीले २–४ दिन बसेपछि नै ठूलठूला व्यापारीहरूलाई नागरिकता प्रदान गरिएको देखेका थियौँ । तर, २–३ पुस्ता बसिसकेका गरिबहरू कामदार वर्गका मानिसहरूलाई भने नागरिकता दिइएको थिएन । को कहाँ बसेको हो ,त्यसको मूल के हो भनेर सोध्यो भने हाम्रो शाहवंश नेपाली होइन । हिन्दुस्तानबाट आएका हुन् ।
बाहुन र क्षेत्रीहरू, सबै आर्यहरू कहाँबाट आएका हुन् ? तिनीहरू ककेशियाबाट आएका हुन् । मेरो कुरा गर्नु हुन्छ भने म जातिले नेवार हुँ । तर, मेरो पुर्खा बैशालीबाट आएको हो । मल्ल राजाको पालामा ४–५ सय वर्ष अगाडि । मलाई तपाईंहरू नेपाली भन्नुहुन्छ कि हिन्दुस्तानी भन्नुहुन्छ ?
मजदुर वर्गको कुनै देश हुँदैन
नेपालीहरू अर्थात् बाहुन, क्षेत्री आदि सबैको संस्कृति हिन्दु वा हिन्दुस्तानी हो । बुढा मानिसहरू काशीबास गएर मर्न मन पराउँछन् । तिनीहरू सबै हिन्दुस्तानी मूलकै हुन् । तर, उनका बाबु–आमा या बाजे–बराजुहरू धेरै वर्ष पहिले नै नेपालमा आए, नेपालको निम्ति रगत–पसिना बगाएका हुनाले तिनीहरू नेपाली भए । साथै सिद्धान्ततः हेर्ने हो भने मजदुर वर्गकोे कुनै देश हुँदैन । अहिले पनि जसले लालपुर्जा पाउँदैन उसले नागरिकता पाउँदैन । जसको पैसा छ, उसको मात्र सम्पत्ति हुन्छ । जसको अचल सम्पत्ति हुन्छ, त्यसले मात्र लालपुर्जा पाउँछ । मेरै कुरा गर्नुहुन्छ भने मेरो छोराको लालपुर्जा हुँदैन किनभने म अहिले घर छोडर डेरामा आएको छु । थोरै जग्गा छ– त्यो अब कति भाग गर्ने ? के म नागरिक हुन्नँ मेरो छोरा नागरिक हुन्नँ नेपालको ? नागरिक हो कि होइन भन्नुभन्दा कुन वर्गको हो भन्ने हो । धनीहरू सबैले नागरिकता पाएका छन् । त्यतिमात्र होइन, पञ्चायतकालमा मन्त्रीहरूले हिन्दुस्तानमा आफ्ना भाई–भतिजा–भान्जालाई नेपालको नागरिकता बनाएर स्कलरशिप (छात्रवृत्ति) दिलाएर विदेश पठाए । यसको दोषी को हो ? सरकार हो । शोषकहरू र तिनीहरूको स्वार्थी भावना नै यसको दोषी हो । तर गरिबहरूले नागरिकता पाएनन् । जहिलेसम्म तल्लो वर्गको शासन आउँदैन वा समाजवादी क्रान्ति हुँदैन, तल्लो वर्गले नागरिकता पाउँदैन । नागरिकता पाए पनि तिनीहरूलाई हेलाहोचो भइरहनेछ ।
तराईमा नागरिकताको सम्बन्धमा एकथरीले जानाजान नयाँ ढङ्गले विषयवस्तु प्रस्तुत गरेका छन् । राजनीति ग¥यो भन्ने प्रश्न उठेको छ । राजनीति गर्नुपर्छ, राजनीति गरिन्छ, नागरिकताको विषयमा पनि राजनीति गरिन्छ, वर्गको कुरामा पनि गरिन्छ किनभने नेपाली काङ्ग्रेसका कति साथीहरूले नागरिकताकै कुरालाई लिएर चुनाव जितेर आएका हुन् । हामी प्रस्ट शब्दमा भन्छौँ–हामी गरिबको पक्षमा छौँ, हामी धनीहरूको विरोध गर्छाैं । हामीले पायाँै भने धनीका जग्गा गरिबलाई बाँडी दिन्छौँ–समस्याको समाधान त्यही हो । त्यही राजनीति हो । कसैले धनीको राजनीति गर्छ, कसैले गरिबको राजनीति गर्छ । कसैले नागरिकताको कुरोमा गर्छ, कसैले ४ विघाको राजनीति गर्ने भन्छ, कसैले प्रजातन्त्र दिने भन्छ । सबैले आश्वासन दिन्छन् तर दिने चाहिँ होइन । हामी मजदुर वर्गको पक्षमा छौँ– यो चाहिँ साँचो हो ।
मूलवासी खोतल्दा बहुमत सांसदहरू अनागरिक हुने  जहाँसम्म मूलवासीलाई मात्र नागरिक भन्ने कुरा हो, त्यो सा¥है पुरानो हुन्छ । त्यसो गरेमा नेपालमा सा¥है कम मानिसहरू नागरिक हुनेछन् । उदाहरणको निम्ति माथिल्ला तहका नेवारहरू कोही पनि नागरिक हुनेछैनन् । मातृसत्तात्मक समाजको बेलामा उत्तरतिरबाट आएका मङ्गोलहरू वा आजका ज्यापूहरू मात्र नागरिक हुनेछन् । उपत्यका बन्नुभन्दा पहिले तिनीहरू फुचो डाँडामा या नगरकोटको डाँडा या साँखुमा बसेका थिए । तिनीहरू मात्र नागरिक बन्ने भए । मलाई लाग्छ, संसदका अत्यन्त बहुमत साथीहरू अनागरिक हुनेछौँ । यहाँ चुनेर आएका बाहुनहरू ४०० जना छन् । तिनीहरू झन् आर्यहरू हिन्दुस्तानबाट आएका हुन्, तिनीहरू गैरनागरिक हुनेछन् । अरु पार्टीहरूको कुरा छोडौँ, वामपन्थीहरूमध्ये पनि कति बाहुन नै छन् । तिनीहरू पनि हिन्दुस्तानी मूलका छन्, हिन्दुस्तानमा मर्न पाए आफू स्वर्गमा गएको सम्झ्नेहरूकै पुस्ता हुन् । तिनीहरू पुस्तौं अघि नेपालमा आएर बसेका हुन् र तिनीहरूले देशको निम्ति रगत पसिना बगाएका छन्, तिनीहरू सबै नेपाली नै हुन् । सबैले नागरिकता पाउनुपर्छ ।त्यसमा कुनै किसिमको भेदभाव गरिनुहुँदैन ।
साम्प्रदायिक कुरा उठाउने शोषक वर्ग हुन्
तराईमा केही पक्षले जानाजान आफ्नो शोषणलाई कायम गर्नको निम्ति ‘पहाडिया’ र ‘मधेसिया’को रुपमा विभाजन ल्याएका छन् । त्यसो गर्ने मानिसहरू निश्चय पनि धनी तराईवासी नै हुन्, शोषक तराईवासी नै हुन् । तिनीहरूले आफ्नो शोषण कायम राख्नको निम्ति यो नारा उठाएका हुन् विसं २००८ सालदेखि १२–१३ सालसम्म भएको किसान आन्दोलनमा लाखौंको सङ्ख्यामा किसानहरू उठेका थिए । त्यसबेला तराई र पहाडीको कुरा आएन । त्यसबेला धनी र गरिबको कुरा आएको थियो । जग्गा धनी र जोताहाको कुरा आएको थियो । शोषक र शोषितको कुरा उठेको थियो । त्यो कुरालाई खत्तम पार्नको निम्ति, त्यसलाई लुकाउनको निम्ति साम्प्रादायिक कुरा उठाइएको हो ।
तराईमा हामी दुई किसिमको सङ्घर्ष देख्छौँ–एकातिर वर्गसङ्घर्ष, अर्कोतिर जातको सङ्घर्ष । तराईको प्रश्न उठाउने कति मानिसहरू पनि क्षेत्री र बाहुन नै हुन् ।
तिनीहरू जानाजान तल्लो वर्गलाई मूर्ख बनाउनको निम्ति तराईको प्रश्न उठाएका हुन् । सप्तरीको कोइलाडी र बर्साइनमा अरु मानिस घोडा चढेर जान पाउँदैनन् । तिनीहरू घोडाबाट ओर्लनुपर्छ, त्यो गाउँमा त बाहुन, झा र मिश्रहरूको छ । त्यस्तै बोलवाला अन्यत्र अरु जातिहरूको छ । माथिल्ला जाति तल्लो जात र वर्गलाई उठ्न दिन चाहँदैनन् । त्यसो भएको हुनाले मलाई लाग्छ, नागरिकताको सवाललाई वर्ग र जातको सङ्घर्षसँग जोड्नु हुँदैन । सबैले नागरिकता प्रमाणपत्र पाउनुपर्दछ । जागिर पाउनको निम्ति र अरु पेशाको निम्ति सजिलो होस् भन्ने कुराले पनि नागरिकताका प्रश्नहरू उठेका हुन् ।
युद्धले क्रान्ति जन्माउँछ
समस्या जेलियो भने मलाई लाग्छ, केही साथीहरूले भनेअनुसार श्रीलङ्काको जस्तो समस्या आउनेछ । त्यसो त त्यो राम्रो कुरा पनि हो । सङ्घर्षले सबै कुराको निर्णय गर्छ । मलाई लाग्छ युद्धले राम्रो काम पनि गर्छ । युद्धले युद्धलाई रोक्छ अथवा युद्धले क्रान्तिलाई जन्माउँछ । म त भन्छु श्रीलङ्का होस् म त भन्छु त्यसले श्रीलङ्काको शोषक वर्गलाई समाप्त पारोस् –चाहे त्यो पहाडिया शोषक होस् चाहे त्यो तराईको शोषक होस् । त्यो ठीक हुन्छ । तर संजोग भन्नुस्, श्रीलङ्काको आन्दोलनमा शोषकहरूले मद्दत गरेनन् । श्रीलङ्काको तामिल आन्दोलन श्रीलङ्काको मजदुर आन्दोलन र समाजवादी आन्दोलनसँग जोडिएको भए सुगन्ध हुने थियो । त्यही एउटा कमी भयो । जसले गर्दा तामिल जनताहरूले दुःख पाइरहेका छन् । हामी नेपालीहरू त्यसो नगरौँ । हामी सक्छौँ भने तराईका तमाम शोषित पीडित जनतालाई उठाऔं र नयाँ सङ्घर्षलाई थालनी गरौँ । अहिले हामीहरू जसरी यो संसदमा बसिरहेका छौँ, धेरैजसो हुने–खाने वर्गबाट आएका छौँ । यो ठाउँमा साँच्चिकै तल्लो वर्गका मानिसहरूलाई हामीले ल्याउन सक्यौँ भने त्यही क्रान्ति हो । यदि त्यसो नभइकन साम्प्रदायिकतालाई उठायौँ भने मलाई लाग्छ, एउटा उखान छ ‘जो पानीमा खेल्छ त्यो पानीमा मर्छ, जो आगोसँग खेल्छ त्यो आगो मै मर्छ’ त्यो उखान चरितार्थ हुनेछ । जो साम्प्रदायिकतासँग खेल्छ त्यो सम्प्रदायिक ढङ्गले नै मर्छ । त्यसको अन्त्य त्यही हुन्छ । आज पहाड र तराईको कुरा छ, भोलिबाहुन र क्षेत्रीको कुरा उठ्छ, यादव र अरु जातहरूको बीचमा सङ्घर्ष हुन थाल्छ । त्यो कुनै एउटा टुङ्गोमा पुग्दैन । त्यसकारण अत्यन्त बहुमतको आन्दोलनको हित जहाँनिर छ, त्यसैलाई नै अगाडि लैजानुपर्छ । समस्या मूलतः शोषित र शोषक वर्गको नै हो, हामी शोषित वर्गको पक्षमा छौँ र अत्यन्त बहुमत जनताले दुःख पाएका छन् । गरिबहरूले नागरिकता पाएका छैनन् । तिमीहरूले नागरिकता पाउनुपर्दछ ।
शासक वर्गले जनतालाई दबाउन साम्प्रदायिक कुरा गर्छन्
त्यसो त नागरिकताको सम्बन्धमा हाम्रो देशमा मात्रै यस्तो समस्या देखिएको होइन । क्रान्ति अगाडि बढ्दै गएमा नागरिकताको समस्या विस्तारै समाप्त हुँदै जाने छ । फ्रान्सेली क्रान्तिमा फ्रान्सका क्रान्तिकारीहरूले संसारका सबै क्रान्तिकारीहरूलाई आफ्नो देशमा बोलाएका थिए–‘आउनुहोस्, प्रतिक्रियावादीहरूबाट पीडित सारा देशका क्रान्तिकारीहरू हाम्रो देशमा आउनुस् ¤’ कार्ल माक्र्स पनि त फ्रान्समा शरण लिन गएका थिए । पेरिस कम्युनको बेलामा पनि युरोपका क्रान्तिकारी पेरिस कम्युनका सदस्य थिए, मन्त्रीमण्डलमा थिए । यस अर्थमा मजदुर वर्गको कुनै देश हुँदैन, तिनीहरू अन्तर्राष्ट्रियतावादी हुन्छन् । यदि नेपालमा पनि विभिन्न देशका क्रान्तिकारीहरू आउँछन् भने हामीले तिनीहरूलाई स्वागत गर्नुपर्छ । तिनीहरूलाई नागरिकता दिनुपर्छ । हाम्रो देशलाई अझ माथि उठाउनुपर्छ । आज पनि अमेरिकीहरू विभिन्न देशका मानिसहरूलाई नागरिकता दिइरहेका छन् । कति नेपालीहरू पनि अमेरिकामा नागरिक छन् । तर, हामी बडा कञ्जुस छाँै त्यस मामलामा । गरिबहरूप्रति हामी नराम्रो दृष्टिकोण राख्छाँै ।मारवाडीहरू आयो भने, धनी विदेशीहरू आयो भने, पश्चिमेलीहरू आयो भन्ने हामी स्वागत गर्छौं किनभने अहिले हामी पश्चिमी संस्कृतिका दास छौँ । अङ्ग्रेजहरूको प्रभाव नेपालमा पनि केही वर्ष बसेको थियो । त्यसो भएको हुनाले विदेशीहरू–गोरा जातिहरू नागरिक हुन आयो भने हामी स्वागत गर्ने, तर हाम्रै जनता कलर पिपुल (सवर्ण जनता) आयो भने हामीले तिनलाई अस्वीकार गर्ने – यो उचित होइन । अमेरिकामा पनि मजदुर आन्दोलन हुँदा त्यहाँका शोषक पुँजीपति वर्गले विभाजन गर्थे –कलर पिपुल र ह्वाइट पिपुल (सवर्ण र गोरा) । कलर वर्कर र ह्वाइट वर्कर भनेर । त्यतिमात्र होइन – ब्ल्याक (काला) र एसियनहरूको बीचमा भेद गराउँथे । फ्रान्सेली र जर्मनहरू भनेर पनि तिनीहरू विभाजन गर्थे । हरेक बेलामा जहाँ पनि शासक वर्गले जनतालाई दबाउनको निम्ति, जनताको एकतालाई टुक्रयाउनको निम्ति, मजदुर आन्दोलनलाई समाप्त पार्नको निम्ति त्यस्ता किसिमका साम्प्रदायिक कुराहरू गर्ने गर्छन्, छालाका कुराहरू गर्ने गर्छन्, रङ्गका कुराहरू गर्ने गर्छन् । यदि नेपाली काङ्ग्रेसले आफूलाई साँच्चैको प्रजातान्त्रिक समाजवादी सरकार भन्छ भने त्यस्तो किसिमको पक्षपात गर्नुहुँदैन । जुन कुरा युरोपमा एकबेला निकै असह्य थियो र मजदुर आन्दोलनले त्यस्तो किसिमको भेदभावको विरोध गरेको थियो, प्रजातान्त्रिक समाजवाद पनि मजदुर आन्दोलनकै एउटा अङ्ग थियो–त्यसबेला ।
नागरिकतामा कञ्जुस्याई र पक्षपात उचित छैन ।
केही साथहिरूले नागरिकताको समस्यालाई देशको रक्षा मामलासँग जोड्नुभएको छ । निश्चिय पनि त्यो कुरा साँचो हो । दोस्रो विश्वयुद्धको समय थियो, वार्सामा केही दिनसम्म सबै होटलहरू भरिभराउ थिए । तर एकदिन बिहान, जब ट्रे (किस्ती) लिएर होटलका केटाहरू कोठा–कोठामा चिया पु¥याउन गए, पर्यटकहरू सबै नाजीडे«समा थिए । मञ्चुरियामा बुटपालिस गर्ने र सबै सानातिना काम गर्नेहरू जापानीहरू नै थिए । एक दिन मञ्चुरिया जापानको कब्जामा गयो । भ्लाडिभोस्टोकमा पनि त्यस्तै भयो । सायद यहाँ हिन्दुस्तानी मानिसहरू देखेर हाम्रा केही मित्रहरूलाई पीर परेको होला । केरा बेच्ने, ‘भाडाँवर्तनका टुक्रा’ बटुल्ने, ठेला गाडावालाहरू, तरकारी बेच्ने तिनीहरू नै छन् । त्यो रक्षा मामला सम्बन्धि कुरा हो । तिनीहरूबाट हामी आफ्नो देशलाई बचाउन सक्छौँ कि सक्दैनाँै त्यो भिन्नै कुरो हो यो नागरिकतासँग सम्बन्धित कुरा होइन । हामीलाई त लाग्छ, राहुल सांकृत्यायन जस्ता हिन्दुस्तानी नागरिकले नेपालको नागरिकता पाएको भए हामीलाई गौरव हुने थियो । तेन्जिङ्ग शेर्पा एकजना हिन्दुस्तानी दार्जिलिङ्गमा बसेका थिए, उनले हिमाल चढेपछि हामी उनी नेपाली हुन् भनेर हल्ला गर्न थाल्यौँ । ठूलो मान्छेलाई नागरिकता दिने, सानो मान्छेलाई नागरिकता नदिने ? त्यस्तो किसिमको पक्षपात र कञ्जुस्याई ठीक होइन । हामीले आफूलाई अलि व्यापक बनाउनुपर्दछ । एकजना मानिस एउटा मुख र दुईटा हात लिएर आउँछ । श्रमिकहरूले काम गर्छन् ।
अहिले पनि हिन्दुस्तानीहरूलाई हामी देशभित्र पस्न दिँदैनौँ भन्ने कुरा ग¥यौँ भने काठमाडौं उपत्यकाका कति ईंटा भट्टाहरू बन्द हुनेछन् । सस्तो ज्यामी छ, त्यसैले ल्याएका हुन्, यहाँका भट्टाका धनीहरूले उनीहरूलाई दया गरेर ल्याएका होइनन् । संसारका मजदुर जहाँ सुकैको हुन्, जहाँँसुकै गएर काम गर्न पाउनुपर्छ । तिनीहरूको उचित ज्याला पाउनुपर्छ । जो जहाँ जुन देशमा गएर बस्न मन लाग्छ, उनीहरूले बस्न पाउनुपर्छ, त्यो देशको नियमअनुसार अनुशासन पालन गरेर तिनीहरूले देशको नागरिकता पनि पाउनुपर्छ ।
यो कुरा त हाम्रो देशमा अहिले भर्खर उठेको छ । युरोपमा सय–दुई सय वा अगाडि नै उठिसकेको हुनाले यसमा कञ्जुसी गर्ने होइन । हामीले जनता पायौँ भने उनीहरूबाट उत्पादन पनि बढ्छ । यस कुरालाई पनि ध्यान दिनुपर्छ ।
सारमा, नागकितामा कञ्जुसी गर्नुहुन्न । जसले काम गरेर आएको छ, तराईमा होस् या पहाडमा होस्, उनीहरूलाई नागरिकता दिनुपर्छ । धनीहरूलाई जसरी दियो,गरिबहरूलाई पनि त्यसरी नै दिनुपर्छ ।
स्रोत ः प्रतिनिधिसभामा का.रोहित
युवा अध्ययन गोष्ठी, काठमाडौं (२०४८ माघ ४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *