भर्खरै :

तराईमा किसान आन्दोलनको पृष्ठभूमि र असफलताका कारण : बारा र रौतहट जिल्लाको किसान आन्दोलनको लेखा–जोखा

किसान आन्दोलनको इतिहासले एकताका झकी–झकाउ भएको बारा जिल्ला आज नारायणी अञ्चलमा पर्छ । बाराको पूर्वमा रौतहट (गौर), पश्चिममा पर्सा (वीरगञ्ज) र उत्तरमा मकवानपुर (हेटौँडा) जिल्ला पर्छन् । दक्षिणमा भारतको विहार राज्यको चम्पारण जिल्ला पर्छ । थारु, कछार, दनुवार, मुहमदन, यादव, बाहुन, क्षेत्री, तली, चमार, कटुवाल, दुसाद आदि विभिन्न जाति, धर्म र थरका २ लाख ३३ हजारभन्दा बढी जनता यस जिल्लामा बसोबास गर्छन् । यो जिल्ला १०८ गाउँ पञ्चायतमा विभाजित छ । दूधौरा, वेगरी, पसाह, तीअर, चलही, जमुनी, अदुवा आदि विभिन्न ठूला र साना नदी तथा खोलाहरूले सिञ्चित यो जिल्लाको माटो उर्वर छ । प्रधान बाली धान र मकै हो । गाँजा, अफिम, चना, मुसुरी, रहर, गहुँ आदिको पनि यहाँ खेती हुन्छ । यहाँका किसान र गरिब जनता अतिपरिश्रमी छन् । तर, ती दिनहरूमा बाराका किसानहरू देशी र विदेशी सामन्त, जमिनदार र शोषकहरूबाट शोषित थिए । भ्रष्ट कर्मचारी, विदेशी साहु र काला बजारीहरूबाट पीडित थिए । राणा, शाह, बाहुन, क्षेत्री, सिंहजस्ता माथिल्ला जातिहरूबाट तल्लो जातिका जनता सामाजिक रुपमा थिचिएका थिए । ‘हिन्दु र महुमदन’, ‘मधिसे र पहाडी’, ‘तल्लो र माथिल्लो जात’ को नाममा जनतालाई जुधाएर शोषकहरू आफ्नो शोषणलाई कायम गर्न चाहन्थे । शासकवर्ग आफ्ना शासन दिगो राख्न चाहन्थे भने विदेशी लुटेराहरू लुट चालु राख्न चाहन्थे । आफ्नो रगत–पसिना चुहाएर मिहिनेत गर्ने किसानहरू र कामदार जनतालाई तिनीहरू सधैँ पैतलामुनि कुल्चेर राख्न चाहन्थे, उठ्न दिन चाहँदैनथे र स्वास फेर्ने फुर्सद पनि दिँदैनथे । सामन्ती, शोषक र ठूलाठालुहरू किसानलाई ‘रे’ भनी हेला गर्थे ।
जहाँ दमन र शोषण हुन्छ, त्यहाँ विद्रोह हुन्छ । यो ऐतिहासिक नियम हो जुन संसारका कुनै पनि मुलुकमा लागू हुन्छ र भइरहेछ । त्यस्तै एक दिन बाराका किसानहरू आफ्नो इज्जत र मिहिनेतको फल जोगाउन नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा जुरमुरिएर उठे । सामन्ती र पुँजीवादी व्यवस्थाले थोपरेको शोषण र अपहेलनाको विरुद्ध सङ्घर्ष गर्ने नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा २००९ सालमा बारामा क्रान्तिकारी किसानहरू अखिल नेपाल किसान सङ्घको नाममा संगठित भए । रौतहट र बारा जिल्लाको किसान सङ्गठन तराईका पुराना सङ्गठनमध्येका हुन् ।
आगोको एकै झिल्को डढेलो लगाउन सक्छ भनेझैँ रौतहट र बारा जिल्लाको किसान सङ्घर्षले तराईका अरु क्षेत्र र पहाडी इलाकाहरूमा पनि किसान आन्दोलन उठाउनमा मद्दत ग¥यो । बाराका किसान जनता वर्ग दुश्मनलाई अति घृणा गर्थे । यस्तो वर्गीय भावना हुनु राम्रै कुरा हो । बाराका क्रान्तिकारी किसान जनता देशी र विदेशी शोषकहरूका अगाडि झुक्न जानेका थिएनन् । आफ्नो वर्ग सङ्घर्षको पवित्र लडाईंमा उनीहरूमध्ये कति शोषक वर्गसँग लड्दा लड्दै सहीद भए । नेपाल कम्युनिष्ट पार्टीको झण्डालाई अझ रातो बनाए । यस मानेमा बाराका किसान जनता वीर छन् र सङ्घर्षशील छन् । यस्तै ऐतिहासिक परम्परालाई फेरि उठाउनुपरेको छ । बाराका किसानहरू फेरि वर्ग सङ्घर्षको मैदानमा आफ्नो गुमेको इज्जत र मिहिनेतको फल प्राप्त गर्न उठ्न परेको छ । सामन्ती र शोषक वर्गको शासन सत्तालाई पल्टाएर किसान र मजदुर जनताको नयाँ जनवादी सरकार कायम गर्न हातमा लाठी, भाला र बन्दुक उठाउन परेको छ ।
समानताको सङ्घर्ष
बारा जिल्ला उब्जाउ भूमियुक्त धनी जिल्ला हो । यो अन्नको भण्डार भन्न लायकको जिल्ला हो । तर, यहाँका किसानहरू देशका अरु भागका किसानहरू जस्तै अति गरिब थिए । कारण दिउँसोको घाम जतिकै प्रष्ट छ । यहाँका शोषक र सामन्तहरू किसानहरूलाई साह्रै शोषण गर्थे । शोषकहरू साना होस् या ठूला, बालक होस् या बृद्धा, आइमाई होस् या केटाकेटी किसानको रगत र पसिनाको फल खाएर मोटाएका थिए । तिनीहरू सबै आफूभन्दा जेठो बाठो किसान र जनतालाई समेत ‘रे’ भनेर बोलाउने गर्थे र हेला गर्थे । शोषकहरू किसान जनतालाई अछुत र तल्लो जात भनेर हेला गर्थे । जसले मिहिनेत गर्छ, जसको पाखुराको बलले देश हरियो हुन्छ जसको परिश्रमले देशको भकारी भर्छ, तिनै किसानहरूप्रति देशमा इज्जत थिएन, सम्मान थिएन । किसानहरूलाई मानिस सरह गनिँदैनथ्यो ।
किसानहरूमथिको यस्तो अपमान, बेइज्जती र हेंलाको विरोधमा सङ्घर्ष गर्न नेपाल कम्युनिष्ट पार्टीले बारा जिल्ला पार्टीलाई निर्देशन दियो । किसान कार्यकर्ताहरूले बारा जिल्लाका किसानहरूलाई सम्झाए कि हामी अब बढी अपमान सहन तयार छैनौँ । आफ्नो सङ्गठनलाई उठाउनुपर्छ । किसान जनताको इज्जतको निम्ति समानताको लडाइँ लड्नुपर्छ । गाउ–गाउँमा गुप्त र खुल्ला किसान सङ्गठनहरू बन्न थाले । किसान सङघले ‘रे’ शब्दलाई बदमास संज्ञा दियो । ‘रे’ को विरोध नगरी सहेर बस्ने दलाल हो, ‘रे’ को विरोधमा लड्ने कुनै पनि किसान र गाउँका जनतालाई अरुले मद्दत गर्नुपर्छ भन्दै किसान सङ्घले ‘जी’ को निम्ति लड्ने निर्णय लियो । जुन निर्णय बिजुली जतिकै सारा किसानहरूमा फैलियो । सुतिरहेका किसानहरू उठ्न थाले । उनीहरूले हेला, अपमान र बेइज्जतीको अर्थ बुझ्न थाले । तर शोषकहरूले किसानहरूलाई ‘जी’ भन्न मानेनन् । त्यहींदेखि समानताको सङ्घर्ष सुरु भयो । गाउँ–गाउँमा शोषक र किसानहरूले ‘रे’ को बदला ‘रे’ ले दिन थाले । बाराको वातावरण तनावपूर्ण बन्दै गयो । रौतहट र बाराका शोषक र सामन्तहरू काम्न थाले ।
समानताको लडाइँको आगो रौतहटमा राम्रोसँग फैलियो । बाराभन्दा रौतहट अझ चर्को शोषण र दमन हुने जिल्ला भएको हुँदा लडाइँको आगो उतैतिर बढी मोडियो । इनवारी, कोपवा, पिपरिया, लोकाहा, बसनपट्टी, पोखरीया, हथियाही, मनसरी, पथरा, पथियाही, छटौना, गैडया, हुमरीया, महमदपुर, मोतीपुर आदि गाउँहरूमा पनि लडाईं सुरु हुन थाल्यो । समानताको लडाइँमा इनवरी गाउँले पाएको विजय नै किसानहरूको पहिलो विजय थियो । जादोलाल शाह त्यहाँको सबभन्दा ठूलो सामन्त थियो । त्यसले एकजना किसानलाई ‘रे’ भन्दै गर्दा किसानहरूले त्यसको विरोध गरे । लाठी, मुक्का र जुत्ताले प्रहार गर्दै किसानहरूले सजाय दिए । युगौं युगदेखि सुतिरहेका किसानहरू इज्जतको निम्ति उठ्न थाले । आत्मसम्मानको निम्ति किसानहरूको रगत उम्लँदै थियो । समानता र इज्जतको निम्ति किसानहरूले पार्टीको झण्डालाई अझ माथि उचाल्ँदै गए । सामन्त जादोलाल शाह किसानहरू अगाडि आत्मसमर्पण गर्न बाध्य भयो, गल्ती स्वीकार्दै टाउको झुकाएर किसानहरूलाई ‘जी’ भन्न र सम्मान गर्नै प¥यो । यो नै किसानहरूको पहिलो जीत थियो । पार्टीले गरेको वर्ग सङ्घर्षको विजय थियो । जसले गर्दा आसपासका सबै सानातिना सामन्तहरू थरथर काँप्न थाले र विना विरोध ‘जी’ भन्न स्वीकार गरे ।
आफूहरूले पाएको पहिलो विजयले किसानहरूमा अझ बढी आत्मविश्वास र आत्मगौरवको भावना उब्जन थाल्यो । पार्टी र सङ्गठनप्रति विश्वास बढ्न थाल्यो । किसानहरू अखिल नेपाल किसान सङ्घको चारैतिर झन्झन् एकगठ हुन थाले ।
पार्टी र किसान सङ्घको जिल्ला कमिटीले २००९ बैशाख महिनामा कचरवा भन्ने गाउँमा सङ्घर्ष गर्ने निधो ग¥यो । जहाँ थाना थियो । किसानहरूको एक प्रतिनिधिमण्डल गएर थानेदारलाई भन्न गए –“अबदेखि किसानहरूलाई कुनै पनि शोषक, सामन्त र साहु महाजनले ‘रे’ भन्न पाउने छैन, यदि कसैले भनेमा त्यसलाई पनि ‘रे’ भनेरै जवाफ दिइनेछ । किसानहरू अब आफूमाथि लादेको अपमानलाई सहन तयार छैनन् । यसकारण थानाले सबै गाउँका ठूलाठालुहरूलाई किसानहरूको निर्णयलाई सुनाई दिनु । यदि भोलि बिहानदेखि कसैले ‘रे’ भनेर किसानहरूलाई बोलाएको खण्डमा सङ्घर्ष सुरु हुनेछ । त्यस सङ्घर्षको तमाम जिम्मेवारी शोषकहरू र थाना आफैँ हुनेछन् ।”
थानाले बाध्य भएर सूचना ग¥यो । तर ठूलठूला सामन्तहरू मान्न तयार भएनन् । सामन्तहरूबीच सभा भयो । सभामा जिल्लाका सबभन्दा ठूला सामन्त द्रोण शम्शेर राणाले बोलेको थियो – “सयौँ वर्षदेखि हामीले तिनीहरूलाई ‘रे’ भनेर आएका, आज पनि ‘रे’ नै भन्छौँ । ज्यान फाल्ने तर ‘जी’ नभन्ने, बरु आवश्यक पैसा हामी सरकारलाई दिन्छौँ ।” सामन्त र शोषकहरूको सभाले आफ्नो अपराधी एकतालाई कायम राख्न चन्दा उठाए । किसानविरोधीले कालो जिद्दी छाडेनन् । भोलिपल्ट घुसले मोटाएका थानेदार, कर्मचारी र पुलिसहरूले गाउँ–गाउँमा गएर किसान जनतालाई भड्काउने दुस्प्रयास गरे – ‘नेताहरूको भूलभूलैयामा नलाग, ‘जी’ भनेर तिमीहरूले पैसा पाउने होइन, भोक मेटिने होइन । झन् धनीहरू रिसाएर बटैया पनि खत्तम हुनेछ, यसकारण ‘रे’ र ‘जी’ को भ्रममा नलाग, पहिले जस्तै चलिआएको चलनअनुसार गर । बेकारमा हण्डर खानुपर्नेछ ।’ आदि आदि ।
यसको जवाफमा कति किसानहरूले थानेदार, पुलिस र कर्मचारीहरूलाई थुके र भने “यदि ‘जी’ भन्न लगाएर किसानहरूले केही नपाउने भए ‘जी’ भनेर तिनीहरूको (शोषकहरूको) के खती हुन्थ्यो त ¤ अथवा हामीले पनि ‘रे’ भनेको खण्डमा तिनीहरूको के नोक्सान हुन्छ ?” किसानहरूको यसप्रकारको मुख भरीको जवाफ पाएर सामन्त र शोषक, दलाल, पुलिस, कर्मचारी र थानेदारहरू कुकुरजस्तै पुच्छर लुकाएर भागे । किसानहरूले थाहा पाए कि सामन्त, शोषक, जमिनदार, पुलिस, अड्डा–अदालत र सरकार सबै एउटै ड्याङ्गका मूला हुन्, यी सबै किसान जनताका दुश्मन हुन् । स्थानीय सामन्त शोषकहरूको विरोधमा लड्नु सरकारको विरुद्धमा लड्नु हो र सरकारको विरुद्ध लड्नु स्थानीय शोषकहरूको विरुद्ध पनि लड्नु हो ।
प्रतिज्ञा र विजय
बारा जिल्लाको पार्टी र किसानहरूले सङ्घर्ष गर्ने प्रतिज्ञा गरे । परिश्रमले खस्रिएका र
घामले डढेका हजारौँ मुठ्ठीहरू उठे र सपथ लिए – इज्जतको निम्ति लड्छौँ । अपमान, घृणा र हेलाको विरुद्ध सङ्घर्ष गर्छौं ।
कचरुवा गाउँको सबभन्दा ठूलो शोषक थाकासा भन्ने सामन्त थियो । उसले कामरेड नूनुलाई ‘रे’ भनेर बोलाउँदा कामरेडले वर्ग दुश्मनलाई अति घृणाको दृष्टिले हेरे । बदलाको भावना उनमा खचाखच भरिएको थियो । मुठ्ठी कसेर साहसलाई बटुलेर, रातो पिरो आँखाले हेर्दै शोषकलाई पनि ‘रे’ भनेर ठूलो स्वरले तिरस्कार गरे । किसान कामरेडको त्यो ‘रे’ शोषक वर्गको छातीमा गोली जतिकै हानिन पुग्यो । मुटु छेडिदियो । कामरेडमाथि वर्ग दुश्मनले हात हाल्ने दुस्साहस ग¥यो । तर कामरेड पार्टी र किसान सङ्गठनको निर्णयले बलिरहेको चिराग जतिकै बल्दै थिए । शोषक बत्ती खान खोज्ने किरा फत्याङ्ग्रा जस्तै तुच्छ बन्दै थियो । कामरेडमाथि हातमात्रै के हालेको थियो–गाउँमा वर्ग सङ्घर्षको चट्याङ्ग परे जत्तिकै भयो । मेघ गर्जेसरि सारा किसानहरू घटनास्थलतिर हाम फाल्न पुगे ।
आत्मसम्मानको आगोले बलेका किसानहरूले त्यस पशुलाई गर्दन समातेर गिरफ्तार गरे । जुत्ताले कुल्चे, लछार–पछार गर्दै घिसार्दै किसानहरूले त्यस अपराधीलाई आफ्नो अफिसमा ल्याएर थुने । कामरेडमाथि हात हाल्न खोज्ने वर्ग दुश्मन चिराग खान खोज्ने किरा–फत्याङ्ग्रा जस्तै भस्म भयो । किसानहरूले युगौँ युगदेखिको बदला लिए ।
किसानहरूमा उत्साह र जोशको नयाँ लहर लहरिन थाल्यो । सबैले अब सङ्घर्षले नयाँ मोड लिन्छ, अन्दाज लगाउन थाले । अपराधी थाकासालाई छुटाउन उसका नोकर–चाकरहरू आउँछन् भन्ने कुरा निश्चित प्रायः थियो । यसकारण संगठनले आफ्नो किसान अफिसको सुरक्षाको निम्ति ५० जवान किसान कार्यकर्ताहरू लाठो लिएर पहरा राख्न थाल्यो । अनुमानअनुसारै थाकासाको नुनको सोझो गर्ने १० जवान दलालहरू आए । उनको छुटकाराको माग गर्नु त के किसान स्वयंसेवकहरूको पहरा देखेरै दलालहरू सुईकच्चा ठोके ।
शोषक, सामन्त र प्रतिक्रियावादीहरू सबैले आफैँ हार स्वीकार गर्दै गर्दैनन् । बरु आफ्नै सामन्ती सरकार कहाँ उजुरी गर्न गए । शोषक थाकासाको लास बेपत्ता गरे भन्दै थानामा मुद्दा दायर गरे । सामन्ती सरकारका २ जवान भरौटेहरू किसान अफिसमा आएर किसानविरोधी थाकासाको रिहाइको माग गरे । किसानहरूले तिनीहरूको अनुरोधलाई लत्याइदिए । पछि सबै सामन्तहरू मिलेर थुप्रै पुलिसहरू पठाएर किसानहरूलाई बलको भरमा झुकाउने दुस्प्रयास गरे । पुलिसहरूद्वारा क्रान्तिकारी किसान अफिस र गाउँ घेर्दै लगियो ।
यसले किसानहरूमा झन् उत्तेजना फैलायो । उनीहरूमा वर्गीय भावना सूर्यको तेज जत्तिकै चम्कन थाल्यो । सारा किसानहरू घरबाट निस्के, महिला किसानहरू आफ्नो घरको चुल्हो–चौकी छोडेर सङ्घर्षको मैदानमा उत्रे । बालक र बृद्धासमेत वर्ग शत्रुहरूसँग लड्न तयार भए । पुलिसको घेरामाथि किसानहरूले अर्को घेरा दिए । पुलिसहरू किसानहरूको बल्दो क्रान्तिकारी भावना र वर्गीय चेतना देखेर थरथर काँप्न थाले । आखिर आफू पूरै जनताको सागरमा डुबेर मर्ने चाल पाएर पुलिसहरूले सङ्गठनको नेतृत्वलाई भेट्न बिन्ती चढाए । अफिस घेर्ने दुस्प्रयास त्यागे । तिनीहरूलाई किसान नेताहरूको आदेश मान्न कर लाग्यो । आदेशअनुसार पुलिसका थानेदारले थाकासालाई भेट्यो । आन्दोलनको हावालाई बुझे । आँधी आउँदा झुक्न नजान्ने रुख क्वार्रर ढल्छ भनेझैँ किसान आन्दोलनको आँधीबेरीमा तिनीहरू टिक्न सकेनन् । किसान कामरेडहरूलाई अपमान गर्न खोज्ने निर्लज्ज वर्ग शत्रु थाकासाले किसानहरूको अगाडि आत्मसमर्पण ग¥यो । अबदेखि किसानहरूलाई आदरपूर्वक ‘जी’ भन्छु भनेर कागज ग¥यो । त्यसपछि मात्र किसानहरूले वर्ग शत्रु थाकासा र शोषकहरूको दलाल थानेदारलाई छुटकारा दिए ।
यो वर्गसङ्घर्षको पहिलो विजय थियो । नैतिक रुपमा शोषक वर्गको हार थियो । किसानहरूमा यस विजयले ठूलो प्रेरणा र जोश बढायो । सङ्गठनप्रति आस्था र विश्वास बढ्यो । सामन्तहरू थरथर काप्न थाले, निराशाको सुस्केरा हाल्न थाले । मध्यम र धनी किसानहरू पार्टीको समर्थनमा आउन थाले । यसप्रकार बारा जिल्लामा समानताको सङ्घर्षले किसानहरूमा वर्गीय चेतना र वर्ग सङ्घर्षलाई अगाडि बढाउनमा सफलता प्राप्त ग¥यो । जुन त्यस बेलाको पार्टी र किसान सङ्गठनको नेतृत्वको सफलता थियो ।
आर्थिक समस्या र वर्गसङ्घर्ष
समानताको सङ्घर्षले रौतहट र बारा जिल्लाको कुना–काप्चाका किसानहरू सङ्गठित पारेर पार्टी सङ्गठनले एक नयाँ लहर चलायो । पार्टीले किसान सङ्गठनको भेललाई आर्थिक सङ्घर्षमा मोड्ने निर्णय ग¥यो र ‘पुरानो कर्जा रद्द गर’ भन्ने नारा दियो । त्यस नाराले गरिब किसानहरूले फाइदा देखे भने धनी किसान मारबाट बच्न पार्टीप्रति भक्ति देखाउन थाले । पुस्तौँ–पुस्ताको जालसाजी ऋणमा डुबेका गरिब किसानहरू पार्टीको नारालाई सुनेर भन्न थाले–वास्तवमा नेपाल कम्युनिष्ट पार्टी गरिब किसानको आफ्नै पार्टी हो । मध्यम किसानहरू पनि सामन्ती ऋणले दबिएका थिए, उनीहरूले पार्टीको नारालाई उचित देखे । आफ्नो भलो उनीहरूले पार्टीमा लागेरै हुन्छ भन्ने देखेर पार्टीमा सामेल हुन थाले । धनी किसानहरूले पनि गरिब र मधयम किसानलाई ऋण दिइराखेका हुन्थे । पार्टीको नारा सुन्ना साथै सङ्घर्ष सुरु हुने कुरा थाहा पाए । यसकारण तिनीहरू पनि पार्टीमा सामेल भए । धनी किसानहरूले पार्टी र किसानहरूको शक्ति समानताको सङ्घर्षमै देखिसकेका थिए ।
पार्टीले ‘पुरानो कर्जा छोडी देऊ’ र ‘डेढा ब्याज छोडी देऊ’ भन्दै जिल्लामा व्यापक पर्चा छ¥यो, जुन कुरा किसानहरूको नसानसामा घुस्न थाल्यो । पार्टीको नाराबाट किसानहरूले पुरानो ऋणबाट मुक्ति पाउने र डेढा ब्याजको बोझबाट सास फेर्न पाउने आशा देख्न थाले । जिल्लाका तमाम किसानहरू फेरि समानताको सङ्घर्षमा जस्तै एकगठ भए र पार्टीको चारैतिर सङ्गठित भए । सामन्त सरकार समानताकै सङ्घर्षमा अलि निराश भइसकेका थिए । फेरि नयाँ नाराले तिनीहरू झनै निराश भए भने किसानहरूमा असीम उत्साह थपिए ।
किसान सङ्घर्ष असफलताका कारणहरू ः
सप्तरी जिल्लाको किसान आन्दोलन विसं २००९ सालदेखि २०१३ सालसम्म चल्यो । तर, जब नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व डा. रायमाझीको हातमा गयो, किसान सङ्घर्ष सेलाउँदै गयो । किसान सङ्घर्ष खास गरेर स्थानीय पार्टी र कार्यकर्ताहरूको जागरुकता र सक्रियतामा भएको थियो । पार्टी केन्द्रले यस विषयमा कुनै चाख लिएको थिएन । पार्टी केन्द्रले कानुनी सङ्घर्षमा जोड दिएर पार्टीलाई संशोधनवादी बाटोमा मोड्योे । सक्रिय कार्यकर्ताहरूलाई राजधानी र अरु जिल्लामा खटाएर किसान सङ्घर्षलाई निस्तेज पारिदियो ।
एकातिर पार्टी नेतृत्वको गलत नीतिले किसान सङ्घर्ष सेलायो भने अर्कोतिर २०१५ सालको आम चुनावमा पार्टीको ठूलो हारले कार्यकर्ताहरूमा साह्रै निराहा फैलियो । कञ्चनपुर इलाकाको सुब्बा दुर्गादत्तलाई जमिनदारहरूले २ लाख घूस दिए । चुनावमा किसान कार्यकर्ताहरू किनिए । यसप्रकार पार्टी नेतृत्वको संशोधनवादी बाटो र कानुनी राजनीतिको अनुभवको कमीले गर्दा पार्टीले एकपछि अर्को हार सहनु प¥यो र पार्टी कार्यकर्ता र जनतामा ठूलो निराशा फैलियो । किसान सङ्घर्ष सेलाउन पुग्यो ।
२०१०–११ सालतिर पार्टी जनरल सेक्रेटरी मनमोहन अधिकारी थिए । पार्टीभित्र डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, धणुषचन्द्र गौतम जस्ता स्वार्थी तत्वहरू घुसिसकेका थिए । स्वार्थी भावना, आरामदाही स्वभाव र काममाभन्दा कुराकानीमा बहादुरी देखाउनु नै तिनीहरूको बैगुण थियो । यी बैगुणहरू नै संशोधनवादका बीऊ बने भने तिनीहरूमा भएका ती बैगुणहरू नै तिनीहरूको वर्गीय चरित्र थियो ।
पार्टी केन्द्रमा संशोधनवादी नेतृत्व बलियो हुँदै गयो । संशोधनवादी नेताहरूले क्रान्त्किारी किसान कार्यकर्ताहरूलाई ‘उग्रवादी’ र ‘उग्रवामपन्थी’ भनेर निन्दा गरी सङ्घर्ष गर्ने उत्साहलाई चिस्याउँथे । तर त्यसबेला जिल्ला–जिल्लामा सैद्धान्तिक स्तर उठेका किसान कार्यकर्ताहरूको कमी थियो । स्तर उठेका जिल्लास्तरीय किसान कार्यकर्ताहरूलाई पार्टीभित्र पनि सैद्धान्तिक मतभेद र सङ्घर्ष हुन्छ, अनेक जालझेल र बेइमानी हुन्छ भन्ने कुरो थाहा थिएन । उनीहरू कम्युनिष्ट पार्टी र किसान सङ्घमा मजदुर–किसान र क्रान्तिकारीहरू मात्रै हुन्छन् र त्यहाँ जालझेल र बेइमानी हुँदैन भन्ने सोच्दथे । पार्टी र किसान सङ्घभित्र शोषक वर्ग र त्यसका पिछलग्गु र विश्वासघातीहरू घुसेर पार्टीलाई क्रान्तिकारी सिद्धान्तबाट तल खसाल्ने र साथीहरूको बीचमा झगडा लगाई स्वार्थसिद्ध गर्ने जस्ता धोखेबाजी र बेइमानी पनि गर्न सक्छन् भन्ने कुरा उनीहरूलाई थाहा थिएन । आफ्नो हैकम र शोषणलाई कायमै गर्न सामन्त र पुँजीपति वर्गले पार्टी र सङ्गठनलाई सजिलैसित चल्न दिँदैन भने कुरा उनीहरूलाई थाहा थिएन । अनुभव र सैद्धान्तिक स्तरको कमीले गर्दा अनेक जटिल अप्ठ्याराहरूलाई कार्यकर्ता साथीहरूले पार गर्न सकेनन् । यसरी आन्दोलनले अस्थायी हार खायो ।
ऐतिहासिक किसान आन्दोलन
(बारा, रौतहट, धनुषा र सप्तरी)
एक अध्ययनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *