“गाजाका चिहान खन्नेहरू” – १
- आश्विन २६, २०८३
महेश
(विसं तीसको दसकको उत्तर्राद्र्धतिर दबु प्रकाशन भक्तपुरले प्रकाशित गरेको महेश लिखित ‘आजको नेपालको कम्युनिष्ट आन्दोलनको मोड’ पुस्तिकामा चित्रण गरिएको नेपाल कम्युनिष्ट आन्दोलनको अवस्थामा आजसम्म आइपुग्दा निकै परिवर्तन आइसकेको छ । आलेखमा उल्लेखित कतिपय नेताहरूको निधन भइसकेको छ भने कतिपय पार्टी आज स्वतन्त्र अस्तित्वमा छैनन् । उनीहरू समयक्रम कोही आपसमा विलिन भए भने केही इतिहासमा बिलाएर पनि गए । तर आजको नेपालको कम्युनिष्ट आन्दोलन त्यो इतिहासबाट निरपेक्ष भने छैन । तत्कालीन परिस्थितिमा भएका सैद्धान्तिक सङ्घर्षका रुपमा आज केही भिन्न कलेवरमा देखिएको छ, तर सैद्धान्तिक सङ्घर्षको अन्तर्यमा भने धेरै ठूलो परिवर्तन आएको छैन । आलेखमा उल्लेखित तुलसीलाल समूह, पुष्पलाल समूह, मनमोहन समूह र झापाली समूह तत्कालीन एमालेमा विलिन भए भने माओवादी समूह तत्कालीन मोहनविक्रम–निर्मल लामा समूह (चौथौ महाधिवेशन)कै बिस्तारित रुप हो । यद्यपि मोहनविक्रम नेतृत्वको पार्टी पनि क्रियाशील नै छ । केशरजङ्ग रायमाझी समूह भने छिन्नभिन्न भएको अवस्था देखापर्दछ । नारायणमान बिजुक्छें(रोहित) नेतृत्वको नेमकिसं आज नेमकिपा नामले सक्रिय छ । आज माघ १० गते पार्टीले ४५ औं स्थापना दिवस मनाइरहेको छ । आजको कम्युनिष्ट आन्दोलनको अवस्थाबारे बुझ्न र तत्कालीन परिस्थितिमा नेमकिसंले गरेको सैद्धान्तिक सङ्घर्षबारे बुझ्न यो सामग्री पठनीय हुने आशाका साथ प्रकाशन गरेका छौं –सं)
कुनै पनि राजनैतिक पार्टीको मूल्याङ्कनको मापदण्ड पार्टीको सिद्धान्त, दस्तावेज, निर्णय तथा नारा मात्र होइन ¤ त्यस्तै न त पार्टीको मूल्याङ्कनको मापदण्ड पार्टीको व्यवहारिक गतिविधि मात्र नै हो । पार्टीको मूल्याङ्कन भनेको पार्टीको सिद्धान्त, नीति र व्यवहारलाई गाँसेर हेर्नु हो । कारण सिद्धान्त बिनाको पार्टी अन्धो हुन्छ भने व्यवहार विनाको पार्टी निर्जीव हुन्छ । पार्टीको सिद्धान्त र नीति पार्टीको व्यवहारिक पक्षमा कतिको सफल छ–छैन भन्ने कुराको सङ्गालो नै पार्टीको मूल्याङ्कनको मापदण्ड हो । पार्टीको मूल्याङ्कनको अर्को मापदण्ड–पार्टी सङ्गठनको विकास र पार्टीको शुद्धिकरण तथा सुदृढिकरण पनि हो । पार्टी सङ्गठनको विकासले पार्टीको परिमाणात्मक विकास देखाउँछ । पार्टीको शुद्धिकरण तथा सुदृढिकरणले पार्टीको गुणात्मक विकास देखाउँछ । पार्टी सशक्त र सक्षम त्यसबेला हुन्छ, जब पार्टी सङ्गठनको विकासको साथ–साथै पार्टीको शुद्धिकरण तथा सुदृढिकरण पनि हुँदै जान्छ ।
अध्यक्ष माओ भन्नुहुन्छ “हाम्रो पार्टीले दस वर्षसम्म (क्रान्तिको दोस्रो खुड्किलो १९२७ देखि १९३७ सम्म) सफलतापूर्वक भूमि–क्रान्तिको सङ्घर्ष चलाउन सक्यो । कारण यसले पहिलो खुड्किलोबाट अनुभवहरू प्राप्त ग¥यो । यसले चिनियाँ इतिहास तथा समाज र चिनियाँ क्रान्तिका विशेषताहरू तथा नियमहरूको राम्रो ज्ञान हासिल ग¥यो । यसका कार्यकर्ताहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको राम्रो ज्ञान हासिल गरे । तिनीहरूले यसलाई चिनियाँ क्रान्तिको व्यवहारमा राम्रो ढङ्गले प्रयोग गरे । यद्यपि पुँजीपति वर्ग गद्दार भइसकेको थियो, तैपनि हाम्रो पार्टी दृढ भई किसानहरूमा भरोसा बन्न सफल रह्यो । पार्टी सङ्गठन तलदेखि मात्र बढाइएन बरु सुदृढ पनि भयो । दुश्मनले नियमित रुपमा हाम्रो पार्टीभित्र देखिनै विध्वंश गर्ने कोसिस ग¥यो । तर पार्टीले विध्वंशकारीहरूलाई निकालिदियो । पार्टीमा एकैबाजी फेरि ठूलो सङ्ख्यामा कार्यकर्ताहरू अगाडि आए र त्यतिबेला तिनीहरू पार्टीको मुख्य आधार बने । पार्टीले जनतालाई राजनैतिक सत्ताको मार्ग देखाई दियो …. ।” (कम्युनिष्टको परिचय, आशा नेपालीद्वारा अनुदित) ।
नेपालमा पनि कम्युनिष्ट पार्टीको जन्मदेखि २०१७ साल अगाडिसम्मको समयलाई नेपाल कम्युनिष्ट आन्दोलनको पहिलो खुड्किलो मानिन्छ । यस अवधिमा कम्युनिष्ट आन्दोलन किसान आन्दोलनको रुपमा विकसित हुँदै थियो । तर, नेतृत्वकारी वर्गको अवसरवादी र संशोधनवादी विचारधाराले गर्दा किसान आन्दोलन असफलतामा टुङ्गियो । पार्टीभित्र माक्र्सवाद–लेनिनवाद तथा माओत्सेतुङ्ग विचारधाराको ज्ञानको कमीले गर्दा र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विभाजनले गर्दा नेपाल कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक र व्यवहारिक मतभेदहरू देखा परे । अर्को कुरा, नेपाल कम्युनिष्ट पार्टीभित्र संशोधनवादी र प्रतिक्रियावादी तत्वहरू घुसपैठ हुन सफल भए । तिनीहरूको कारणले गर्दा पार्टीभित्रको मतभेदहरू झन् चर्किंदै गयो । जसले गर्दा पार्टीभित्र छिन्नभिन्नताको विभिन्न रेखाहरू प्रस्ट हुन थाले ।
आज नेपाल कम्युनिष्ट पार्टीभित्र विभिन्न समूहहरू छन् । तिनीहरू खास गरिकन पार्टीभित्रको अवसरवादी तथा संशोधनवादी मनोवृत्ति र सैद्धान्तिक, वैचारिक तथा व्यवहारिक मतभेदहरूको कारणले गर्दा देखापरेका हुन् । ती समूहहरू यिनै हुन्– १) तुल्सीलाल समूह, २) केशरजङ्ग रायमाझी समूह (मानन्धन समूह समेत), ३) पुष्पलाल समूह (हाल सहनाद्वारा नेतृत्व गरिएको), ४) मनमोहन समूह, ५) झापाली समूह (माले) ६) मोहन विक्रम–निर्मल लामा समूह (चौथो महाधिवेशन) र ७) रोहित समूह (नेपाल मजदुर किसान सङ्गठन) । तिनीहरूको सिद्धान्त, नीति र व्यवहारबारे छोटकरीमा छलफल गरौं ।
तुल्सीलाल र रायमाझी समूहलाई ‘रुसी कम्युनिष्ट’ भनिन्छ । कारण यिनीहरू हङ्गेरी, चेकोस्लाभाकिया र अफगानिस्तानमाथि रुसको, कम्पुचियामाथि भियतनामको र अंगोलामाथि क्युवाको सैनिक हस्तक्षेपलाई खुल्लमखुल्ला समर्थन गर्दछन् । अफगानिस्तान माथि सोभियत हस्तक्षेपबारे तुल्सीलाल भन्नुहुन्छ, “स्पष्ट छ, सोभियत फौज अफगानिस्तानमा बढ्दै गएको साम्राज्यवादी हस्तक्षेपको सामना गर्नको निम्ति र त्यहाँ स्थापित जनवादी व्यवस्थाको हिफाजतको निम्ति गएको हो र त्यहाँको सरकार सुदृढ भएपछि यथासमय खुशीसाथ सोभियत फौज सोभियत सङ्घ फर्कनेछन् भन्ने कुरामा कुनै शङ्का छैन । यसै निम्ति नेपाल कम्युनिष्ट पार्टी सोभियतविरोधी खेमामा उभिने छैन ।” (अफगानिस्तानको नयाँ जनवादी अप्रिल क्रान्तिको सम्बन्धमा) ।
त्यस्तै रायमाझी समूहको चुनावमा भाग लिने वक्तव्यले सोभियत रुसको नेपालको राजनीतिप्रति बढ्दो चाखलाई प्रष्ट्याएको पट्टि सरकारी मौनधारण गर्नुमा सर्वत्र आश्चर्य मानिएको छ ।” (१२ फागुन २०३७ को साप्ताहिक चर्चा) । “रायमाझीलाई नै सोभियत समर्थन प्राप्त भइरहेको कुरा पनि निश्चित नै देखिन्छ ।” (१९ चैत २०३७ को नेपाल पोष्टको सहयोगसाथ जनमार्ग) । माथिका भनाइहरूबाट पनि यी दुई समूह वास्तवमा के हुन् भन्ने कुरा प्रष्टिन्छ ।
तुल्सीलाल र रायमाझी समूह “शान्तिपूर्ण तरिकाले” साम्यवादसम्म पुग्न सकिन्छ भन्ने कुरामा विश्वस्त छन् । यिनीहरू माओ त्सेतुङ्ग विचारधारालाई मान्दैनन् । यिनीहरू र शासकवर्गको बीचमा खास केही अन्तर्विरोध देखिंदैन । सत्तासम्म पुग्नु यिनीहरूको मुख्य उद्देश्य देखिन्छ । यिनीहरूलाई सामन्त, पुँजीपति तथा उच्च पदाधिकारीहरूको समर्थत प्राप्त भएको देखिन्छ । वर्ग सङ्घर्षमा यिनीहरू विश्वास राख्दैनन् । यिनीहरूको नाम ‘कम्युनिष्ट’ भएतापनि काम प्रतिक्रियावादी नै रहेको छ । शोषित पीडित जनतालाई छकाउनु नै यिनीहरूको मुख्य कर्तव्य रहेको छ । यिनीहरूको मुख्य शत्रु देशभक्त तथा जनतान्त्रिक शक्ति र सही माक्र्सवादी–लेनिनवादी तथा माओ त्सेतुङ्ग विचारधाराका शक्ति हुन् । अतः यिनीहरू नेपाल कम्युनिष्ट पार्टीभित्रका संशोधनवादीहरू हुन् । तैपनि यिनीहरूसँग विद्यमान व्यवस्थाको विरोधमा केही समयको लागि मात्र सम्झौता गर्न सकिन्छ । त्यसमा पनि क्रान्तिकारीहरू सधैं सतर्क रहनुपर्ने हुन्छ । कारण यिनीहरू मित्र शक्ति होइनन् ।
पुष्पलाल र मनमोहन समूह कम्युनिष्ट भएतापनि यिनीहरू नेपाली काङ्ग्रेस समर्थक कम्युनिष्टहरू हुन् । कारण यिनीहरू जनतामाथि भन्दा नेपाली काङ्ग्रेसमाथि बढी भरोसा राख्दछन् । पुष्पलालले आफ्नो ‘नयाँ जनवादी कार्यक्रम’ मा नेपाली काङ्ग्रेससँग मिलेर पञ्चायती व्यवस्थालाई ‘समूलनष्ट’ गर्ने कुरा उल्लेख गर्नुभएको छ । त्यस्तै जनमत सङ्ग्रहको सिलसिलामा मनमोहनको गतिविधिबारे कृष्णदास श्रेष्ठ भन्नुहुन्छ, “विभिन्न सभाहरूमा र विभिन्न देशी तथा विदेशी पत्रिकाहरूलाई दिइएका अन्तर्वार्ताहरूमा श्री मनमोहन अधिकारीले प्र. नेपाली काङ्ग्रेस र त्यसका शीर्षस्थ नेता बी. पी. कोइरालाको मूरी मूरी प्रशंसा गरेका छन् । उदारवादी नेताहरूको पछि पछि लाग्ने यस गूटको प्रमूख नीति सार्वजनिक घोषणाको रुपमा जनसमक्ष आएको छ । भारतबाट प्रकाशित हुने ‘रविवार’ नामक एउटा हिन्दी साप्ताहिकलाई दिइएको अन्तर्वार्तामा (५–११ अगस्त, १९७९ खण्ड २, अण््क ३९) मा श्री मनमोहन अधिकारीले उक्त नीतिको घोषणा यस ढङ्गबाट गरेका छन्† “म संयुक्त अभियानको पक्षमा छु । अहिलेसम्म बी.पी. सित हाम्रो कुराकानी भएको छैन । तर पनि हामी उनीसँग गइरहेका छौँ ।” यो पूरापूर पुच्छरवादी नीतिको प्रष्ट अभिव्यक्ति हो भन्ने कुरामा कुनै शङ्का हुन सक्दैन । फेरि, श्री अधिकारीले बहुदलीय प्रचार समिति बनाई त्यसमा सभापतिको आसन ग्रहण गर्न बी. पी. कोइरालालाई अपिल गरेका छन् । यो प्रस्तावमा उदारवादी नेताको नेतृत्व र निर्देशनमा काम गर्ने चाहना र अभिप्राय व्यक्त भएको छ ।” (कोइराला–अधिकारीबीच अपवित्र मेल) । साप्ताहिक चर्चा पत्रिकाले सिद्धिलाल सिंहको आफ्नो प्रतिनिधिसँगको भेटवार्ताबारे उल्लेख गर्छ, “वर्तमान अवस्थामा तमाम सङ्घर्षशील प्रगतिशील र प्रजातान्त्रिक शक्ति मिलेरमात्र देशको राजनैतिक समस्याको समाधान हुनसक्छ भन्दै श्री सिंहले यसको लागि अविलम्ब तमाम प्रगतिशील र प्रजातान्त्रिक शक्तिको राजनैतिक सम्मेलन बोलाउनु पर्दछ भन्ने कुरामा जोड दिनुभयो ।” (७ जेष्ठ २०३६ को साप्ताहिक चर्चा) । माथि उल्लेख गरिएका कुराबाट पुष्पलाल र मनमोहन समूह नेपाली काङ्ग्रेस समर्थक हुन् भन्ने कुरा प्रष्ट हुन्छ ।
पुष्पलाल र मनमोहन समूहको नीति अस्पष्ट रहेको छ । कारण यिनीहरूमा कहिले दक्षिणपन्थी अवसरवादको झुकाव र कहिले सही ठम्याई देखिन्छ । यिनीहरू सामन्तवादलाई मुख्य शत्रु ठान्दछन् । यी दुई समूहभित्र पनि विभिन्न क्रान्तिविरोधी तत्वहरू सक्रिय देखिन्छन् । यिनीहरूले आफूलाई कम्युनिष्ट सावित गर्न नेपाली काङ्ग्रेस परस्त नीतिलाई छाड्नपर्ने देखिन्छ । पार्टीलाई सुदृढ गर्न पार्टी भित्रको खराब तत्वहरूलाई छानी छानिकन निकाल्नुपर्ने देखिन्छ । यिनीहरूले आफ्नो सिद्धान्त र नीतिलाई व्यवहारले प्रष्ट पारेर देखाउनुपर्ने देखिन्छ । अनि मात्र यिनीहरूको पार्टी शुद्धिकरण हुन गई पार्टी बलियो हुन्छ । पार्टी बलियो भएपछि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ ।
झापाली र मोहनविक्रम समूहमा दक्षिणपन्थीहरू भन्दा उग्रवामपन्थीहरू बढी देखिन्छन् । वास्तवमा उग्रवामपन्थीहरू अराजकतावादी विचारधाराका हुन्छन् । यिनीहरू उग्रवादी हुन पुग्नुको मुख्य कारण माक्र्सवादलाई राम्रोसँग ठम्याउन नसक्नु हो । कारण यिनीहरूले माक्र्सवाद र अराजकतावादको बीचमा भिन्नता देख्न नसकेको देखिन्छ । अर्थात् यिनीहरूले माक्र्सवाद र अराजकतावादलाई एउटै दृष्टिले हेरेका छन् । अतः माक्र्सवाद र अराजकतावादबारे स्तालिन भन्नुहुन्छ, “यद्यपि माक्र्सवाद र अराजकतावाद दुवै नै समाजवाद अन्तर्गतकै झण्डामुनि पर्न आउँछन्, तापनि वास्तवमा यिनीहरू विल्कुल बेग्ला बेग्लै सिद्धान्तमा आधारित छन् । माक्र्सवाद भन्छ– जबसम्म जनताले स्वतन्त्रता पाउँदैन, तबसम्म व्यक्तिले स्वतन्त्रता पाउन असम्भव छ । अराजकतावाद भन्छ– जबसम्म व्यक्तिले स्वतन्त्रता पाउँदैन, तबसम्म जनताले स्वतन्त्रता पाउन असम्भव छ ।” (माक्र्सवाद या अराजकतावाद, हिन्दीमा) । त्यसैले यिनीहरूको राजनीति व्यक्ति हत्यामा रहेको छ । कारण यिनीहरू सामन्ती व्यवस्थालाई आफ्नो मुख्य शत्रु नठानिकन सामन्ती व्यवस्थाको एकजना ‘पञ्चायती नाइके’ लाई आफ्नो मुख्य शत्रु ठान्दछन् ।
झापाली र मोहनविक्रम समूहमा प्रतिक्रियावादी तत्वहरू पनि उत्तिकै देखिन्छन् । तर, पनि यिनीहरूले पार्टीको सुदृढिकरण तथा शुद्धिकरण गर्न पार्टीभित्र घुसेका खराब तत्वहरूलाई निकाल्ने प्रयास गरेको देखिंदैन । यी विभिन्न तत्वहरूको कारणले गर्दा नै यी दुई समूहले जस्तोसुकै गतिविधि गरेता पनि ती कार्य पहिले उग्रवादको नाराबाट सुरु भई अन्त्यमा दक्षिणपन्थी अवसरवादमा परिणत भएको देखिन्छ । यसको उदाहरणको लागि २०२८ सालको ‘झापा काण्ड’ र २०३६ सालको ‘जनकपुर काण्ड’ लाई लिन सकिन्छ । अतः वामपन्थी उग्रवाद भनेको वास्तवमा दक्षिणपन्थी अवसरवाद नै हो । पार्टीभित्रको खराब तत्वहरूको कारणले गर्दा यिनीहरूले ‘जनमत सङ्ग्रह’ र ‘आम निर्वाचन’ मा प्रगतिशील र प्रतिक्रियावादीहरूबीचको प्रतिद्वन्द्वात्मक राजनैतिक सङ्घर्षलाई ‘सक्रिय बहिष्कार’ गरे । जसले गर्दा नेपाली जनताले प्रगतिशीलहरूलाई भन्दा प्रतिक्रियावादीहरूलाई नै आफ्नो हितैषी ठान्न पुगे । यसबाट प्रगतिशील पक्षलाई भन्दा प्रतिक्रियावादी पक्षलाई बढी फाइदा पुग्न गयो । कारण यिनीहरूले ‘चोरलाई चौतारो’ बनाई दिए । यिनीहरूले तानाशाही पञ्चायती व्यवस्थाको विरोधी तत्वलाई राजनैतिक सङ्घर्षबाट अलग्याउन खोजेको थिए । तर, यसमा यिनीहरू असफल भए । तैपनि यिनीहरूले पञ्चायतलाई जिताउनमा मद्दत गरी छाडे । एकातिर यिनीहरूले ‘जनमत सङग्रह’ लाई ‘सक्रिय बहिष्कार’ गरे भने अर्कोतिर यिनीहरूले जनमत सङ्ग्रहमा भाग लिएका आफ्ना समर्थकहरूलाई पञ्चायतकै चिन्हमा छाप लगाएको कुरा सुन्नमा आएको छ । त्यस्तै ‘आम निर्वाचन’ मा पनि यिनीहरूले एकातिर ‘सक्रिय बहिष्कार’ को नारा लगाए भने अर्कोतिर यिनीहरूले आफ्ना समर्थकहरूको भोट प्रतिक्रियावादीहरूलाई नै दिन लगाएको कुरा सुन्नमा आएको छ । तर, यस कुरामा माले र चौथो महाधिवेशन दुवै मौन रहेको देखिन्छ । यसले यिनीहरूको प्रगतिशील विचारधाराको रणनीतिक हार र छन्दभेषी चाल प्रमाणित गर्दछ । यिनीहरूको यस्तो चाल भएसम्म कम्युनिष्ट आन्दोलन अगाडि बढ्नुको बदलामा पछाडि धकेलिन्छ ।
झापाली र मोहनविक्रम समूहले क्रान्तिको लागि जनतालाई भन्दा विद्यार्थी समुदाय र सशस्त्र जत्थालाई बढी महत्व दिएको देखिन्छ । यिनीहरू ‘पञ्चायती नाइके र भारतीय विस्तारवाद’ लाई मुख्य शत्रु ठान्दछन् । यिनीहरू आफ्नो बहिष्कारवादी नीतिलाई ठीक सावित गर्न रुसको १९०५ को परिस्थिति र नेपालको वर्तमान परिस्थिति एउटै किसिमको हो भन्छन् । के रुसको १९०५ को परिस्थिति र आजको नेपालको परिस्थिति एउटै किसिमको छ त ? १९०५ मा रुसका बहिष्कारवादीहरूले जस्तै नेपालका बहिष्कारवादीहरूले २०३७ बैशाख २७ गतेको “आम निर्वाचन” लाई रोक्न समर्थ भए त ? यस अर्थमा झापाली र मोहनविक्रम समूह कोरा ‘यान्त्रिक नक्कल’ गर्ने बहिष्कारवादीहरू भए । हुन त यसको दोष अरुलाई दिइरहेका छन् । तैपनि वास्तवमा नाच्न नजान्नेहरूले आँगन टेढै देख्ने त भइहाल्यो । मोहनविक्रम समूहसँग त अध्यक्ष माओको ‘किसान’ शब्दको विश्लेषणको ज्ञान नै नभएको देखिन्छ । अर्को कुरा, यो समूहसँग पार्टीलाई पार्टीको नामले नेतृत्व गर्ने हो कि पार्टीको नेतृत्वकारी वर्गले पार्टीलाई नेतृत्व गर्ने हो भन्ने कुराको ज्ञान नै नभएको देखिन्छ । यो समूहले आफ्नो पार्टीभित्र पनि किसानहरू छन् भन्ने कुरालाई लुकाउन खोज्दछ । यो दुई समूहहरूले अरु समूहलाई फुटाउने र जुधाउने काम पनि गर्दछन् । यिनीहरू जनतालाई क्रान्तिको लागि मनोगत रुपले तयार नगरिकन विद्यार्थी र सशस्त्र व्यक्तिहरूको केही जत्थाले जनवादी क्रान्तिलाई पुरा गर्ने सपना देख्दछन् । यिनीहरू चिनियाँ क्रान्तिको एक रुप किसान सङ्घर्ष पनि हो भन्ने कुरालाई बिर्सिदिन्छन् । यिनीहरू नेपालको कूल जनसङ्ख्याको ९३ प्रतिशत जनता किसान हुन् भन्ने कुरालाई पनि बिर्सन्छन् । यी सबै यिनीहरूको खोटपूर्ण ठम्याई हुन् । यिनीहरूको यस्तो ठम्याईले क्रान्तिलाई सफल पार्न सकिंदैन ।
झापाली र मोहनविक्रम समूह आर्थिक सङ्घर्षको बेलामा निस्क्रिय रहेको देखियो । कहिले काहीं यिनीहरूले त्यस अवस्थामा ‘सशस्त्र सङ्घर्ष’ को नाराहरू दिएको पनि देखियो । तर, अहिले राजनैतिक सङ्घर्षको बेलामा (जनमत सङ्ग्रहको बेलामा) राजनैतिक सङ्घर्षको बहिष्कार गरी ‘सशस्त्र सङ्घर्ष’ को नारा दिनुको साथै आर्थिक सङ्घर्षको नाराहरू पनि दिन थालेका छन् । यसरी यिनीहरू विद्यमान परिस्थितिभन्दा कहिले एक–दुई पाइला अगाडि र कहिले एक दुई पाइला पछाडि पुग्दछन् । यिनीहरूको तुलनामा नेपाल मजदुर किसान सङ्गठन राजनैतिक दृष्टिकोणले अगाडि रहेको मान्नुपर्छ । कारण यसले ठीक समयमा ठीक राजनैतिक गतिविधि गरेको देखिन्छ । तर, यी दुई समूहले ठीक समयमा ठीक राजनैतिक गतिविधि चलाउन नसक्नुको मुख्य कारण पार्टी भित्र खराब तत्वहरूको घुसपैठ हो । अतः यी दुई समूहले घुसपैठ भएका खराब तत्वहरूको छानाविन गरिकन तिनीहरूलाई पार्टीबाट निकाल्न नसकेसम्म पार्टी सङ्गठन बलियो पनि हुँदैन र पार्टीको शुद्धिकरण तथा सुदृढिकरण पनि हुँदैन । माक्र्सवाद–लेनिनवाद तथा माओ त्सेतुङ्ग विचारधाराका कम्युनिष्ट समूहहरूबारे साप्ताहिक समीक्षा पत्रिकाको दाबी छ, “… ती प्रत्येक सङ्गठनभित्र गुप्तचरहरूले समेत ठाउँ र प्रश्रय पाए,” (१९ असार २०३८ को समीक्षा) । पार्टीको शुद्धिकरण र सुदृढिकरण नहुञ्जेलसम्म पार्टीको नेतृत्व कहिले उग्रवादी र कहिले दक्षिणपन्थी अवसरवादी गतिविधिमा फसिरहनेछन् । क्रान्तिलाई सफल पार्ने हो र वर्गीय शत्रुलाई खतम गर्ने हो भने यिनीहरूले आफ्नो उग्रवामपन्थी नीतिलाई छाड्नुपर्छ । सही माक्र्सवादी नीतिलाई यिनीहरूले अङ्गाल्नुपर्छ । यिनीहरूले अध्यक्ष माओको “किसान” शब्दको विश्लेषण र चिनियाँ क्रान्तिलाई बुझ्नुपर्छ । यिनीहरूले नेपाली किसानको वर्गीकरण गरी कुन–कुन वर्गका किसानले क्रान्तिको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् थाहा पाउनुपर्छ । कारण नेपालको कुल जनसङ्ख्याको ९३ प्रतिशत जनता किसान वर्गमा नै पर्दनछन् । यी सबै कुरामा यी दुई समूहले ध्यान दिनुपर्छ । अनि मात्र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ ।
आजसम्मको कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो भने कम्युनिष्ट आन्दोलन अगाडि बढ्नुको बदला पछाडि धकेलिंदैछ । यसको मुख्य कारण १. माक्र्सवाद–लेनिनवाद तथा माओ त्सेतुङ्ग विचारधारको सारर्गिभक कुरालाई बुझी तिनीहरूलाई व्यवहारमा उतार्न नसक्नु, २. नेपाली कम्युनिष्टहरूले माक्र्सवाद–लेनिनवादअनुरुप प्रतिक्रियावादी सङ्घ संस्थाहरू भित्र पसेर काम गर्नुपर्छ भन्ने कुरालाई नकार्नु, ३. उल्टो प्रतिक्रियावादीहरूले कम्युनिष्ट पार्टीको विभिन्न समूहभित्र आफ्ना मान्छेहरू घुसाउन सफल हुनु, ४. पार्टी भित्र घुसेका खराब तथा विध्वंशकारी तत्वहरूलाई निकाल्न नसक्नु, ५. विभिन्न कम्युनिष्ट समूहहरूबीच समझदारी तथा शुद्ध आलोचना र आत्मालोचनाको अभाव हुनु, ६. नेपालको विद्यमान परिस्थितिअनुसार आन्दोलनलाई अगाडि बढाउन नसक्नु र ७. कम्युनिष्टहरूले नेपाली समाजको राम्रोसँग वर्ग विश्लेषण गर्न असमर्थ हुनु आदि हुन् ।
रोहित समूह (ने.म.कि.सं.) क्रान्तिकारी समूह हो । यो समूहबारे विभिन्न वामपन्थी, दक्षिणपन्थी र प्रतिक्रियावादीहरूले विभिन्न अनर्गल प्रचार गर्न थालेका छन् । यस समूहलाई कोही ‘सिद्धान्त राम्रो, तर मान्छे नराम्रो’ भन्दछन् । कोही यसको ‘कार्यक्रम नै छैन’ भन्दछन् । कोही यसलाई ‘व्यवहारवादी’ भन्दछन् । कोही यसलाई ‘सिद्धान्तवादी’ भन्दछन् । कोही यसलाई ‘नीति के हो,थाहा नभएको’ भन्दछन् । कोही यसलाई ‘संशोधनवादी’ र ‘अवसरवादी’ भन्दछन् । कोही यस समूहलाई ‘सी.आई.डी.’ भन्दछन् । कोही यसलाई ‘मजदुर–किसानको खिचडी’ पार्टी सम्झन्छन् । कोही यसलाई ‘उग्रवादी’ भन्दछन् । कोही यसलाई आफ्नो ‘मुख्य शत्रु’ ठान्दछन् । कोही यसलाई ‘सानो समूह’ र ‘क्षेत्रवादी समूह’ सम्झन्छन् । कोही यसलाई ‘आफू मात्र ठीक’ भनी ‘अरु सबैलाई आलोचना गर्ने’ भन्दछन् । यसरी यो समूहलाई विभिन्न दृष्टिकोणबाट हेरिंदैछ । तर, सबै प्रगतिशील विचारधाराका मानिसहरूले सबै कम्युनिष्ट समूहहरूको तुलनात्मक र आलोचनात्मक अध्ययन गरेर हेर्नु वेश हुनेछ । कारण यसले प्रगतिशीलहरूलाई सही ठाउँमा पु¥याउँछ ।
–बाँकी भोलिको अङ्कमा
Leave a Reply