भर्खरै :

सरकारको नारा प्रतिबद्धता कि विज्ञापन !

– गौरव प्रधान
सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ जस्ता मीठो र आकर्षक नारा बाँडे पनि त्यो लोकपत्यारको लागि विज्ञापन गरेजस्तै भइरहेको छ । सत्तासीन दलका नेता र मन्त्रीहरूले बकबास गरेर काम पूरा नगरेको हुँदा सरकारको काम फुक्नेमात्र हो कि गरेर देखाउने पनि हो भन्ने विषयमा देशको सहर बजार तथा गाउँ–ठाउँको कुना–कुनामा उहिल्यै चर्चाको विषय बनेको थियो । सरकारले फुकेको कुरा लागू भएको भए नेपाल भ्रष्टाचार शून्य, अनियमिततता शून्य देश बनिसक्यो, विकास उच्च शिखरमा पुगेर संसारकै नमुना देश बनिसक्यो । देश आत्मनिर्भर भएर कुनै पनि नेपाली विदेशमा काम गर्न जानुपर्दैनथ्यो । तर, वास्तविकता अर्कै छ ।
सत्तारुढ दलका नेता, मन्त्री, सांसद, प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू पद र पैसाका निम्ति राजनीति गर्छन्, गरिरहेका छन् । इमानदारी र निःस्वार्थपूर्वक काम गर्ने सत्तासीन जनप्रतिनिधिहरू खोज्नुपर्छ । सरकारको कार्य शैली र चिन्तन जसरी भए पनि कमाउ र खाउमा आधारित छ । आफ्ना आसेपासेलाई जागिर मिलाउने, ठेक्का दिने, विकासको ध्वाङ फुकेर र प्रलोभन देखाएर कार्यकर्ता तान्ने र सङ्गठन विस्तारको कुरा गरेर नाक फुलाउने र तद्नुसार गाउँ सहरमा फुक्ने काम नै सरकारको दिन चर्याझंै भइरहेको छ । सत्तासीन दलका अधिकांश नेता, मन्त्री र सांसदहरूमा इमानदारिता छैन, जवाफदेहिता छैन, जिम्मेवारीबोध छैन । उनीहरू न देश र जनताप्रति समर्पित छन् न त तिनीहरूले बहुमत जनताको हित या पक्षमा काम गरिरहेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई उखान फुक्न फूर्सद छैन । सरकार मीठो र आकर्षक कुराले नै देश समृद्ध बन्ने र नेपाली सुखी हुने आशामा छ । सरकारलाई सबभन्दा ठूलो दल र दुईतिहाइको दम्भ छ । अन्य दल र नागरिकको आवाज सुन्न पनि सरकार चाहँदैन । यसरी राज्यको प्रवृत्ति र काम गर्ने शैली जनपक्षीय, विश्वासिलो र भरपर्दो नहुँदा एमाले र माओवादी मिलेर बनेको नेकपाको खोइरो खन्न थालेको हो । सत्तारुढ दलका नेताहरू नै सरकारप्रति सन्तुष्ट छैनन् । सरकारमा सामेल दलका नेताहरू पनि आफ्नै सरकारप्रति विश्वस्त छैनन् या सरकार असफल भइरहेकोमा चिन्ता व्यक्त गर्दैछन् ।
शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारी दिने सन्दर्भमा राज्य गम्भीर हुनुपर्छ । कृषि खेती प्रणालीमा वैज्ञानिकीकरण गरिनुपर्छ । गाउँ–घरमा आधुनिक कृषिऔजारहरू सस्तो र सर्वसुलभ गराइनुपर्छ । खेतीको लागि सिंचाइको सुविधा पु¥याइनुपर्छ । जिल्ला–जिल्ला र प्रदेश–प्रदेशमा अस्पताल बनाइनुपर्छ, स्कूल, कलेज र विश्वविद्यालय खोल्न पहल गरिनुपर्छ । गाउँ–घरसम्म सडक पुग्नुपर्छ । खानेपानीको बन्दोबस्त हुनुपर्छ । विज्ञान र प्रविधिको विकास गरिनुपर्छ । गाँस, बास र कपासको सुनिश्चित गर्नेतर्फ सरकार अघि बढ्नुपर्छ । ठूलो र शक्तिशाली पार्टीको दम्भ गरेर, आक्रोशित साँढेले झैँ फुँ फुँ गरेर सुखी नेपाली र समृद्ध नेपालको सम्भावना छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *