भर्खरै :

उत्तरपूर्वी भारतमा लाग्यो नारा – हेलो चाइना, बाइ इण्डिया

मिजोरम, २४ जनवरी । बुधबार भारतको मिजोरमका विभिन्न सहरमा प्रस्तावित नागरिकता संशोधन विधेयकको विरोधमा जुलुस प्रदर्शन भयो । जुलुसमा सहभागीहरूले ‘हेलो चाइना, बाइ बाइ इण्डिया’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
“हामी मिजोरमका बासिन्दाबीच भारतले हामीलाई सुन्दैन, हाम्रो चासो राख्दैन र हामीलाई भन्दा अवैधानिक अप्रवासीलाई प्राथमिकता दिने गरेको बुझाइ छ ।”, विरोध प्रदर्शन आयोजना गरेको उत्तरपूर्वी विद्यार्थी सङ्गठनका कोषाध्यक्ष रिक्की लालबैकमावियाले भने । मिजोरममा सबभन्दा प्रभावशाली मानिएको मिजो जार्लिया पावल र अन्य विद्यार्थी सङ्गठनको छाता सङ्गठन उत्तरपूर्वी विद्यार्थी सङ्गठनले संयुक्तरुपमा सो प्रदर्शनको आयोजना गरेको थियो । “त्यही भएर हामीले बरु चीनबाट सहायता लिने विषयमा सोच्न थालेका छौँ । चीनसँग राम्रो सम्बन्ध स्थापना गर्नेबारे छलफल भइरहेको छ ।”, उनले भने ।
विभाजन ल्याउने विधेयक
प्रस्तावित नागरिकता संशोधन विधेयकले बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानबाट आएर त्यहाँ ६ वर्ष बसे हिन्दू, बुद्धमार्गी, सिख, इसाई, पारसी र जैन आप्रवासीलाई अन्य आवश्यक कागजात नपुगे पनि नागरिकता दिने बन्दोबस्त गरेको छ । त्यस्तो प्रावधान उत्तरपूर्व ‘आदिवासी’ जनताको हितमा भएको भन्दै त्यहाँका आदिवासी जनताले आक्रोशपूर्ण प्रतिक्रिया जनाएका हुन् ।
विधेयक यसै महिना लोकसभाबाट पारित भइसकेको छ । राज्य सभाको अर्को बैठकमा सो विधेयकमा निर्णयार्थ प्रस्तुत हुने बताइएको छ । जनवरी ३० मा राज्यसभाको बैठक बस्ने तय भएको छ । गुहातीमा पनि बुधबार त्यस्तै प्रदर्शन भएको छ । सन् १९७९–८५ सम्म आसाममा विदेशीविरोधी आन्दोलनको नेतृत्व गरेको अखिल आसाम विद्यार्थी सङ्गठनले त्यो प्रदर्शनको आयोजना गरेको थियो । उत्तरपूर्वी विद्यार्थी सङ्गठनले सो प्रदर्शनलाई समर्थन जनाएको छ ।
आयोजकले प्रदर्शनमा तीस हजारभन्दा बढी मानिसको सहभागिता रहेको बताएका छन् । “हामी आफ्नो अन्तिम श्वाससम्म विदेशीबाट हाम्रो भूमिको रक्षा गर्न प्रतिबद्ध छौँ ।” मिजो जार्लिया पावलका महासचिव लानुनमाविया पाउटुले भने । “विधेयक रोक्न हामीले बारम्बार गरेको अपिललाई सरकारले सुन्दैन भने हामी चुप लागेर बस्ने छैनौँ ।”, उनले भने ।
‘गणतन्त्र दिवस बहिष्कार गर्छाँैं’
‘अवैध आप्रवासीकै पक्षमा’ सङ्घीय सरकार अडिग रहे मिजोका नागरिक सङ्गठनहरू विरोधमा उत्रने घोषणा गरेका छन् । “सरकारले विधेयक खारेज गरेन भने भारतका सबै सङ्गठनहरूले भारतीय गणतन्त्र दिवस बहिष्कार गर्नेछन् ।”, लानुनमावियाले चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *