भर्खरै :

संविधानसभाले निर्णय गरे राष्ट्रिय सभाको चुनावमा जान सकिने–माडुरो

काराकास, २० माघ (सिन्ह्वा) । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोेले देशको चालु राजनीतिक समस्या समाधानका लागि सकेसम्म चाँडो राष्ट्रिय सभाको निर्वाचन गर्न आफू तयार रहेको घोषणा गरेका छन् ।
शानिबार राजधानी काराकसको बोलिभार एभेन्युमा सहभागी दसौं हजार समर्थकहरूबीच बोल्दै माडुरोले सरकारी पक्षको बहुमत भएको संविधान सभाले विपक्षी दलको बहुमत भएको राष्ट्रिय सभाको निर्वाचन यथाशीघ्र गर्ने वा नगर्ने विषयमा निक्र्योल निकाल्ने बताए ।
उनले यस्तो निर्णयबाट ‘देशको व्यवस्थापकीय निकायको पुनःवैधानिकीकरण’ गर्नुका साथै ‘नयाँ राष्ट्रिय सभा चुन्ने जनताको अधिकारका लागि स्वतन्त्र निर्वाचनमा जान सकिने’ बताए ।
उनले यस्तो कार्यदिशातिर जाने वा नजाने भन्ने कुरा विपक्षी दलमा भर पर्ने धारणा पनि राखे । नयाँ संविधान बनाउन माडुरो सरकारको प्रस्तावअनुसार सन् २०१७ मा संविधानसभा गठन भएको थियो ।
विपक्षी दलले सो चुनाव बहिस्कार गरेको थियो । त्यसकारण संविधानसभामा सरकार समर्थकहरूको बहुमत छ । हाल सो सभाले राष्ट्रिय सभाका अधिकांश अधिकार प्रयोग गर्दै आएको छ ।
सभामा माडुरोले ‘संरा अमेरिकी हस्तक्षेप निम्त्याउने बाटो’ त्यागेर देशको राजनीतिक समस्या समाधानको बाटो खोज्न विपक्षी दलका नेताहरूलाई आग्रह गरे । उनले भने, “युद्धको आह्वान बन्द गरौं, सैनिक हस्तक्षेपलाई नबोलाऔं ।”
“अब समस्या समाधान निकाल्ने बेला आएको छ ।” उनले भने ।
गत जनवरी २३ मा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुइएडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा र संरा अमेरिकालगायत केही देशबाट सो घोषणालाई गरेको समर्थनका कारण भेनेजुयला राजनीतिक समस्यामा फसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *