भर्खरै :

“हुवावे सिध्याउनु संरा अमेरिकाको वशको काम होइन”

पेइचिङ, १९ फेब्रुअरी । चीनको इलेक्ट्रोनिक्स कम्पनी हुवावेका संस्थापकले आफ्नो कम्पनी सिध्याउन संरा अमेरिकाले गरिरहेको सबै काम विफल हुने बताएका छन् । संरा अमेरिकाले हुवावे कम्पनी र त्यसका आर्थिक निर्देशक मिङ वानचाओविरुद्ध २३ वटा मुद्दा दायर गरेको छ । मिङ वानचाओ हुवावेका संस्थापक रेन चेनफेइकी छोरी हुन् । मिङलाई गएको डिसेम्बर महिनामा क्यानाडामा गिरफ्तार गरिएको थियो । उनलाई संरा अमेरिका सुपुर्दगी गर्न खोजिएको थियो ।
मिङको गिरफ्तारपछि बीबीसीलाई दिएको अन्तर्वार्तामा हुवावेका संस्थापक रेनले संरा अमेरिकाले आफ्नो कम्पनीविरुद्ध लगाएका सबै आरोप राजनीतिक मनसायले अभिप्रेरित भएको प्रस्ट पारे ।
“सबैभन्दा पहिले त संरा अमेरिकाले जे गर्दैछ, त्यसप्रति म खेद जनाउन चाहन्छु । राजनीतिक मनसायले अभिप्रायले चालिएका कुनै पनि कदम हामीलाई स्वीकार्य हुनसक्दैन ।”, उनले भने ।
“जुनसुकै विषयमा पनि संरा अमेरिकालाई अरुमाथि नाकाबन्दी लगाउने चाहना हुने गर्छ । कुनै पनि विषयमा पनि उनीहरूले नाकाबन्दीलाई प्रतिरोधात्मक उपायको रुपमा उपयोग गर्ने गरेको छ ।”, उनले भने । “हामी यसमा आपत्ति जनाउन चाहन्छौँ । तर, अब हामी अघि बढिसकेका छौँ । सबै निर्णय अब अदालतले नै गर्नुपर्छ ।”
गएको साता संरा अमेरिकी विदेश सचिव माइक पोम्पेओले आफ्ना सहयोगी देशहरूलाई हुवावेको प्रविधि प्रयोग नगर्न र यदि प्रयोग गरे संरा अमेरिकासँगको सहकार्यमा समस्या आउन सक्ने भन्दै चुनौती दिएका थिए ।
रेनले हुवावे विश्वव्यापी प्रतिस्पर्धामा उत्रन चाहेको बताए ।
“हामीलाई सिध्याउनु संरा अमेरिकाको वशको काम होइन । संसारले हामीलाई छोड्न सक्दैन किनभने हामी निकै विकसित छौँ ।”, चिनियाँ कम्पनीका संस्थापक रेनले भने ।
केही समयको लागि उनीहरूले हाम्रो प्रविधि प्रयोग गर्न निरुत्साहित गर्न सक्छन् । तर, त्यसले हामीलाई बीसको उन्नाइस पार्नसक्नेछैन ।”, उनले थपे ।
संरा अमेरिकाले हुवावेको प्रविधिलाई गुप्तचरीको लागि प्रयोग गर्ने गरेको संरा अमेरिकाको आरोपको खण्डन गर्दै रेनले गुप्तचरीको जोखिम आफूले उठाउन नसक्ने प्रस्ट पारे ।
“चीन सरकारले प्रस्ट रुपमा भनिसकेको छ–उसले कुनै जस्केलो वा चोर ढोका प्रयोग गर्नेछैन । हामी पनि कुनै चोर ढोका बनाउने पक्षमा छैनौँ ।” रेनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *