भर्खरै :

अन्तरनगर कराते प्रतियोगिता सम्पन्न

भक्तपुर, ७ फागुन । भक्तपुर नगरपालिकाको आयोजना र सहिद दिवसको अवसरमा आइतबारबाट सुरु भएको अन्तरनगर कराँते प्रतियोेगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम मङ्गलबार सहिद स्मृति खेल मैदानमा एक समारोहबीच सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी विभिन्न नगरपालिकाका खेलकुद टोली, प्रशिक्षक र विजयी खेलाडीहरूमा हार्दिक धन्यवाद र बधाईज्ञापन गर्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनमा भक्तपुरका वीर सहिदहरूको स्मरण र सम्मानस्वरुप भक्तपुर नगरपालिकाको आयोजनामा विभिन्न खेलको आयोजना गरेको स्मरण गर्नुभयो ।
नगरपालिकाले आयोजना गर्ने प्रतियोगिताहरू भक्तपुरवासीहरूको निम्ति मात्र नभई सिङ्गो देशका खेलप्रेमी र राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नको निम्ति सहयोग मिल्ने विश्वास प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचनको समयमा व्यक्त प्रतिबद्धता र घोषणापत्रअनुसार खेलकुदलाई प्राथमिकता दिंदै प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आएको र विभिन्न खेलकुदको प्रशिक्षणलाई चालू राखेको बताउनुभयो ।
उहाँले शासन सत्तामा पुगेका शासकहरूले सहिदहरूको बलिदानलाई बिर्सेको र सहिदहरूको नाममा व्यक्तिगत लाभमात्र उठाइरहेको बताउनुभयो । भक्तपुर नपाले शिक्षालाई जोड दिंदै नपाअन्तर्गत कलेजहरू सञ्चालन, शिशुस्याहारदेखि विश्वविद्यालय र ख्वप अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
शिक्षित र अनुशासित समुदायले मात्रै देशलाई अगाडि बढाउनसक्ने बताउँदै प्रमुख प्रजापतिले शिक्षा र खेलकुदलाई सँगसँगै लानेतर्फ नगरपालिकाले ध्यान दिइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो – “हाम्रो उद्देश्य समाजलाई रुपान्तरण गर्ने हो । पुँजीवादी व्यवस्थामा भएका कमी कमजोरीबारे जनतालाई बताउँदै सचेत र सङ्गठित पार्दै अनुशासित, सभ्य र सुसंस्कृत समाज स्थापना गर्न नगरपालिकाले जोड दिनेछ ।”
भक्तपुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल खेल मानव जीवनको अभिन्न अङ्ग भएको र खेलकुद प्रतियोगिताले राष्ट्रलाई चिनाउने प्रतिभाशाली खेलाडी तयार गर्न मद्दत पुग्ने बताउनुभयो ।
नेपाल कराँते महासङ्घका अध्यक्ष दावा गुरुङले कराँते खेल निकै लोकप्रिय र शारीरिक सक्रियताको लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सक्षम, सबल, नेतृत्ववान र अनुशासित युवा तयार गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगरको १० वटै वडामा शारीरिक व्यायामका सामग्री जडानको कार्य भइरहेको र भक्तपुरमा इन्डोर र आउटडोर खेलकुद भवन र खेलमैदान निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले शासक दलहरूले सहिदहरूको उद्देश्य र सपनामा चासो नदेखाएको र वर्तमान सरकारले खेलकुद क्षेत्रमा पक्षपाती ढङ्गले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले विजयी खेलाडी तथा रेफ्रीहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण गर्नुभएको थियो ।
आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ४० के.जी. तौल समूहमा सुदिप शेर्पा (गोकर्णेश्वर नपा) प्रथम, आशिष तामाङ (मध्यपुर नपा) द्वितीय, रिहान रोक्का (चाँगुनारायण नपा) र विकेश नेपाली (तुल्सीपुर नपा) तृतीय हुन सफल भयो भने महिलातर्पmको ४० के.जी. तौल समूहमा निशा योञ्जन (काठमाडौं महानपा) प्रथम, सञ्जु देशार (चन्द्रागिरी नपा) द्वितीय, शान्ता योञ्जन (भक्तपुर नपा) र युजिना सुवाल (भक्तपुर नपा) तृतीय हुन सफल भयो ।
त्यसैगरी पुरुषतर्फको ४५ के.जी. तौल समूहमा मदनकुमार थापा (भक्तपुर नपा) प्रथम, सुन्दर तामाङ (भक्तपुर नपा) द्वितीय, प्रकाश तामाङ (चन्द्रागिरी नपा) र किरण राई (सूर्योदय नपा) तृतीय हुन सफल भयो भने महिलातर्फको ४५ के.जी. तौल समूहमा ममता महर्जन (तारकेश्वर नपा) प्रथम, मीना ब्लोन (पनौती नपा) द्वितीय, रेश्मा तामाङ(नागार्जुन नपा) र समिता पुरी (गोकर्णेश्वर नपा) तृतीय हुन सफल भयो ।
यस प्रतियोगितामा ५ वटा स्वर्ण र २ वटा रजत पदक प्राप्त गरी नागार्जुन न.पा. टीम प्रथम,५ वटा स्वर्ण प्राप्त गरी तारकेश्वर न.पा. टीम द्वितीय हुन सफल भयो भने २ स्वर्णसहित चन्द्रागिरी न.पा. टीम तृतीय हुन सफल भयो । यस प्रतियोगितामा पुरुषतर्फ भक्तपुर न.पा.का मदनकुमार थापा र महिलातर्फ नागार्जुन न.पा.का सन्ध्या महतो उत्कृष्ट खेलाडी हुन सफल भए । साथै बेलौरी न.पा.ले अनुशासित टीमको उपाधि हासिल ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *