मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
श्यामकृष्ण खुलिमुली
‘हुन्छ भन्नेहरूले हुन्छ भन्नुहोला’
सारा हातहरू एकैसाथ उठे
र करतल ध्वनी गुञ्जियो
‘हुन्छ !’
‘हुन्न भन्नेहरूले हुन्न भन्नुहोला’
त्यही बेला हो
सारा हातहरू गायव थिए
संसदमा मुर्दाशान्ति छाएको थियो
मुर्दाशान्तिलाई चिर्दै
एउटा हात उठ्यो
स्वाभिमानको स्वर गुञ्जियो–‘हुन्न’
त्यो स्वर संसदको भित्ता, पर्खाल छेडेर
देशैभरि गुञ्जियो
मुर्दाशान्तिहरूको छाती छेडेर
मुटुमै कम्पायमान भयो
तर अचानक मुर्दाहरू हाँसे
अट्टहास गरेर
अनि भोलिपल्ट अखबारले समाचार लेख्यो
एक्लो बृहस्पति झूटा !
आज देश दुखिरहेको छ
अनागरिकहरू जरा गाड्दै छन्
मेरो माटोमा
विराटनगरमा
जनकपुरमा
नेपालगञ्जमा
काठमाडौंमा
हो म खोजिरहेछु
मेरा पुर्खाहरू
मेरा वंशजहरू
म खाजिरहेछु
मेरो आदिभूमि
न्युरोडमा
असनमा
भेडासिंमा
प्रत्येक नयाँ नागरिकका पसल पसलमा
म ढलिरहेछु उठ्नै नसक्ने गरी
प्रत्येक अङ्गीकृत नागरिकका व्यापारले
म निलिरहेछु
हुन्छ भनेर हात उठाउनेहरू
अनागरिक बाँचिरहेछन्
शासकहरू आज आफै शासित हुँदा
बागमती उल्टो बगिरहेछ
किनकि एक्लो बृहस्पति झूटो थियो
एक्लो बृहस्पतिलाई कठघरामा उभ्याउनेहरू
अनागरिकको ब्ल्याक होलमा विलुप्त भइरहँदा
भूगोल हराएको देशमा उभिरहेका छन्
इतिहासको कठघरामा फसिरहेका छन्
पश्चातापको अदूरदर्शी दलदलमा
सारा ग्रह, उपग्रहहरू ।
Leave a Reply