मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
गीता हरिहरण
कृष्णा सोबतीसँग मेरो अन्तिम दर्शन सन् २०१९ को जनवरी २५ मा उनको निधन हुन केही दिनअघि मात्र भएको थियो । उनी उपचाररत अस्पतालको कक्षमा राखिएको एउटा पुस्तकमाथि मेरो ध्यान परेको थियो । सोबतीको पहिलो उपन्यास ‘चन्ना’ को नयाँ संस्करण थियो । त्यो पुस्तकको इतिहासले हामीसमक्ष एक जना ज्येष्ठ नागरिक र एक जना वरिष्ठ लेखिकालाई एकै ठाउँमा ल्याइदिएको थियो । सन् १९५२ मा ‘चन्ना’ उपन्यासको पाण्डुलिपि सोबतीले प्रकाशककहाँ प्रकाशनको लागि पठाएकी थिइन् । पुस्तक छापिएर आउँदा उनले पाण्डुलिपिमा आफूले प्रयोग गरेका पञ्जाबी र उर्दु शब्दको ठाउँमा संस्कृत शब्द प्रयोग भएको देखिन् । तत्कालै उनले सो पुस्तक बजारमा नपठाउन आग्रह गरिन् । छापिएका सबै पुस्तकको लागत तिर्न उनी तयार भइन् । यो घटना भएको दसकौं पछि उनले सो उपन्यासको पाण्डुलिपिमाथि पुनरावलोकन गरिन् र प्रकाशनको लागि तयार भइन् । सन् २०१९ को जनवरीमा उनी अस्पतालको बेडमा लडिरहेकी थिइन्, मानौं हामीलाई आफ्नो जीवनयात्राको पनि लामो स्मरण यही पुस्तकमार्फत गराइरहेकी थिइन् ।
हो, सोबती त्यस्ती लेखिका थिइन्, कसैसामु नझुक्ने । त्यस्ती महिला थिइन्, कसैसामु नडगमगाउने, हाँकाहाँकी बोल्ने, मनैदेखि पवित्र ।
सन् २०१५ मा भारतभरिका लेखकहरूले भारतमा बढ्दो असहिष्णुताको विरोधमा साहित्य एकेडेमी पुरस्कार बहिष्कार गर्ने निर्णय गर्दा कृष्णाजीले सो निर्णयको समर्थन गरिन् । आफ्नो ढल्कँदो उमेरले उनलाई समर्थनको निर्णय गर्न रोकेन । दिल्लीमा आयोजित लेखक र अभियन्ताहरूको विरोध कार्यक्रम ‘प्रतिरोधी’ मा उनी ह्वीलचेयरमा बसेर सहभागी बनेकी थिइन् । मञ्चमा पुगेर उनले आफूले लेखेको सामग्री वाचन गरेकी थिइन् । सधैंझैं उनले जे भनिन्, त्यो निकै तीखो, प्रस्ट र महत्वपूर्ण थियो । उनले आफ्नो जीवनमा जे देखिन् र जे महसुस गरिन्, त्यहींबाट आफ्नो धारणा बनाइन् । उनले ब्रिटिस शासन देखिन्, स्वतन्त्रता आन्दोलनमा लडिन्, धेरै क्रान्तिकारीहरूसँगको सङ्गतको उनीसँग निकै पुराना सम्झना बाँकी थिए । ती क्रान्तिकारीहरू अझै पनि उनको मनमा बसेका छन् । तर, घृणामा आधारित विचारलाई लिएर भारतीय नागरिकबीचको विभाजनलाई उनलाई निकै दुःखी बनाएको थियो । हिन्दुत्वको नाममा पहिले बाबरी काण्ड भयो, त्यसपछि डाडरी काण्ड । उनले हिन्दुवादीहरूको ‘बहादुरी’ लाई नामर्दीको संज्ञा दिइन् । उनी इतिहासलाई मिथकले विस्थापन गर्ने विचारका आलोचक थिइन् । त्यसले अन्धविश्वास जन्माउने उनको विचार थियो । आजको समयलाई सोबतीले खतराले भरिएको झूटको समयको रुपमा व्याख्या गरेकी थिइन् । यो समयमा लेखक र बुद्धिजीवीहरूले नागरिकको ठूलो आन्दोलनमा सहभागी बन्नुपर्ने विचार अघि सारेकी थिइन् । एक जना बुद्धिमान महिला हुनुको नाताले उनले आशा भने देख्न छोडिनन् । भारतले कहिल्यै पनि आफ्नो मूल्यमान्यतामा सम्झौता गरेको छैन र अहिले पनि मानिसले सही कुराबारे आफ्नो आत्मविश्वास गुमाउने छैनन् भन्नेमा उनी आश्वस्त थिइन् । उनको त्यो बुद्धिमानी विश्वास थियो ।
सोबतीका केही कृतिका अङ्ग्रेजी अनुवाद मैले पढेकी छु । उनलाई विभिन्न साहित्य कार्यक्रममा केही पटक भेटेकी छु । उनले आफ्नो जीवनको अन्तिम वर्षमा भारतीय लेखक मञ्चको सल्लाहकार बन्न सहमति जनाइन् । त्यहाँ उनीसँग मेरो सम्बन्ध अझ गाढा बन्यो । हामी आपसमा लेखन, राजनीतिदेखि महिलाको जीवनका भाकाबारे कुराकानी गथ्र्यौं । तिनी बुढी मान्छेको हाँसो जतिको मीठो अरु केही लागेन । अस्पतालमा अन्तिम श्वास फेर्दै गर्दा उनका आँखा बन्द थिए । तर, मलाई यस्तो लागिरहेको थियो–उनी मेरो कुरा सुनिरहेकी छिन् । मेरो कुरा सुनेर उनी हाँसेकी थिइन् । तर, उनले त्यस्तो गर्नु मलाई बिदाको हात हलाइरहेको हो भन्ने कुरा मलाई कहिल्यै महसुस भएन । म सम्झन्छु, एक साँझ उनको कोठामा उनले मेरो हात आफ्नो हातमा लिएर निकै भावुक र चिन्ताका साथ भनेकी थिइन्–“जीवन भनेको निकै रमाइलो कुरा छ । बाँचेर हेर ।”
कृष्णा सोबती, तिमीले जीवनमा जति जनालाई पनि उत्प्रेरित ग¥यौ, जति जनालाई पनि साथी बनायौ, उनीहरूको जीवनबाट तिमी कहिल्यै अस्ताउने छैनौ । तिमीले जस्तै हामी पनि निडर भएर लेख्नेछौँ, बोल्नेछौँ ।
स्रोतः न्युजक्लिक
नेपाली अनुवादः सुमन
Leave a Reply