भर्खरै :

मन परेका तीन पुस्तक

नारायणमान बिजुक्छें
मैले ५०–६० पटक पढेको किताब कम्युनिस्ट घोषणापत्र नै हो, यद्यपि सुरुमा जानी–नजानी पढेँ । तर, उमेरसँगै गाम्भीर्य बढेपछि अर्थगत व्यापकतालाई बोध गरेँ । कतिपयले यही कृति पढ्नकै लागि जर्मनी भाषासमेत सिकेका छन् । विद्यार्थीकालमा क्रान्तिकथा ठानेर पढ्न थालेको यस किताबको अनुवादमा मूल भाषाको मिठास भत्केको होला तर मूलभाव बचेको छ । मानव समाजको विकासको चर्चा गर्दा मजदुर, सर्वहारा, पुँजीपति वर्ग र समाजवादी विचार समेटिएका छन् । तत्कालीन युरोपका लागि ती विचार स्वाभाविकै थिए होलान् तर नेपालमा त्यस्ता वर्गको विकासै भएको थिएन ।
अहिले बुझ्छु– कम्युनिस्ट घोषणापत्रका हरेक पङ्क्तिमा एउटा–एउटा पुस्तक छ । त्यहाँ भनिएको छ, “अमेरिका र भारत पत्ता लागेपछि पुँजीवादको विकास भयो ।” यही कुरा बुझ्न पनि कोलम्बसले अमेरिका पत्ता लगाउँदाका यात्रा कथा पढ्नुपर्छ । हिन्दुस्तान खोज्न हिँडे पनि अमेरिका पुगेका कोलम्बसबारे मैले कम्तीमा दुई पुस्तक पढेँ । कम्युनिस्ट मेनिफेस्टोको पहिलो संस्करणमा ‘मानव समाजको इतिहास वर्ग–सङ्घर्षको इतिहास’ भनी लेखिएको थियो । तर, अनुसन्धानबाट खुल्यो– कोलम्बस हाइटी पुग्दा राज्य नै थिएन । वर्गविहीन समाजमा वर्गसङ्घर्ष हुने कुरै भएन । त्यसैले लिखित इतिहासपूर्वको आदिम साम्यवादी समाजमा वर्गसङ्घर्ष थिएन भनेर परिमार्जन गरियो । यसमा अर्थशास्त्र, दर्शनशास्त्रलगायत विषय प्रस्तुत गर्दै सुदूर भविष्यलाई समेत मार्गदर्शन गरिएको छ । साहित्यिक स्वादको यो पुस्तकमा भनिएको छ, “मजदुरहरूको पार्टी र हकहितविरुद्ध कुनै पार्टी खोलिने छैन ।” तर, नेपालका कम्युनिस्ट पार्टीहरू परिवर्तन र क्रान्तिभन्दा सत्ताको ध्याउन्नमा हुन्छन् ।
जवाहरलाल नेहरूको पहिलो मन्त्रिमण्डलका शिक्षामन्त्री मौलाना अबुल कलाम आजादको इन्डिया विन्स फ्रिडमले हिन्दुस्तान र पाकिस्तानको विभाजनको अन्तर्य खोल्छ । १४ वर्षको उमेरमै उर्दू पत्रिकाको सम्पादक रहिसकेका प्रतिभाशाली आजाद इन्डियन नेसनल काङ्ग्रेसका अध्यक्ष पनि भए । त्यतिबेला अलिकतिमात्रै लचक भइदिएको भए त्यो विभाजन नहुने तर्क राख्ने यिनले नेहरू, गान्धीहरूलाई दोषी ठह¥याएका छन् । आफूले राज गर्न नपाएपछि हिन्दुस्तान टुक्रिओस् भन्ने सोच्थे, अङ्ग्रेजहरू । मुस्लिम क्षेत्रलाई चारवटा बनाउने समयमा आजादले असहमति जनाए, ‘यसले मुस्लिम लिगलाई सहयोग गर्छ ।’ तर, उनको कुरा सुनुवाइ भएन । आजाद भारतीय स्वतन्त्रताका पक्षपाती थिए । खबरदारी गर्दागर्दै पनि हिन्दू पुँजीपति वर्गको प्रभावमा गान्धी, नेहरू र सरदार पटेलहरू परे । अन्त्यमा, भारतमा आफ्नो कहिल्यै हित नहुने ठानेर मुस्लिमहरूले छुट्टै पाकिस्तान खोजे । त्यसबेलादेखिको द्वन्द्वको दुखाइ आजपर्यन्त छँदै छ ।
शिष्ट भाषामा लेखिएको यस किताबलाई भारत–पाक विभाजनको समीक्षा भने हुन्छ । थोरै लेख तथा पुस्तक पढ्न पाइने यी लेखक प्राज्ञिक लाग्छन् तर प्रश्न उब्जिन्छ– यस्ता प्रतिभाशाली व्यक्ति किन अगाडि आउन सकेनन् ? गान्धीका पुस्तक आध्यात्मिकहरूले धेरै पढे भने नेहरूका किताब अङ्ग्रेजी सिक्नेहरूले पनि पढे । तर, आजादलाई मुस्लिम भएकै कारण बेवास्ता गरियो ।
नेपालमा पनि एउटै समुदायका मानिसमात्रै राज्यको कार्यकारी भूमिकामा किन हुन्छन् ? उत्तर उही आउँछ । बहुमतको बलमा अल्पसङ्ख्यकलाई पेलेर जाँदा भयावह नतिजा आइलाग्छ भन्ने बलियो पाठ इन्डिया विन्स फ्रिडमबाट लिन सकिन्छ ।
पार्टी सरकारमा आइसकेपछि लेनिनले लेखेको किताब लेफ्ट–विङ’ ः कम्युनिज्म एन इनफ्यान्टाइल डिसअर्डरमा उग्रवादी चिन्तनमाथि गहन विश्लेषण छ । लेनिनसँग युरोपेली कम्युनिष्ट आन्दोलनको अनुभव र अध्ययन थिए । ‘वोल्सेभिक क्रान्ति’ गर्ने लहर छाए पनि परिस्थिति फरक थिए । पुस्तकमा उल्लेख छ, “रुसी पार्टीसँग मात्रै यस्तो अनुभव छ, जो युरोपका अन्य पार्टीसँग छैन ।” जारहरूले देश निकाला गर्दा तितरबितर भएर अनेक देशका मजदुर–किसान आन्दोलनसँग जोडिएका रुसीहरू एकाध वर्षमा गोप्य बैठक–समीक्षा गर्थे । सबै युरोपेली देशको अनुभव संश्लेषणबाट सन् १९१७ को क्रान्ति हुँदा कसैले पत्याएको थिएन । रुसभित्र र बाहिर क्रान्तिलाई सन्देह गरिन्थ्यो किनकि अन्त्न्दा रुस पिछडिएको थियो । तयारी र अनुभवबिना चाहनाले मात्रै क्रान्तिको सपना पूरा नहुनेमै जोड देखिन्छ, लेनिनको ।
यो सानो किताबले कम्युनिष्ट पार्टीहरूले मजदुर–किसानको भावनाको कसरी सेवा गर्ने भन्ने साङ्गठनिक तौरतरिका सिकाउँछ । नेपालका ठूला भनिएका कम्युनिष्ट पार्टीको शैलीलाई लेनिनको आँखाले हेर्दा आकाश–जमिनको फरक देखिन्छ । किताब बोल्छ, “ठूला कुरा गर्नुभन्दा प्रतिक्रियावादी सङ्घसंस्थामा गएर जनताको सेवा गर । यस्तो गा¥हो काम गर्न सक्दैनौ भने तिमी कम्युनिष्ट हुनैसक्दैनौ ।”
वोल्सेभिकहरू बेश्यालय र भट्टीमा समेत घुसेर महिला र गरिबहरूलाई क्रान्तिका लागि तयार गराउँथे । नबुझेरै पुँजीवादी चङ्गुलमा फसेका जनतालाई मुक्ति दिनु असली कम्युनिस्टको कर्तव्य हो भन्ने धारणा लेनिनको देखिन्छ । रुसी साहित्य पढ्दा लाग्छ– साहित्य कमजोर भएको देशमा क्रान्ति पनि गा¥है होला कि !
प्रस्तुतिः गुरुङ सुशान्त
नेपाल साप्ताहिक फागुन १, २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *