भर्खरै :

जसलाई सहरी सपनाले लठ्याउन सकेन

चिन्मय
गहिरा र जटिल कुरा पनि सजिलै भनिदिने ती केटाहरू बसमा निकै असजिलो पाराले पसेका थिए ।
गाडी जमल पुगेको थियो । बसमा यात्रु के पसेका थिए ह्वास्स केही गनायो । ढोकासँग सटेको सिटमा बसेको थिएँ । त्यसैले बसको अघिल्लो सिसातिर फर्केको मेरो मुन्टो एकाएक मोडियो । हेर्छु, दुईजना कलिला केटा चुपचाप उभिएका थिए । मेरा आँखा ती दुवैको शरीरमा सल्बलाउन थाले । दुवैले अटेसमटेस भई फुल्लिएको झोला बोकेका थिए । झोला निकै मैलाधैला थिए । धुलोका दागहरू यत्रतत्र देखिन्थे । लुगा थाङ्ना भए पनि बेदाग थिए ।
क्याबिनमा दुईटा सिट खाली थिए । वरपर सबै यात्रु सुकिला–मुकिला थिए । आफूलाई रुचाइन्न भनेर हो वा अरूलाई आफ्नो मैलो नलागोस् भनेर हो, उनीहरू ती सिटमा बस्न अन्कनाए । मैले उनीहरूलाई बस्न जोड गरेँ । हच्किँदै ती केटा बस्न आए । सानो चाहीँ मेरै बगलमा बस्यो टाँसिएर । उनीहरूबाट आइरहेको अमिलो हस्को जेको पनि हुन सक्थ्यो । रक्सीको, महिनौं ननुहाएको पसिनाको वा नधोएका लुगाको ।
ठूलो केटा अलिक कालो वर्णको थियो । नीलो स्वेटरमा सजिएको उसको टाउको सानो थियो । सानो चाहीँको कपाल र आँखाका नानी दुवै कैला थिए । उसको गोरो अनुहारबाट एकप्रकारको निश्छलता छचल्किरहेको थियो । दुवैका हात कठोर कामले गर्दा जिन्निएका थिए भने ठूलाको दाँजोमा सानाको अनुहार र कपाल सफा थियो ।
“भाईहरू यहाँ काम गर्छौ ?” कुराकानी उनीहरूको कामबाट सुरु हुन्छ । दुवैजना इँटा भट्टामा काम गर्दा रहेछन् । अहिले आफ्नो घर रोल्पा जाँदै रहेछन् । रोल्पाको होलेरीबाट एकाध घण्टा टाढा पर्ने नुवागाउँमा । माओवादी द्वन्द्वकालमा होलेरी निकै चर्चामा थियो । रोल्पा, अर्थात् माओवादी क्रान्तिको ‘लालकिल्ला’ बाट आएका यी बालकले काठमाडांैका सहरी तीतोपिरो भोगिसकेका थिए । म उनीहरूको भोगाईप्रति आकर्षित हुन्छु । ठूलो ५ वर्षदेखि यता काम गर्दो रहेछ । सानोले काठमाडांै आएको कुरा रोल्पाली मिठाससहित भन्यो, “तीन बाली भयो, पढाई छोडेर यता आ’ को ।” म उनीहरूको नाम जान्न खोज्छु ।
“मेरो नाम दिपक । उसको तेज ।”
“नाम त दुवैको राम्रो रहेछ । दिपक भनेको त दियो हो नि । तेज त तेज भैहाल्यो ।” म उनीहरूलाई फुर्काउँछु ।
“नामजस्तै पढाई भए हुन्थ्यो नि ! उसले ६ पढेर छोड्यो । मैले ७ पढेर छोडेँ ।” दिपक भन्छ । यसमा तेज थप्छ, “मेरो पढाई त तेज हो । ६ पढेपछि पैसा कमाउन मन लाग्यो । पढ्न मन लागेन । ठूल्दाईले २ कक्षा पढेको हो । सानो दाईले ३ कक्षा पढ्यो । सरहरूले पढाई नछोड भन्दा भन्दै म यता आएँ । यहाँ इँटा भट्टामा काम गर्न निकै धौ हुन्छ । एउटा इँटाको १ रूपैयाँ दिन्छ । दुई–चार सयमै दिन जान्छ । दिनभरि गोरुझैं जोतिनुपर्छ । पहिले धोबीघाटमा खलाँसी काम गर्थें । पैसा पनि इँटाभट्टामा भन्दा राम्रो थियो । ड्रात्र बन्ने सोचेको थिएँ, लाइसेन्स बनाउन १० को सटिफिकेट चाइँदो रैछ । किन पढाई छोडेछु, पछुतो लाग्छ । यसलाई पनि पढाई नछोड भनेको । मान्दैन ।”
“तिम्रो त उमेर छ । घर गएर पढ्दा हुन्छ नि । पढ्यो भने धेरै राम्रो हुन्छ । जागिर गर्न पनि सजिलो हुन्छ ।”, म १६ वर्षे दिपकलाई सम्झाउँछु । दिपक आफ्नो व्यथा सुनाउँछ, “पढ्न जान त हुन्थ्यो । स्कूल पनि धेरै टाढा छ । भोकभोकै बसेर पढ्नुपर्छ । भोकै पनि के पढ्ने ? म त अब पढ्दिनँ ।”
आश्चर्यमा म सोध्छु, “किन भोकै पढ्नुप¥यो ? आमाबुवा के गर्नुहुन्छ र ?”
“नास्ता खान पैसा हुन्न के ! आमाबा यहीँ इँटाभट्टामा काम गर्छन् । कहिले लेबर काम गर्छन् । आमा बेलाबेला गाउँमा बाली लगाउन जान्छिन् । पैसा त्यसैमा सकिन्छ । बाले धेरै वर्ष भयो यहाँ काम गर्न थालेको । के भयो र खै ?”
ठूलो तेजलाई सहरले तानिसकेको छ । उसका दाँतमा गुट्काका राता टाटा प्रष्टै देखिन्छन् । उसलाई फेरि पनि सहर फर्किने हुटहुटी छ । ऊ भन्छ, “गाउँमा साथीहरूसँग खेल्यो, सक्कियो । अरू केही काम हुन्नँ । गाउँका साथीसँग वनपाखा गयो । तास र बोर्ड (क्यारेम बोर्ड) खेल्यो, त्यत्ति हो । पढ्न त हुन्थ्यो । मनै मरिसक्यो । गाउँको एउटा सरलाई चिनेको छु । पैसासैसा ख्वाएर १० को सर्टिफिकेट बनाउँछु । अनि लाइसेन्स बनाएर गाडी चलाउने हो । दुई–चार महिनापछि फेरि काठमाडांै आउने हो । सटिफिकेटलाई पैसाको जोगाड गर्नुछ ।” तेजलाई पुँजीवादी समाजमा पैसाको तागतको अन्दाज भइसकेको छ । पैसाकै बलले आफूलाई पढाएका गुरुलाई खरिद्ने सपना उसले देखिसकेको छ । उसले यहाँ केही साथीहरू पनि बनाइसकेको छ । त्यसैले उसलाई यहाँ सुन्य पनि लाग्दैन । बरु फरक जात र संस्कारका कुरा थाहा पाएर मख्ख छ । केही महिनाअघि मनाइएको थारु जातिको माघी पर्वबारे उसले भन्यो, “हामीलाई दसैं तिहारजस्तै उनीहरूलाई माघीको महत्व हुँदो रैछ नि ।”
सानो दिपकको ओँठबाट गाउँलेपना अझै मेटिएको छैन । उसले तीन वर्षदेखि आउजाउ गरिरहेको इँटाभट्टामा न भनेजस्तो ज्याला पायो, न साथीहरू पायो । उल्टो उसको मोबाइल फोन र पाइन्ट कसैले चोरिदियो । उसले आफ्नो रहनसहन पनि फेर्न सकेन, गाउँको मोह भुल्न सकेन । त्यसैले अब कहिल्यै गाउँ नछोड्ने अनौठो सङ्कल्प लिइसकेको छ । ऊ भन्दै थियो, “अब यहाँ आउन्नँ । यहाँ दिनभरि गोरुजस्तै जोतिनुभन्दा गाउँमा गोठालो जान जाती । घरमा पनि दिदी–बहिनी एक्लै छन् । दुवैजना पढ्छन् । मैले खेतीपातीको काम गरेपछि बाआमालाई पनि हल्का हुन्छ । गाउँमा यहाँजस्तो होइन । मकै, आटो, सिस्नो खान पाइन्छ । यहाँ त जे पनि महँगो छ ।”
“अनि पढाई अघि नबढाउने त ?” उसलाई पढाईको महत्वबारे अलिअलि सम्झाएपछि अन्तमा म उसको निक्र्योलबारे जिज्ञासु हुन्छु ।
“सरलाई सोध्नुपर्ला ।” दिपकले यति भनेपछि रिङरोड निस्किसकेको बसबाट दुवैजना ओर्लिन्छन् । ऊ भन्दै थियो, “लौ गयौँ है दाई ।” दिपकको निर्दोष अनुहारमा कञ्चन मुस्कान सहजै फक्रिरहेको थियो, मानौँ हामी कोही चीरपरिचित हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *