भर्खरै :

भेनेजुयलामा ‘मानवता’ को नाममा हमलाको प्रयास

अन्तर्राष्ट्रिय राजनीतिमा जनवरी महिनादेखि निकै चर्चामा रहेको विषय हो–भेनेजुयलाको राजनीतिक घटनाक्रम । भेनेजुयलाको संविधानअनुसार निर्वाचित राष्ट्रपति निकोलस माडुरो नेतृत्वको सरकारलाई चुनौती दिंदै राष्ट्रियसभा अध्यक्ष हुवाँ गुइएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि दक्षिण अमेरिकी देशमा राजनीतिक समस्या भएको हो । संरा अमेरिका र विश्वमा उसको नेतृत्व स्वीकार्दैै आएका देशहरूले भेनेजुयलाको अवैधानिक ‘अन्तरिम राष्ट्रपति’ गुइएडोलाई मान्यता दिएपछि भेनेजुयलाको राजनीतिक समस्या थप जेलिएको हो ।
भेनेजुयलामा संरा अमेरिकी चासोका मूलतः दुई कारण छन् । पहिलो, भेनेजुयलासँग भएको अथाह तेल स्रोत र दोस्रो, भेनेजुयलामा सत्तासीन साम्राज्यवादविरोधी राजनीतिक नेतृत्व । संरा अमेरिकी नेतृत्व भेनेजुयलाको तेल स्रोत आफ्नो नियन्त्रणमा ल्याउन चाहन्छ र त्यसको निम्ति बाधक बनेको साम्राज्यवादविरोधी राजनीतिक नेतृत्वलाई पन्छाउन चाहन्छ । माडुरो नेतृत्वको सरकार नै संरा अमेरिकाको निम्ति भेनेजुयलामा आफ्नो कब्जा जमाउने प्रमुख बाधक हो । संरा अमेरिका यो बाधक पन्छाउन हुवाँ गुइएडोलाई गोटीको रुपमा प्रयोगमात्र गरेको हो ।
भेनेजुयलाको अर्थतन्त्र र मुद्रास्फीतिबारे पुँजीवादी सञ्चारमाध्यमहरूले धेरै कुरा फलाकिसकेका छन् । यदि ती समाचारमा किमार्थ पनि सत्यता भए त्यसको मूल कारण संरा अमेरिकाले थोपरेको नाकाबन्दी नै हो । नत्र ती समाचार भेनेजुयलामा संरा अमेरिकी हस्तक्षेप र हमलाको लागि पूर्वाधारका रुपमा रचिएका हुन् । संरा अमेरिकाले कथित मानवीय सङ्कट समाधानको लागि कोलोम्बिया र भेनेजुयलाबीचको सीमावर्ती क्षेत्रजस्तै कुकुट सहरमा टनका टन ‘राहतका सामग्री’ राखेको तर भेनेजुयलाको माडुरो सरकारले प्रवेश नदिएको भन्ने प्रचार केही सञ्चारमाध्यमले फलाकिरहेका छन् । तर, माडुरो सरकारले संरा अमेरिकाको राहत सामग्री हस्तक्षेपको बाटो भएको र साम्राज्यवादी हस्तक्षेपको मनसायले दिन लागेको कुनै पनि सामग्री स्वीकार्य नहुने प्रस्ट बताएको छ । राष्ट्रपति माडुरोले भेनेजुयलालाई दिन कोलोम्बियामा राखिएको राहत सामग्री कोलोम्बियाकै विपन्न जनतालाई वितरण गर्न सुझाव दिए ।
संसारमा मानवीयता र प्रजातन्त्रको आवरणमा साम्राज्यवादीहरूले साना तथा अविकसित देशमाथि हमला गरेका इतिहासबारे भेनेजुयलालाई राम्रो जानकारी हुनुपर्छ । इराक र लिवियामा संरा अमेरिकाले प्रजातन्त्र र मानव अधिकारकै बहानामा हस्तक्षेप गरेको थियो । इराकी र लिवियाली जनतासँग न आज आफ्नो देश छ न मानव अधिकार र प्रजातन्त्र नै छ । बरु हरेक दिनको त्रास, अस्थिरता र साम्राज्यवादी हस्तक्षेपबीच उनीहरू बाँच्न बाध्य छन् । कुनै बेला समृद्धि र सम्पन्नताबीच बाँचेका इराकी र लिविया जनता आज भग्न सहरका भग्नावशेषबीच देश खोज्न बाध्य छन् । यो इतिहासबाट पाठ सिकेर भेनेजुयाली जनता कुनै पनि अवस्थामा आफ्नो देशमा साम्राज्यवादी हमलाबाट जोगाउने सङ्घर्षमा जुटेका छन् । भेनेजुयलाका जनतासँग आज साम्राज्यवादको प्रतिरोध गर्नुको अर्को विकल्प छैन । जसरी क्युवाहरू साम्राज्यवादविरुद्ध ‘मृत्यु वा स्वतन्त्रता’ को लडाइँ लडेका थिए, आज दक्षिण अमेरिकाको अर्को देश भेनेजुयलाका जनताको काँधमा यो ऐतिहासिक जिम्मेवारी आएको छ ।
मानवता, मानव अधिकार, प्रजातन्त्रजस्ता शब्दभित्र लुकाइएको कालकुट विषबारे भेनेजुयाली जनता सहज हुन जरुरी छ । सामान्य अवस्थाका हजार निर्णय र सङ्कटकालीन अवस्थामा गरिने एकै निर्णय बराबर हुन्छ । आज भेनेजुयाली जनताले गर्ने एउटै गलत र आत्मसमर्पणवादी निर्णयले संसारको इतिहासको नक्सामा धेरै परिवर्तन ल्याउन सक्छ । भेनेजुयलामा साम्राज्यवादको पराजय र समाजवादको विजयले संसारका जनतामा समाजवादको अपराजयताप्रतिको विश्वास अझै बलियो बन्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *