भर्खरै :

भनपा १ मा निःशुल्क रगत परीक्षण शिविर सम्पन्न

भक्तपुर, फागुन ११ । भक्तपुर नगरपालिका वडा नं. १ समिति अन्तर्गत स्वयम्सेविका परिचालन समितिद्वारा आयोजित मृगौला, मधुमेह, रक्तचापसम्बन्धी निःशुल्क खुला रगत परीक्षण शिविरको शुभारम्भ एक समारोहबीच प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
उक्त अवसरमा उहाँले जनताको स्वास्थ स्वस्थ रहन पाउनुपर्ने विषयको प्रत्याभूति दिलाउन चुनावताका नेपाल मजदुर किसान पार्टीले अगाडि सारेको घोषणा पत्रको आधारमा चरणबद्ध निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन ख्वप अस्पताल भवन निर्माण कार्यको शिलान्याससमेत भइसकेको छ भन्नुभयो ।
कार्यक्रममा समाजसेवी एवम् पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले स्वास्थ्य शिविरले हाम्रो स्वास्थ्यसम्बन्धी भित्री रोग पत्ता लगाई स्वास्थ्य लाभ हुने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कार्यक्रमको सभापतित्व ग्रहण गर्नुहुँदै पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति भन्ने मूल नारालाई सार्थक बनाउन स्वास्थ्य जीवनको अपरिहार्यता रहने भएकोले नगरपालिकाले समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको कुरा बताउनुभयो ।
कार्यक्रममा स्वयम्सेविका परिचालन समितिका संयोजक गंगा बमनू, विश्वराज शिल्पकारले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ३६९ जनाले स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *