भर्खरै :

श्रीलङ्काको आर्थिक वृद्धि १७ वर्षकै सबैभन्दा कमजोर

कोलम्बो, ११ फागुन
(एएफपी) । श्रीलङ्काको गत वर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा विगत १७ वर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैङ्कले शुक्रबार जनाएको छ ।
सन् २०१८ का लागि पाँच प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भएपनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझप्टीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३.० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैङ्कका गभर्नर इन्द्रजीत कुमारास्वामीले बताउनुभयो ।
राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिङ्घेलाई गत अक्टोबरमा बर्खास्त गरी संसद्को विघटन गर्ने निर्णयका कारण श्रीलङ्कामा गत वर्ष केही समय अन्यौल छाएको थियो । यद्यपि सिरिसेनाको कदमलाई बल दिन संसद्मा बहुमत नहुँदा विक्रमेसिङ्घे पुनः प्रधानमन्त्री बन्नुभएको थियो ।
संसद्ले राष्ट्रपतिको कदमलाई अनुमोदन नगरेपछि श्रीलङ्काको अदालतले डिसेम्बरमा सिरिसेनाको कदमलाई असंवैधानिक तथा गैरकानुनी भन्दै विक्रमासिङ्घेलाई फिर्ता गर्न आदेश गरेको थियो ।
वैदेशिक पँुजीको अवस्था गत वर्षको तुलनामा राम्रो बन्दै गएको र राजनीतिक स्थायित्व पनि देखिएकाले सन् २०१९ मा आर्थिक वृद्धिदर पहिलेको अवस्थामा पुग्ने अनुमान रहेको बैङ्कका गभर्नर कुमारास्वामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समग्रमा यो वर्ष हामी राम्रो स्थानमा छौँ ।” उहाँले थप्नुभयो, यो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा जनतालाई प्रलोभनमा पार्न ल्याइने कार्यक्रमले आर्थिक वृद्धिदरलाई खस्काउन पनि सक्ने अवस्था आउन सक्छ ।”
श्रीलङ्काले वैदेशिक ऋण लिन चाहेपनि यहाँको जटिल अवस्थाका कारण ऋण योजना विफल बनेको थियो । सरकारले सन् २०१६ देखि सुरू भएको तीन वर्षे एक अर्ब ५० करोड अमेरिकी डलरको कर्जा कार्यक्रमलाई व्युँताउन वार्ता सुरू गरे पनि अन्तर्राष्ट्रिय मुद्रा कोषका स्थगित कार्यक्रमहरूलाई ल्याउन श्रीलङ्का प्रयासरत छ ।
सन् २००१ मा तत्कालीन तमिल विद्रोहीले श्रीलङ्काको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरी करिब आधा दर्जन विमानलाई क्षति पु¥याएपछि पर्यटन क्षेत्रमा परेको प्रभावका कारण श्रीलङ्काको आर्थिक वृद्धिदर १.२५ प्रतिशतमा खुम्चिएको थियो । तर तामिल आन्दोलनको अन्त्यसँगै सन् २००९ पछि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको थियो जुन गत वर्षको राजनीतिक खिँचातानीका कारण पुनः खुम्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *