भर्खरै :

दोस्रो पटकको वार्ता गर्न किम र ट्रम्प हनोइमा

हनोइ, १४ फागुन (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोइ आइपुग्नुभएको छ । नेता किमका लागि हनोइमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
विश्व समुदायले यस पटकको वार्तामा कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्नेबारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । नेता किम र राष्ट्रपति ट्रम्पबीचको शिखर वार्ता फेब्रुअरी २७ र २८ तारिखमा हुँदैछ ।
यसअघि दुई नेताबीच गत वर्ष जूनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा प्रजग कोरियाको आणविक निःशस्त्रीकरणको विषयमा महत्वपूर्ण सहमति भएको थियो । प्रजग कोरियाको आणविक हतियार नष्ट गर्ने र दुई देशबीच अनाक्रमणको सन्धि गर्नेबारेमा यस पटकको वार्तामा ठोस छलफल हुने विश्लेषकले अनुमान गरेका छन् ।
शिखर बैठकमा भाग लिन प्रजग कोरियाबाट करिब चार हजार किलोमिटर रेलयात्रा गरी नेता किम भियतनाम – चीनको सीमावर्ती सहर दोङदाङ आइपुग्नुभएको थियो । उहाँलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोइ ल्याइएको थियो । रेल र सडक मार्ग तय गर्न करिब अढाइ दिन लागेको थियो ।
हनोइमा आइपुग्नुहुँदा नेता किमलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । दोङदाङमा एक स्थानीय अधिकारी होआङ थी थुएले किमको अनुहार हेर्नका लागि उज्यालो नहुँदै हनोइको सडकमा सिमसिम वर्षात्को पर्वाह नगरी पर्खेर बसेको बताउनुभयो । सन् १९६४ यता प्रजग कोरियाको सर्वोच्च नेताले भियतनामको भ्रमण गरेको यो पहिलोपटक हो । भियतनाम र प्रजग कोरिया दुवैमा समाजवादी व्यवस्था छ ।
“किम सवार रेल आउँदा हामीलाई पनि नजिक जान दिइएको थिएन र टाढैबाट हेर्न भनिएको थियो,” एक भियतनामीले एएफपीलाई भन्नुभयो । “हामीले नेता किमलाई टाढैबाट हेर्न पायौं । मलाई अति खुसी लाग्यो, यो क्षणको वर्णन गर्न पनि कठिन छ ।”
माओ–शैलीको कालो सुट र आफ्ना अङ्गरक्षकको टोलीले घेरिएका किम त्यहाँ प्रतिक्षारत मर्सिडिज बेन्ज कारमा चढ्नुभएको थियो । त्यसपछि मोटरको ताँती हनोइतर्फ लागेको थियो । त्यहाँ सडकका दुबै किनारामा उभिएको ठूलो जनसमूहले किमलाई स्वागत गर्नुका साथै सडकमा सशस्त्र सैनिकले कडा सुरक्षा दिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने विगतझैं परम्परागत “एयर फोर्स वान” विमानबाट यात्रा गर्नुहुनेछ । उहाँ मङ्गलबार साँझसम्म हनोइ आइपुग्ने कार्यक्रम छ ।
शिखर वार्ताका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर राष्ट्रपतिसँगै हनोइ यात्रामा रहनुभएकी ह्वाइट हाउसकी प्रवक्ता सराह स्यान्डर्सले दुबै नेताले सँगै खाना खाने कार्यक्रम रहेको बताइन् ।
संयुक्त राज्य अमेरिकाले पटकपटक प्रजग कोरियासमक्ष आफ्ना आणविक कार्यक्रम भरपर्दो र अन्तर्राष्ट्रिय विशेषज्ञको उपस्थितिमा बन्द गर्न आग्रह गरिरहेको छ ।
प्योङयाङले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई व्यापकरुपमा बुझ्न आग्रह गरिआएको छ । प्रजग कोरियाले आफूमाथि लागेका प्रतिबन्ध फुकुवा गर्न र प्रजग कोरियामाथि हुनसक्ने सुरक्षा खतरा नहुने विश्वासिलो आधार प्रस्तुत गर्न आग्रह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *