भर्खरै :

विधेयक संशोधन नभए लगानी डुब्ने व्यवसायीको चिन्ता

काठमाडौँ, १८ फागुन । अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ । दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो ।
गत आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलकै क्रममा सरोकारवाला निकायले विरोध गर्न थालेका हुन् ।
काठमाडौँमा शनिबार आयोजना गरिएको सरोकारवालाको छलफलमा सरकारी तथा निजी क्षेत्रका सङ्घसंस्था तथा सरोकारवाला व्यवसायीले दूध, माछा र मौरीमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई मार्गप्रशस्त गर्न खोजिए यस क्षेत्रमा संलग्न २० लाख नेपाली बेरोजगार हुने धारणा राखेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा एक वर्षमा अण्डा, दोस्रो वर्षमा माछा र तेस्रो वर्ष दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना छ । हाल अण्डाबाहेक माछा र दूधमा नेपाल परनिर्भर छ । हाल पाँच लाख मेट्रिक टन दूध अपुग छ भने झण्डै वार्षिक जिउँदो र मरेको माछाको आयात रू. एक अर्ब छ ।
निजी क्षेत्रको डेरी उद्योग एसोसिएसन तथा सरकारी क्षेत्रको दुग्ध विकास संस्थानले पशुपालन, माछा र माहुरीपालनमा वैदेशिक लगानी आवश्यक नरहेकाले विधेयक संशोधन गर्नुपर्ने धारणा अघि सारेका छन् ।
दुग्ध विकास संस्थानका कामु महाप्रबन्धक ईश्वरी न्यौपानेले सरोकारवाला निकायबाट पेश भएको मस्यौदा विधेयकलाई व्यापक तोडमोड गरी घुमाउरो तरिकाले सदनमा पेश भएको बताउनुभयो । उहाँले स्वदेशी लगानी डुबाउने गरी सदनमा पेस भएको सो विधेयक कानुन बनेमा साना किसान, दुग्ध व्यवसायी, दुग्ध सहकारी संस्था र सिङ्गो दुग्ध विकास संस्थान धरापमा पर्ने जानकारी दिनुभयो ।
छलफलमा डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले कृषि मन्त्रालयको सुझावलाई बेवास्ता गरी सदनमा पेश भएको सो विधेयक बदनियतपूर्णढङ्गले अघि बढेको बताउनुभयो ।
पछिल्लो तथ्याङ्कअनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव शून्य पाँच प्रतिशत छ भने दूध व्यवसायको करीब नौ प्रतिशत छ । दूध बिक्रीबाट दैनिक रू. तीन करोड ५० लाख गाउँमा पुग्छ । ग्रामीण जनताको दैनिक जीवन गुजाराको मेरूदण्ड पशुपालन हो ।
दुग्ध विकास संस्थानका सदस्य सीताकाजी श्रेष्ठले विधेयक संशोधन हुनुपर्ने माग गर्दै विधेयक पास भएमा बहुराष्ट्रिय कम्पनीसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकी पेशाबाट पलायन हुनुपर्ने अवस्था आउँछ भन्नुभयो ।
नेपाल डेरी सङ्घका अध्यक्ष राधाकृष्ण सापकोटाले एकातिर सरकार विदेशमा गएकालाई स्वदेशमा पशुपालन गर्न आउ पनि भन्ने अर्कातिर स्वदेशी लगानीलाई निरूत्साहित गर्न विधेयक ल्याउन खोज्नु आश्चर्य भएको बताउनुभयो ।
नेपालमा चार लाख ५० हजार व्यक्तिले व्यावसायिक रूपमा पशुपालन गरेका छन् । उनीहरूले दैनिक ४९ लाख लिटर दूध उत्पादन गर्छन् । विधेयक पास भएमा ‘अमुल’ जस्ता बहुराष्ट्रिय कम्पनीसँग नेपाली उद्योगीले प्रतिस्पर्धा गर्न नसकी बजारमा लगानी भएको रू. २० अर्ब डुब्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *