यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुरेश
पुस्तकालयमा एउटा पुस्तिका थियो – मानव समाजको विकासक्रम नामको । धमिराले पारेका प्वालहरू केही पानामा टड्कारै देखिन्थे, तैपनि अक्षरमा खासै असर गर्न भ्याएका थिएनन् । पुस्तिकाको सुरुमै कार्ल माक्र्सको प्रसिद्ध भनाइ लेखिएको थियो । नयाँ उत्पादक शक्तिको विकाससँगै सामाजिक संरचना पनि फेरिँदै जान्छ भन्ने त्यसको भाव थियो । बाँकी पानामा मानव जातिको सारा इतिहासलाई सङ्क्षिप्त रूपमा विवेचना गरिएको थियो । त्यस पुस्तिकाले नै मलाई मानव समाजको विकासक्रमका कखरा सिकाएको थियो । पुस्तकालयबाट धेरै किताब बाहिर गएर नआएको थाहा पाएपछि मैले त्यो पुस्तिका लुकाउने निधो गरेँ । मैले त्यसलाई लाइब्रेरियन सरको खासै प्रयोगमा नआउने दराजको एउटा कुनामा खुसुक्क राख्न थालेँ । यसरी त्यो पुस्तिका मैले बारम्बार पढिरहने वर्णमाला बन्न पुग्यो । अरू साथीलाई दिनुपरे म त्यसलाई सुटुक्क निकालेर दिन्थँे । यसै प्रिय पुस्तिकाबाट मेरो आत्मीय चिनजान भएको थियो –कृष्णदास श्रेष्ठसँग एकजना लेखकको रूपमा ।
त्यसबेला सस्तो भाउका क्रान्तिकारी पुस्तक पुस्तिका पाइने भकारी थियो, विश्व नेपाली पुस्तक सदन । क्रान्तिकारी पुस्तकहरूको भोकले हामी थुप्रै साथीलाई त्यहाँ लग्यो । विद्यार्थीकै लागि लेखेजस्तो मसिना पुस्तिका लेख्ने कृष्णदास श्रेष्ठ त्यहाँ आफ्ना धेरै पुस्तिकासहित उपस्थित हुनुहुन्थ्यो । विश्व नेपाली पुस्तक सदनमा त्यतिबेला दुईजना बुबाहरू बस्नुहुन्थ्यो । एकजना मोटा, अर्का दुब्ला । दुब्ला बुबाले कृष्णदास श्रेष्ठले उल्था गर्नुभएको ‘माकुरो र झिँगा’ हातमा थमाइदिँदै स्कूले पाठ्यपुस्तकले विद्यार्थीलाई टाँगा तान्ने घोडामात्र बनाउँछ भनेको हिजोजस्तै लाग्छ । विल्हेल्म लिब्नेख्तको त्यो रसिलो पुस्तिका पढेपछि मैले अर्को कृष्णदास श्रेष्ठलाई चिनँे – अनुवादक कृष्णदासलाई ।
क्रान्तिकारी साहित्यका तिर्खालु हामी केही विद्यार्थीमाझ कृष्णदास श्रेष्ठको एउटा पुस्तक ‘निलो किताब’ को नामले चर्चित थियो । त्यसैले यहाँ त्यस पुस्तकको खसोखास नाम लिन सकिन । त्यसको नाम ‘केही दार्शनिक निबन्ध’ हुनुपर्छ । त्यसको सुरुका पानामा थियो ‘मानव जीवनको उद्देश्यबारे’ । हाम्रा लागि त्यो निबन्ध निकै ताजा र विचारोत्तेजक थियो । त्यस्तो शक्तिशाली निबन्ध हामीले पाठ्यपुस्तकमा कहिल्यै पढेका थिएनौँ । निबन्धको अन्यमा दिइएको अस्त्रोभ्स्कीको भनाइ सदा स्मरणीय रह्यो । अर्को आश्चर्यको कुरा मेरो प्रिय पुस्तिका ‘मानव समाजको विकासक्रम’ पनि यो सङ्गालोमा समेटिएको थियो । ‘निलो किताब’ किनेपछि मैले पुस्तकालयमा लुकाइराखेको पुस्तिकालाई दराजको कुनाबाट मुक्त गरिदिएँ । यस सङ्गालोका निबन्धहरू हामीले दोहो¥याई तेहे¥याई पढ्यौँ, कतिलाई पढ्न लगायौँ । त्यसको पुछारतिरको एउटा निबन्धमा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई कसरी हेर्ने भन्नेबारे सम्यक दृष्टि दिइएको थियो । समग्रमा ‘निलो पुस्तक’ मा मैले कृष्णदास श्रेष्ठको अर्को व्यक्तित्वको झल्को पाएँ – एउटा विचारकको व्यक्तित्व ।
यसरी एकपछि अर्को कृतिमार्फत कृष्णदास श्रेष्ठ हाम्रा मन पर्ने लेखकमा पर्दै जानुभयो । उहाँका रचनाहरू खोजीखोजी पढ्नु हाम्रो मन पर्ने कर्म हुन गयो । आजभोलि उहाँका सङ्कलित रचनाहरू प्रकाशित भएका छन् अलि मोटा आकारमा । तैपनि नवप्रवेशीका लागि उहाँले प्रकाशित गरेका सानो आकारकै पुस्तक पुस्तिकाहरू बढी सजिला हुन्थे र हुन्छन् भन्ने लाग्छ । यतातर्फ पनि उहाँका प्रकाशकले ध्यान दिनुपर्ने देखिन्छ ।
पछिल्लो चरणमा ‘विद्वान विचारक’ डा. बाबुराम भट्टराईले ‘नयाँ झिल्को’ पत्रिकामार्फत नेपालमा कम्युनिष्ट सिद्धान्तको सिर्जनात्मक प्रयोगको नाममा ‘आजको माक्र्सवाद’ भनी फलाको गरिरहेका थिए । देशका बौद्धिकहरू नेपालमा माक्र्सवादका यी अवतारी व्याख्याताको विज्ञापनमा रल्लिरहेका थिए । पछि बाबुराम प्रधानमन्त्री बन्दा यो छवि ‘विष्णुको एघारौँ अवतार’ जस्तै मिडियामार्फत फुल्लाइयो पनि । त्यस्तो बेला बाबुरामको विचार ट्रोट्स्कीको खोटो विचारभन्दा कुनै पनि कोणबाट मौलिक नभएको विचार कृष्णदास श्रेष्ठले बलिया सन्दर्भ सामग्रीसहित पुष्टि गरिदिनुभयो । कोशी मासिक पत्रिकामा छापिएको हुनुपर्छ, त्यो लामो सैद्धान्तिक आलेख कृष्णदास श्रेष्ठको जुझारु सैद्धान्तिक निष्ठा र सङ्घर्षशीलताको दह्रो प्रमाण थियो ।
पूर्ण हुन नसक्नु नै मानवीयता हो । एकजना लेखक, अनुवादक र चिन्तकको रूपमा कृष्णदास श्रेष्ठ जति सफल रहनुभयो राजनीतिक रूपमा त्यति सुक्ष्मदर्शी एवम् दूरदर्शी हुन सक्नुभएन । उहाँले भर गरेको पार्टी संशोधनवादी भासमा जाकियो र विदेशी स्वार्थको सेवक निस्कियो । उहाँ जुन क्षेत्रमा पोख्त हुनुहुन्थ्यो, त्यो क्षेत्रबाट भने उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो सेवा गर्नुभएको छ । मेरो विचारमा उहाँ विशेषतः अविराम लेखक, अनुवादक एवं चिन्तक हुनुहुन्थ्यो । नेपाली साहित्यमा माक्र्स, एंगेल्स, माओ, स्टालिन, चाउ एनलाइ, अगस्ट बेबेल, प्लेखानोभ, ज्यार्जी दिमित्रोभजस्ता थुप्रै माक्र्सवादी लेखक तथा विचारकका महत्र्वपूर्ण रचना उहाँले भित्र्याउनुभएको छ । त्यसैगरी माक्र्सवादी अर्थशास्त्र, माक्र्सवादी सौन्दर्यशास्त्र, द्वन्द्वात्मक भौतिकवाद र समाजवादसम्बन्धी अनेक सरलीकृत कृतिको मौलिक लेखनबाट पनि उहाँले नेपाली श्रमजीवी जनतालाई ठूलो गुन लगाउनुभएको छ । माक्र्स र माक्र्सवाद, द्वन्द्वात्मक भौतिकवाद, बेनामी पत्रहरू, केही दार्शनिक निबन्धहरू, कम्युनिष्ट घोषणापत्र ः परिचयात्मक टिप्पणी, अतिरिक्त मूल्यको सिद्धान्त आदि उहाँका महत्र्वपूर्ण कृति हुन् । उहाँका साहित्य समालोचनाहरू पनि उत्तिकै ओजिला छन् ।
आफूले आदर गरेका लेखक एवम् विचारक कृष्णदास श्रेष्ठसँग भेटेर माक्र्सवादी साहित्यको अध्ययनसम्बन्धी उहाँको अनुभवबाट सिक्ने धोको थियो । त्यो त पूरा हुन सकेन । तैपनि उहाँसँग पछिल्लोपल्ट भलाकुसारी गर्नुभएका केही साथीबाट थाहा लागेका कुराले उहाँप्रतिको सम्मान झन् बढाइदियो । माक्र्स र एंगेल्सका सम्पूर्ण रचना ५० खण्डमा छापिएका छन् । तीमध्ये नेपालमा जम्मा २५ खण्ड भित्रिएका रहेछन् । ती २५ खण्डलाई दिनको १८ घण्टाका हिसाबले अध्ययन गरेर कृष्णदास श्रेष्ठले पूरै छिचोल्नुभएको रहेछ । पढ्दै जाँदा लेख्दै पनि गरेको भए उहाँले नेपाली कम्युनिष्ट साहित्य भण्डारलाई अहिलेभन्दा बढी योगदान दिन सक्नुहुने रहेछ । यसमा उहाँलाई थकथकी लागेको रहेछ । यसबाट उहाँको अध्ययनशील व्यक्तित्व छर्लङ्ग हुन्छ । साथै उहाँमा जनतालाई शिक्षित गर्ने भावना खचाखच भरिएको प्रतीत हुन्छ ।
अन्ततः कृष्णदास श्रेष्ठलाई मैले फागुन ११ गते शनिबारको साँझ आर्यघाटमा देखेँ । उहाँको दुब्लो पातलो मृत शरीरवरपर धेरै इष्टमित्र, नेता कार्यकर्ताको घुइँचो थियो । लगभग तीन घण्टा लामो बसाइमा उहाँसित जोडिएका अनेक स्मृतिहरू झल्झली मानसपटलमा आइरहे । एकजना सङ्गठनकर्ता, अथक अध्येता र अविराम लेखक अनुवादकको रूपमा कृष्णदास श्रेष्ठको नाम नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अङ्कित छ । एकजना पुराना किसान कार्यकर्ताले भन्नुभएको थियो पढाइ पनि लडाइँ हो । यसमानेमा कृष्णदास श्रेष्ठ एक कम्युनिष्ट लडाकु हुनुहुन्थ्यो । माक्र्सको दुई शतवार्षिकीको अवसरमै सही नेपालमा माक्र्सवादी साहित्यको अध्ययनमा तीव्रता आएको छ । यसर्थ पनि माक्र्सवादी साहित्यको अध्ययनमा जुट्ने नवप्रवेशी तथा गम्भीर अध्येताका लागि कृष्णदास श्रेष्ठ पथप्रदर्शक एवम् प्रेरणाका श्रोत हुनुहुन्छ ।
यिनै शब्दमार्फत हालै दिवंगत हुनुभएका श्रद्धेय कृष्णदास श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गर्छु ।
Leave a Reply