भर्खरै :

नवउदारवादी प्रयोगशालाभित्र भेनेजुयलाको अर्थतन्त्र चोरीको तयारी

जस्टिन पोडुर (Justin Podur)
(जस्टिन पोडुर क्यानाडाको टोरन्टोका ख्यातीप्राप्त लेखक हुन् । उनी योर्क विश्वविद्यालयको वातावरण अध्ययन सङ्कायमा प्राध्यापन गर्छन् । ग्लोवट्रोटर डटकममा प्रकाशित उनको विचारोत्तेजक लेखको अनुवाद यहाँ प्रस्तुत छ–सम्पादक)
जब हामी टाढाको कुनै देशमा संरा अमेरिका समर्थित सत्ता विप्लव देख्छौं, हाम्रो दृष्टि अमेरिकी अभियानको कूटनीतिक, सैन्य र आर्थिक तत्र्वहरूमा खिचिन्छ । जस्तो आज भेनेजुयलामा पनि भइरहेको छ । हतारमा देखिएका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन ठूलो पहेँलो नोट पायडमा “कोलम्बियामा ५ हजार सेना पठाउने” भनी लेखिरहेको तस्विर हाम्रो आँखा अगाडि आउँछ जुन सैन्य तत्र्व हो । अनि न्यूयोर्क टाइम्सको समाचार शीर्षक “अमेरिकी प्रतिबन्धको लक्ष्य भेनेजुयाली तेल, त्यहाँका नागरिकहरू सबभन्दा पहिले पीडित हुनेछन्” ले आर्थिक तत्र्वको खुलासा गर्छ ।
संरा अमेरिकी विदेश नीतिले आफूले तारो बनाइसकेको शासन परिवर्तन गर्नका लागि र त्यहाँ उठ्ने प्रतिकार दबाउनका लागि उपलब्ध हरेक स्रोतहरूको परिचालन गर्छ । ती स्रोतहरूमध्ये प्राज्ञिक क्षेत्र पनि तपाईं सधैं भेटाउनु हुन्छ । कलम सधैं नै तलवारभन्दा बलियो नहुन सक्छ तर संरा अमेरिकाले विदेशी जनतामाथि गर्ने गरेका युद्धका पछाडि प्राज्ञिक अनुसन्धान कार्य गर्ने एउटा अङ्ग (समूह) रहेकै हुन्छ ।
भेनेजुयलाको सत्ता विप्लव पछाडि पनि सबभन्दा उच्च प्राज्ञिक निर्देशक अङ्गको रूपमा एउटा प्राज्ञिक प्रयोगशाला रहेको छ–जुन हार्वर्ड विश्वविद्यालयमा रहेको छ । विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास केन्द्रको एक अनुसन्धानको आवरणमा भेनेजुयला परियोजनाको हर्वार्ड विस्तार प्रयोगशाला (The Venezeula Project of the Hardvard Growth Lab) रहेको छ । त्यहाँ त्यस्ता विस्तार प्रयोगशालाहरू भारत, श्रीलङ्का, मलेसियालगायत देशका पनि छन् । ती विस्तार प्रयोगशालाहरूमा लरेन्स सम्मर्सलगायत ठूलठूला प्राज्ञिक व्यक्तित्वहरू सक्रिय छन् । लरेन्स ती नीति निर्माता हुन् जसले अफ्रिकामा अमेरिकी प्रभाव घटेको अवस्थालाई अफ्रिकामा प्रदूषण बढेको र त्यहाँ सफाइ गर्नुपर्छ भनी अलोकप्रिय तर्क अगाडि सारेर चर्चा बटुलेका थिए । ती विस्तार प्रयोगशालाका नेतृत्वमध्ये रिकार्डो हाउसम्यान पनि पर्छन्, जो अहिले भेनेजुयलाका स्वघोषित राष्ट्रपति ह्वाँ गुआइडोको आर्थिक सल्लाहकार बनेर ल्याटिन अमेरिकी देशहरूमा घुमिरहेका छन् । हाउसम्यानले भेनेजुयलाको अर्थतन्त्रदेखि ऊर्जासम्मको राष्ट्रिय पुनःनिर्माणको मस्यौदा पनि गरिसकेका छन् ।
ब्लुमवर्ग सर्भिलेन्स (Bloomberg Survillance) अनलाइन टेलिभिजनको एक अन्तर्वार्तामा हाउसम्यानसित सत्ता परिवर्तनपछि भेनेजुयलाको पुनःनिर्माणका लागि को को हुनेछन् ? अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), विश्व बैङ्क (World Bank) ? भनी सोधिएको थियो । त्यस प्रश्नमा हाउसम्यानले करिब २० मिनेट लामो जवाफ दिएका छन् । उनको जवाफ थियो–“ती सबैसित हामी नजिक भएर काम गरिरहेका छौँ ।… म आफै पनि तीन वर्षदेखि लगातार भेनेजुयलाको लागि योजना– ‘बिहानीपछि’ (Morning after Plan for Venezuela) का लागि काम गर्दैछु ।” अत्यन्त उत्साही भएर सबै कुरा खुलासा गर्न लागेका हाउसम्यानलाई कार्यक्रम सञ्चालकले नै बीचमा रोकेका थिए । तर, त्यो अन्तर्वार्ता ‘पुरानो सुन्दर भेनेजुयला’ बन्नेछ भन्ने सारमा टुङ्ग्याइएको छ । पुरानो सुन्दर भेनेजुयला निश्चय पनि विदेशी लगानी कर्ता, अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूका लागि सुन्दर थियो र हुन सक्नेछ तर त्यसको लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोग आवश्यक भएकोमा जोड दिइएको थियो । हामी नबिर्सौं कि ‘पुरानो सुन्दर भेनेजुयला’ मा दुईवटा पुराना शासक पार्टीहरूले पालैपालो भ्रष्ट शासन कायम गरेका थिए र राजनीतिक विपक्षीहरू र भ्रष्टाचारको विरोध गर्नेहरूलाई जेल सजाय र यातना दिने गर्दथे । त्यसको दस्तावेजीकरण राम्ररी नै गरिराखेको पाइन्छ तर माडुरोलाई भ्रष्टाचारीको आरोप लगाउनेहरूले आफ्ना विगत सायद बिर्सिसकेका छन् ।
उक्त भेनेजुयला परियोजना विस्तार प्रयोगशालाको वेभसाइटमा हाउसम्यानको योजनामा समाविष्ट र अरू केही विचार प्रकाशित छन् । जसमध्ये एउटा लेखमा भनिएको छ ः चाभेजको साक्षरता, स्वास्थ्योपचार र खाद्य अनुदान योजना (मिशन बोलिभार) ले गरिबी घटाएको छैन । अर्को लेखले दाबी गर्छ– भेनेजुयाली तेल उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसक्नुको कारण देशमा विदेशी लगानी नभएर हो । (जुन मितिमा उक्त लेख अपडेट गरिएको थियो, भेनेजुयलाको तेल उत्पादन निरन्तर बढिरहेको थियो । पछि अमेरिकी प्रतिबन्ध र पार्टपुर्जा निर्यातमा रोक लागेपछि तेल उत्पादन घटेको हो ।) त्यसमा प्रकाशित तेस्रो लेखले दाबी गर्छ–कमजोर सम्पत्ति अधिकार र नियन्त्रित बजारले अर्थतन्त्रको कार्य सम्पादन र व्यवसायिक वातावरणमा हानि पु¥याइरहेको छ । कुनै शङ्का छैन, सम्पत्तिको अधिकारलाई पुनः बलियो बनाएपछि र ती बजारलाई राम्ररी काम गर्न खुला छोडिदिएपछि सबै ठीक हुनेछन् ।
सायद यी लेखका सार नै विस्तार प्रयोगशालाको अन्तिम लक्ष्य हो । यदि यही सिफारिस हो भने त्यो भनेको ल्याटिन अमेरिकी देशहरूलाई पुस्तौँपुस्तासम्म बर्बाद पारेको नवउदारवादी सिफारिसको पुनरावृति मात्र हो । उक्त नवउदारवादी सिफारिस चिली, ब्राजिलदेखि भेनेजुयलासम्मै दमन, यातना र तानाशाही शासनको माध्यमबाट थोपरेका र लागू गरिएका थिए । ‘पुरानो सुन्दर भेनेजुयला’ फर्काउने योजनाको उत्प्रेरणा यही नै त हो ।
सन् २००५ मा वालस्ट्रिट जर्नलमा प्रकाशित बब डेभिसको एक लेखमा हाउसम्यानलाई वासिङ्टन सहमति १९८९ को सच्चा भाग बनेकोमा कृतज्ञता ज्ञापन गरिएको छ । वासिङ्टन सहमतिमा भनिएको छः यो आर्थिक घोषणापत्रले सरकारलाई समृद्धिको मार्गको अवरोधको रूपमा पहिचान गरेको छ र व्यापार अवरोधहरू हटाउन, घाटा बजेट अन्त्य गर्न, राज्य सञ्चालित उद्योगहरू निजीकरण गर्न साथै ल्याटिन अमेरिकी देशहरूलाई विदेशी लगानीको लागि खुला गर्न आह्वान गर्दछ ।” यदि वालस्ट्रिट जर्नलमा प्रकाशित लेखलाई विश्वास गर्ने हो भने दसकौँपछि हाउसम्यान आफ्नो जवानीमा जन्माएको सन्तान (नवउदारवादी योजना) लाई भेनेजुयलामा स्थापित गर्न प्रयत्नरत छन् ।
हाउसम्यानको प्राज्ञिक कार्य नितान्त प्राविधिक र बृहत आर्थिक ढाँचामा आधारित छ । उक्त मोडेलले त्यसलाई बनाउनका लागि प्रयोग गरेको अनुमानहरूको परिणामलाई नै मात्र खुलासा गर्दछ । त्यस मोडेलले आफ्नो परिकल्पनालाई सही ठह¥याउने केही तथ्याङ्क मात्र प्रयोग गर्दछ । बाँकी कुरा भनेका प्रयोगात्मक गणितका अभ्यासहरू हुन् ।
भेनेजुयला परियोजना विस्तार प्रयोगशालाको वेभसाइटमा प्रकाशित एक अध्ययन २००५ मा देशको अर्थतन्त्र छिट्छिटो वृद्धि भइरहेको बेलाको तथ्याङ्कलाई मात्र लिइएको छ । त्यसभन्दा पहिले २००२ मा प्रकाशित एक लेखमा गोलमटोल तथ्याङ्क प्रस्तुत गर्दै भेनेजुयलाजस्तै तेलमा आधारित अर्थतन्त्र भएका देशहरूको कमजोर विकास सम्पादन स्रोतको रेखाचित्र बनाइएको छ । त्यस्ता देशहरूमा गैरव्यापारिक क्षेत्रमा अनुमान दिन रोक्ने बढी हस्तक्षेपकारी नीतिहरू लागू गर्न जरूरी भएको दाबी गरिएको छ । ती सबैको सार भनेको राज्य लोककल्याणकारी हुनुहुँदैन र सामाजिक कल्याणका योजनाहरूमा राज्यकोषबाट खर्च गर्नुहुँदैन भन्ने हो ।
ती सबै लेखहरू हाउसम्यानले लेखेका हुन् वा होइनन् त्यो प्रस्ट छैन तर सत्ता विप्लवपछिको गुआइडोको आर्थिक योजनामा अर्थतन्त्रलाई उद्धार गर्नसक्ने कुनै विचार÷उपाय नभएको छर्लङ्ग हुन्छ । फेरि हाउसम्यान वा गुआइडो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनको विरोधमा जानसक्ने कल्पनासम्म पनि गर्न सकिँदैन । बोल्टनले फक्स न्यूज टेलिभिजनमा भनेका थिए–“यदि हामीले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुयलामा लगानी गराउन र त्यहाँको तेल उत्पादन क्षमतालाई बढाउन दिन सक्यौँ भने त्यसले संरा अमेरिकाको अर्थतन्त्रमा ठूलो भिन्नता ल्याउने छ ।”
सत्ताविप्लव उत्तरार्धको भेनेजुयलाको अर्थतन्त्रमा हाउसम्यानको प्राज्ञिक कार्यजस्तै गणितीय रूपमा ठूलो भएको देखिनुबाहेक तात्र्विक भिन्नता आउने छैन । त्यो भनेको भेनेजुयलाको स्रोत र सम्पत्तिहरू निजीकरण गर्नु र विदेशी कम्पनीका हातमा सुम्पनुमात्र हुनेछ ।
हाउसम्यानले आर्थिक वृद्धिका मोडेलहरू प्रकाशित गरेको लामो रेकर्ड हुन सक्छ । उनले भेनेजुयलामा शासन परिवर्तनका लागि एक दसकभन्दा लामो अवधिदेखि धैर्य राखेर बसेका छन् । आफ्नो सम्पूर्ण प्राज्ञिक कार्य नै त्यसमा एकीकृत गरेका छन् । सन् २००२ मा चाभेजलाई अपदस्थ गर्ने भेनेजुयाली विपक्षीहरूको सैनिक विद्रोह असफल भएपछि र २००३ मा पुनःभेनेजुयाली तेल कम्पनीमा हडताल गराई सरकार असफल बनाउने कार्यनीति असफल भएपछि तिनीहरू सम्वैधानिक उपायमा फर्केका थिए तर सन् २००४ मा सम्पन्न जनमत सङ्ग्रहमा अत्याधिक बहुमत मतदाताले चाभेजलाई फिर्ता बोलाउने प्रस्तावलाई अस्वीकृत गरिदिए । त्यस परिणाममाथिको विवादले भेनेजुयलाको निर्वाचनमा प्रयोग हुने इलेक्ट्रोनिक भोटिङ मेशिनमा खसेको मत पुनःजाँच गर्न मतपत्रको रूपमा छापिने विशेषता थप गरिदियो । त्यसलाई पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले २०१२ मा ‘विश्वकै सबैभन्दा राम्रो’ भनेर प्रशंसा गरेका थिए । तर, कतिपय निर्वाचन पर्यवेक्षण संस्थाहरूले त्यसलाई बेवास्ता गरे । हाउसम्यानले पनि अत्यन्तै भ्रमपूर्ण एक तथ्याङ्क विश्लेषण सहितको अनुसन्धानपत्र तयार गरेका थिए, जसले भ्रमण सिर्जना गथ्र्यो । हाउसम्यानको भ्रमपूर्ण तथ्याङ्कलाई पछि धेरैले उद्धरण गरे ।
यदि अमेरिकाकै आर्थिक तथा नीति अनुसन्धान केन्द्र (Center for Economic and Policy Research (CEPR)) ले समयमै हाउसम्यानको अनुसन्धानपत्र र तथ्याङ्कक विश्लेषण गलत रहेको भनी छर्लङ्ग नपारेको भए त्यसको उद्धरण अझ व्यापक रूपमा हुन्थ्यो ।
सीईपीआरका मार्क वेइस्ब्रोटले २००८ मा उक्त विश्लेषण खण्डन प्रतिवेदनको सारमा लेखेका छन् ः भेनेजुयलाबारेको आर्थिक र अर्थतथ्याङ्कशास्त्रीय अनुसन्धानको राजनीतिक प्रभाव निकै महत्र्वपूर्ण हुनसक्छ । उदाहरणका लागि सन् २००४ मा भेनेजुयलाका भूतपूर्व योजनामन्त्री तथा हर्वार्ड विश्वविद्यालयको केन्नेडी महाविद्यालयका अर्थशास्त्री रिकार्डो हाउसम्यान र अर्का तथ्याङ्कशास्त्री रोवर्टो रिगोबोनले २००४ मा भएको राष्ट्रपतिलाई फिर्ता बोलाउने जनमत सङग्रह निर्वाचनमा इलेक्ट्रोनिक्स धाँधली भएको प्रमाण देखाउने उद्देश्यले अर्थतथ्याङ्कशास्त्रीय अनुसन्धानपत्र प्रकाशित गरे । अनुसन्धानपत्रमा धाँधलीको सिद्धान्तलाई अति नै जोड दिइएको छ, तथ्याङ्कीय विश्लेषणलाई गम्भीर रूपमा विचलन गराइएको छ र उक्त निर्वाचनलाई कार्टर सेन्टर र अमेरिकी राज्य सङ्गठन (ओएएस) ले पर्यवेक्षण र धाँधलीरहित प्रमाणित गरेको तथ्यलाई बेवास्ता गरिएको छ । त्यस अनुसन्धानपत्रले भेनेजुयलाको राजनीतिमा विशेष प्रभाव पा¥यो । साथसाथै मार्क पेन, स्कोइन र बर्लाण्डले नक्कली मतदान केन्द्रको अस्तित्व भएको दाबीसहितको लेख प्रकाशित गरी राष्ट्रपति फिर्ता बोलाउने निर्वाचनको मत परिणाम ६०–४० प्रतिशत रहेको दाबी गरे । निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका भेनेजुयाली विपक्षीहरूका लागि आफ्नो आरोप सिद्ध गर्न ती नै लेखहरु मुख्य प्रमाण बने । तिनैका आधारमा दक्षिणपन्थी विपक्षीहरूले २००५ को संसदीय निर्वाचन बहिष्कार गर्न पुगे र परिणामस्वरूप देशको एक सदनात्मक व्यवस्थापिका–राष्ट्रियसभामा तिनीहरू प्रतिनिधिविहिन हुन पुगे ।
सीईपीआरले त्यसलाई झूटो ठहर नगरेको भए, हाउसम्यान र रिगोबोनको अनुसन्धानपत्रको प्रभाव अझै व्यापक हुन्थ्यो । त्यसपछि कार्टर सेन्टरले पनि एक स्वतन्त्र अर्थतथ्याङ्कशास्त्रीहरूको टोली बनाएर ती आरोप र अध्ययनको जाँच ग¥यो र ती कथित अध्ययन, अनुसन्धान र आरोपहरू आधारहीन र प्रमाणहीन भएको पत्ता लगायो । तरै पनि वालस्ट्रिट जर्नल र अरू धेरै संरा अमेरिकी र ल्याटिन अमेरिकी प्रकाशनहरूले निर्वाचन चोरिएको (धाँधली गरिएको) दाबी गर्न ती अनुसन्धान पत्रको सहारा लिइरहे । भेनेजुयलाको निर्वाचनलाई षडयन्त्रको सिद्धान्तसित जोडेर भेनेजुयला र विश्वमै व्यापक दुष्प्रचार गरियो । अझै पनि न्यूजविक र मूलधारका पुँजीवादी सञ्चारमाध्यमहरूले त्यसपछिका हरेक निर्वाचनलाई लिएर त्यही सुत्रको आधारमा दुष्प्रचार गर्दैछन् ।
हाउसम्यानको २००४ को तथ्याङ्कीय धुत्र्याइँ वास्तवमा संरा अमेरिकी सैनिक विद्रोहको व्यावहारिक पुस्तिकाको एक स्थापित खण्डको भेनेजुयलाकरणबाहेक केही थिएन । कुनै निर्वाचनको प्राज्ञिक विश्लेषण र साँचो वा काल्पनिक धाँधली पत्ता लगाउनु यथार्थमा तारो बनाइएको प्रजातन्त्रको वैधानिकतामाथि प्रश्न उठाउने प्रक्रियाको सुरूवात बिन्दुमात्र हो । सिर्जित धाँधलीलाई पटक–पटक दोहो¥याइन्छ र प्रचार गरिन्छ । सन् २००४ मा हाउसम्यानको विश्लेषणले गरेझैँ तथ्याङ्कलाई तोडमोड गरिन्छ र निर्धारित तारोविरूद्ध सञ्चार माध्यमद्वारा अभियान नै चलाइन्छ । वर्षौंसम्म त्यही झूट दोहो¥याइसकेपछि पश्चिमा सञ्चारमाध्यमहरूमा ती तारोहरूलाई सजिलै ‘तानाशाह’ भन्न सकिने हुन्छ । तर ती ‘तानाशाह’ हरू अधिकांश पश्चिमा राजनीतिज्ञहरूभन्दा बढी वैधानिक निर्वाचनबाट जितेरै आएका छन् ।
हाइटीका जननिर्वाचित राष्ट्रपति जीन बट्र्रान्ड एरिस्टाइडलाई पनि संरा अमेरिकासमर्थित सैनिक विद्रोहबाट २००४ मा अपदस्थ गरिएको थियो । सन् २००१ मा अत्याधिक बहुमत प्राप्त गरी विजयी भएपछि एरिस्टाइडले देशका बहुमत गरिब जनताको पक्षमा मुख्य–मुख्य कानुनी परिमार्जनको कदम चालेका थिए । हाइटीमा हाउसम्यानको काम त्यहाँका एक प्राज्ञ जेम्स मोरेलले गरेका थिए । मोरेलले “विजयको बङ्गाराबाट खोसिएको हार” शीर्षकमा एउटा लेख प्रकाशित गरे र आठजना सिनेटरको निर्वाचनमा अनियमितता भएको आरोप लगाए । उक्त निर्वाचनमा १९ जनामध्ये १८ जना सिनेटर एरिस्टाइडको पार्टीकाले जितेका थिए । मोरेलका अनुसार ती सिनेटका सिटका निम्ति भएको निर्वाचनको मतगणनामा बढी मत आएका ४ जना उम्मेदवारको मात्र मतगणना गरिएको थियो । निर्वाचन वा मतगणना प्रक्रियामा सरकार र ती सिनेटरहरूको कुनै भूमिका थिएन तर त्यही कथित अनियमितता एरिस्टाइडको सरकारमाथि आर्थिक प्रतिबन्धहरू लगाउनका लागि पर्याप्त भयो । लगत्तै अन्तरअमेरिकी विकास बैङ्क (आईएडीबी) ले १५० मिलियन डलर ऋण खारेज ग¥यो । अनियमित भनिएका ८ सिनेटरको सिट खाली गरियो तर पनि आर्थिक सङ्कटले जर्जर देशको पुनःनिर्माणको निम्ति स्वीकृत आईएडीबीको ऋण फर्केन । एरिस्टाइड सरकारको वैधानिकतामाथि प्रश्न उठाउन लगाउनमा मोरेलको लेखले प्रमुख बौद्धिक पृष्ठपोषण गरेको थियो । सन् २००१ को निर्वाचनमा एरिस्टाइड अत्याधिक बहुमत प्राप्त गरी विजयी भएको प्रमाणित हुँदाहुँदै पनि त्यसमाथि पनि सिनेटको सिटमा जस्तै अनियमितता भएको शङ्का स्थापित गरियो ।
त्यसको एक वर्षपछि नै एरिस्टाइड सरकारविरूद्ध सैनिक विद्रोह कार्यान्वयन गरियो । सबभन्दा पहिले आर्थिक युद्ध, त्यसपछि अर्धसैनिक हिंसा र अन्ततः राष्ट्रपति भवनबाटै एरिस्टाइडको अपहरण गरियो र पदबाट राजीनामा गर्न बाध्य पारियो । तर, सैनिक विद्रोहको वास्तविक सुरूवात प्राज्ञिकहरूले नै गरेका थिए । पहिले निरन्तर सैनिकको पक्षमा वातावरण तयार गरे र सैनिक विद्रोहपछि पनि त्यसको औचित्यसिद्ध गर्न अनेक झूटो कथा सिर्जना र दुष्प्रचार गरे ।
ल्याटिन अमेरिकी देशहरूमा व्याप्त सामाजिक हिंसालाई पनि लामो समय अघिदेखि नै प्राज्ञिक पृष्ठपोषण मिल्दै आएको छ । कोलम्बियाका वर्तमान राष्ट्रपति त्रन ड्युक, जसले यतिखेर भेनेजुयलामा सत्ता परिवर्तनको आह्वानको नेतृत्व गरिरहेका छन्, आफै पनि पुराना युद्धपिपासु राष्ट्रपति अल्भारो युरिवे भालेजका मानस पुत्र हुन् । ड्युकको देश कोलम्बिया स्वयम् पनि पुस्तौँपुस्ता लामो गृहयुद्धबाट पुनःसीमाङ्कन भएको देश हो । जुन गृहयुद्धको क्रममा अर्धसैन्य दस्ताको हिंसाको माध्यमबाट स्थानीय आदिवासी र कालो वर्णका अफ्रो–अमेरिकीहरूलाई उनीहरू बसोबास गरिरहेको ग्रामीण क्षेत्रबाट विस्थापित गरिएको थियो । तिनीहरूमध्ये आधाभन्दा बढी भेनेजुयलामा आप्रवासी बनेका थिए भने बाँकी मानिसहरू बाँच्नका लागि कोलम्बियाका सहरहरूमा पसेका थिए । त्यस घटनामा पनि एक प्राज्ञिक सिद्धान्तकार जिम्मेवार रहेका थिए । ती सिद्धान्तकार क्यानाडामा जन्मेका अमेरिकी अर्थशास्त्री लाउक्लिन क्युरी (Lauchlin Currie) थिए । क्युरीको सिद्धान्तलाई सन् २००५ मा मात्र जेम्स ब्रिटेनले एकाकार गरे ‘गतिवान विकास’ (Accelerated Development)   नाममा पुस्तक प्रकाशन गरे । क्युरीको सिद्धान्तले ग्रामीण क्षेत्रबाट पिछडिएको जनसङ्ख्याको सहरी औद्योगिक क्षेत्रतिर विस्थापनले कृषि क्षेत्रमा ठूलो वृद्धिदर हासिल हुन्छ र कोलम्बियाको अर्थतन्त्रमा प्राविधिक प्रगति हासिल हुन्छ भन्ने थियो । क्युरीले १९५० को दसकमा विश्व बैङ्कको वैदेशिक मिसन निर्देशकका रुपमा रहँदा र पछि कोलम्बियाली राष्ट्रपतिहरूका सल्लाहकार रहँदा आफ्नो सिद्धान्त कार्यान्वयन गरे । कोलम्बिया आज पनि क्युरीको प्राज्ञिक सिद्धान्तबाट निरन्तर प्रताडित छ । सन् २०१६ को शान्ति सम्झौतापछि पनि कोलम्बियामा यस गोलाद्र्धमै सबैभन्दा ठूलो आन्तरिक विस्थापितहरूको सङ्ख्या रहेको छ ।
जोन मानियार्ड किन्सले लेखेका छन्–आफूलाई कुनै बौद्धिक प्रभावबाट मुक्त रहेको दाबी गर्ने व्यावहारिक मानिसहरू प्रायः केही बेकार अर्थशास्त्रीहरूको सिद्धान्तका दास बनिरहेका हुन्छन् । हावामा बहिरहेको आवाज सुन्ने दाबी गर्ने शासनमा रहेका पागल मानिसहरूले आफूलाई चाहिने जतिमात्र कुरा केही वर्ष र दसक अगाडिका प्राज्ञिक धूर्तहरूबाट छानेर लिइरहेका छन् ।
म्याक्स ब्लुमेन्थल र बेन नोर्टनले आफ्नो लेखमा देखाएझैं गुआइडो त्यस्ता व्यावहारिक मानिस हुन्, झट्ट हेर्दा उनी पूर्वी काराकासको धनी आवास क्षेत्रमा बसोबास गर्ने र संरा अमेरिकी संस्थाहरूले प्रायोजित सडक सङ्घर्षका लडाकू हुन् तर निश्चित रुपमा उनले हर्वार्ड विश्वविद्यालयमा प्राप्त गरेका प्राज्ञिक धुत्र्याइँहरूको प्रयोग गरिरहेका छन् ।
जब ल्याटिन अमेरिकी जनता आफ्नो भाग्य आफै निर्धारण गर्न र आफ्नो स्रोतहरूमाथि आफै नियन्त्रण गर्न अगाडि सर्छन्, ती जनतामाथि दमन गर्नमा त्यस्ता प्राज्ञिक धूर्तहरूको भूमिका उनीहरूका कूटनीतिक र सैन्य समकक्षीहरूको जत्तिकै हुने गर्छ ।
(Inside the Neoliberal Laboratory Preparing for the theft of Venezuela’s Economy)
अनुवादः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *