भर्खरै :

किन बन्द गरियो जिससको एम्बुलेन्स ?

भक्तपुर, २२ फागुन । तत्कालीन जिल्ला विकास समितिले विसं २०५८ सालदेखि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा हालको जिल्ला समन्वय समितिले बन्द गरेको छ ।
समन्वय समिति मातहतमा रहेको बा १ झ ९७४३ नम्बरको एम्बुलेन्स जिल्ला समन्वय समितिले सूर्यविनायक नपा वडा नं ७ गुण्डुको हेल्थपोस्टलाई हस्तान्तरण गरेको छ । सस्तो दरमा बिरामीलाई सेवा दिँदै आएको एम्बुलेन्स सेवा समन्वय समितिले बन्द गर्दा विशेषतः एम्बुलेन्स सेवा नभएका जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएका छन् ।
आफैंले व्यवस्थित सञ्चालन गर्नुपर्ने एम्बुलेन्स जिल्ला समन्वय समितिले अर्को निकायलाई जिम्मा लगाउँदा विगत लामो समयदेखि बहन गर्दै आएको जिम्मेवारीबाट समन्वय समिति पन्छिएको छ । जिल्ला समन्वय समितिमा रहेको सम्पत्ति एउटा वडालाई जिम्मा लगाउनु उचित होइन । बरु जिल्लाले नै सञ्चालन गर्दा जिल्लावासीको सेवा हुने थियो ।
जिल्ला समन्वय समितिको उपादेयतामाथि प्रश्न उठिरहेको अवस्थामा यसप्रकार दिँदै आएको सेवा सुविधा र क्षेत्राधिकारबाट पन्छिदै जाँदा जिल्ला समन्वय समिति जनताको लागि भालुको कम्पटमा सीमित रहने पर्यवेक्षकहरूको भनाइ छ ।
भक्तपुरको जिल्ला समन्वय समितिले कुन आधारमा आफूसँग भएको एम्बुलेन्स सूर्यविनायक नपा वडा नं ७ लाई हस्तान्तरण ग¥यो, त्यसबारे कहींकतै प्रस्ट बताइएको छैन ।
जनताको करबाट खरिद गरेको सम्पत्ति यसरी आफ्नो घरको सम्पत्तिजस्तै कसैलाई हचुवाको आधारमा दिंदा समन्वय समिति आलोचनाको निशाना बन्नु स्वाभाविक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *