भर्खरै :

भक्तपुरको च्याह्मासिंहमा आँखा अस्पताल निर्माण हुने

भक्तपुर, २५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा भक्तपुरको च्याम्हासिंहमा आँखा अस्पताल निर्माण हुने बताउनुभएको छ ।
भक्तपुर नगरपालिका ३ नं. वडा कार्यालय र तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित निःशुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले तिलगंगा आँखा अस्पतालमा उपलब्ध सबै सेवा–सुविधायुक्त आँखा अस्पताल निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो । भक्तपुरको च्याह्मासिंहमा बन्ने उक्त आँखा अस्पतालमा सस्तो र गुणस्तरीय आँखा जाँच र आँखाको शल्यक्रियाको सुविधा हुने उहाँले बताउनुभयो ।
सबै स्वास्थ्य सेवा भक्तपुरमै उपलब्ध गराउने हेतुले आँखा अस्पताल निर्माण गर्न लागेको जानकारी दिंदै उहाँले भक्तपुरका सबै नागरिक स्वस्थ र शिक्षित बनाउन नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
भक्तपुरको इतिहास जोगाउन सम्पदा पुनःनिर्माणमा मौलिक शैलीलाई जोड दिइरहेको उल्लेख गर्दै उहाँले विदेशी सहयोगभन्दा जनताको अपनत्व कायम हुने किसिमले कार्य गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले रोगका पहिचान समयमै भए उपचारमा मद्दत पुग्ने र नगरवासीहरूको हितमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगको निःशुल्क शिविरहरू गर्दै आएको बताउनुभयो । उहाँले आँखा मानव शरीरको महत्वपूर्ण अङ्ग भएको हुँदा नियमित परीक्षणमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
कार्यपालिका सदस्य सुनिता अवालले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला–संस्कृति संरक्षण, सरसफाइलगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
यसैबीच शनिबार भक्तपुर नगरपालिकाअन्र्तगत महिला स्वास्थ्य स्वयम्सेविका र नर्स परिचालन समिति भक्तपुर नपा ६ वडाको आयोजनामा निःशुल्क सुगर, प्रेसर र मृगौला परीक्षणसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विगतका वर्षमा स्वास्थ र सरसफाइमा ध्यान नदिनाले झाडाबान्ताजस्ता अनेक रोगहरूले र अहिले जनताले सरसफाइमा ध्यान दिएकोले त्यस्ता किसिमका रोगहरू घटे पनि खानपानमा ध्यान नदिनाले, शारीरिक व्यायामको अभावमा सुगर, प्रेसर र मृगौलाको समस्याले सताउने रोगहरूले सताउने गरेको छ भन्नुभयो ।
भ.न.पा. वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । वडाध्यक्ष सुवालले स्वास्थ्य शिविरले जनताको स्वास्थ्य समस्या कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं ६ का वडा सदस्य गोविन्द दुवालले रोग हामी सबैको ठूलो शत्रु भएकोले समयमै सचेत रहन अनुरोध गर्नुभयो ।
शिविरबाट ४६४ जना नागरिकले सेवा प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *