भर्खरै :

जेसिस इङ्गलिस स्कूलको ४० औं वार्षिकोत्सव

भक्तपुर, २६ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा ऐन बनाई सामुदायिक र संस्थागत विद्यालयबीचको गुणस्तरको भिन्नता हटाउन शिक्षक–शिक्षिकाहरूलाई विभिन्न तालिमहरू सञ्चालन गरिरहेको बताउनुभएको छ ।
जेसिस इङ्गलिस स्कूलको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम र दक्ष जनशक्ति तयार गर्नुपर्ने, विद्यार्थीलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने, समाजसँगै घुलमिल हुने व्यवहारिक र नैतिक शिक्षामा जोड दिनुपर्ने र व्यक्तिगत स्वार्थभन्दा समाजको सेवा गर्ने उद्देश्यबाट विद्यार्थीलाई अभिप्रेरित गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई प्रचलित लिपि, संस्कृत भाषा, नेपालभाषा, नेपाली भाषा र देशको कला संस्कृति संरक्षणलगायतका विषयमा पोख्त पार्नु आजको आवश्यकता भएको बताउनुभयो । देशको सम्पदा संरक्षणको दायित्व सबैको साझा कर्तव्य भएको बताउँदै उहाँले देशको कुनै पनि सम्पदा संरक्षण र पुनःनिर्माणमा सहयोग गर्न भक्तपुर नगरपालिका सकारात्मक भएको बताउनुभयो ।
जेसिस स्कूलका पूर्वप्रिन्सिपल तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले विद्यालय स्थापना र उद्देश्यबारे स्पष्ट पार्दै विद्यालय स्थापनामा भक्तपुर नगरपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले विद्यार्थीहरूलाई देशको सेवा गर्न प्रेरित गर्नुपर्ने, कुलतबाट जोगाउनुपर्ने बताउँदै धेरै सङ्ख्यामा युवाहरू विदेशिँदा देश विकासमा बाधा पुगेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिंँदै वर्तमान सरकारले तल्लो वर्गका जनताको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेको धारणा राख्नुभयो ।
जेसिस माविका प्रिन्सिपल जयराम गोर्खालीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रामेश्वर भुजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष चन्द्र अधिकारी, संस्थापक प्रिन्सिपल शिवजी श्रेष्ठले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थी तथा विभिन्न प्रतियोगिताका विजयीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूद्वारा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *