भर्खरै :

लुफ्थान्सालाई जहाज मर्मतसम्बन्धी ठेक्का दिन निर्देशन

–अशोक घिमिरे 
काठमाडौँ, २७ फागुन (रासस)ः संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ ।
समितिको आजको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो । जर्मनीको लुफ्थान्सा कम्पनीले पेश गरेको न्यून शुल्कमा जहाज मर्मतसम्बन्धी प्रस्तावले जहाजको इञ्जिन मर्मतसम्बन्धी सेवा समेट्न नसकेको भनेर निगमले ‘एजे वाल्टेर युके’लाई सेवा प्रदान गर्ने कम्पनीका रुपमा छनोट गर्न सिफारिश गरेको थियो । उक्त कदमले निगमलाई ठूलो आर्थिक नोक्सानी पुग्ने देखिएको ठहर गरी समितिले त्यसअघिको न्यून बोलकबोल गर्ने कम्पनी लुफ्थान्सालाई नै छनोट गर्न निगमलाई निर्देशन दिएको छ ।
निगमको एयरबस ए ३३०–२०० जहाज मर्मतका लागि आह्वान गरिएको ‘पावर आई आवर’ विषयको बोलपत्रका क्रममा प्राप्त चार कम्पनीको प्रस्ताव मूल्याङ्कनबाट प्राविधिक रुपमा प्रभावग्राही नभएर हटाइएको लुफ्थान्साको प्रस्ताव नै निगमका लागि आर्थिकरुपमा फाइदा हुने देखिएकाले पुनः सोही प्रस्तावलाई मूल्याङ्कन गर्न उचित हुने समितिले ठहर गरेको छ । निमगको जहाज मर्मत गर्न न्यून बोलकबोल गरेको लुफ्थान्सा कम्पनीले पेश गरेको प्रस्ताव थप मितव्ययी देखिएको समितिको निष्कर्ष छ । उक्त कम्पनीको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरीद ऐन, २०६३, सार्वजनिक खरीद नियमावली, २०६४ र निगमको आर्थिक विनियमावलीअनुरुप रहेको देखिएको हुँदा उक्त कम्पनीले गरेको प्रस्तावलाई पुनःमूल्याङ्कन गरी बोलपत्र प्रक्रियालाई निरन्तरता दिन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *