भर्खरै :

भाज्या पोखरीबारे विज्ञहरूबीच अन्तरक्रिया

भक्तपुर, २७ फागुन । भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ स्थित ऐतिहासिक भाज्या (भाजु) पोखरी जीर्णोद्धारबारे इतिहासविद्, संस्कृतिविद्, संरक्षणविद्, पुरातत्वविद्, विज्ञ तथा इन्जिनियरहरूबीच सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको जीर्णाेद्धार, पुनर्निर्माण गरी संरक्षण गर्ने अभियानको क्रममा भनपाले प्राप्त सत्य तथ्यको अध्ययन, अनुसन्धान र खोजीनीति गरी भाज्या पोखरीको जीर्णोद्धार गर्ने लक्ष्यअनुरुप सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले प्राप्त प्रमाणका सामग्रीको आधारमा मौलिक शैलीमा भाज्या पोखरीको जीर्णाेद्धार गर्नुपर्नेमा जोड दिँदै सत्य तथ्यको प्रस्ट्याइँसहित ग्रन्थ नै प्रकाशन गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
पोखरी, जङ्गल, पर्तीजस्ता सार्वजनिक सम्पदा र जग्गा व्यक्तिको नाउँमा दर्ता भइरहेकोमा चिन्ता व्यक्त गर्दै सांसद सुवालले उच्च पदमा रहेका व्यक्तिहरूले सार्वजनिक सम्पदा हडप्ने काममा हात हाल्दा सम्पदा संरक्षणमा समस्या भइरहेको बताउनुभयो ।
देशका विभिन्न सहर र स्थानमा भक्तपुरका कालिगढहरू पुगेर सम्पदा संरक्षणमा टेवा पु¥याइरहेको उल्लेख गर्दै उहाँले संरक्षणको अभावमा कति पोखरीहरू भासिएको र पुरिएको हुँदा भाज्या पोखरी संरक्षण गर्नु उपयुक्त हुने औँल्याउनुभयो ।
पुर्खाले सिर्जेका सम्पतिहरू सभ्यताको प्रतीक भएको हुँदा संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ९९ चोकलाई पुनजीर्वित गर्नुपर्ने खाँचो छ, जगन्नाथ क्षेत्रको पनि उत्खनन गर्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भनपाले जनताको नजिकको सरकार सम्झी उल्लेखनीय काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
पुरातत्व विभागका पूर्वनिर्देशक भेषनारायण दाहालले शिवको मूर्ति वरिपरि राखेर इँटाले बनेको शिखर शैलीको मन्दिर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै नपाले अध्ययन, अनुसन्धान र उत्खनन गराएर ज्यादै राम्रो काम गरेको बताउनुभयो ।
गुठी संस्थान केन्द्रीय कार्यालयका निर्देशक मीनराज चौधरीले कपिलवस्तुको किलाझैं प्राप्त इँटाकै आकार र संरचनामा मन्दिर बनाए प्राचीन मौलिक शैली झल्कने विचार राख्नुभयो ।
संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगले यहाँको संस्कृति, सम्पदा र सभ्यताकै कारण यहाँका सम्पदाहरू विश्व सम्पदामा सूचिकृत भएको चर्चा गर्दै अध्ययन, अनुसन्धानमा भाषा शास्त्रीको दृष्टिकोण र भाषिक संस्कार र संस्कृतिलाई पनि उजागर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रा.डा. मोहनमूर्ति पन्थले १२ औँ शताब्दीका अन्य मौलिक शैलीका सम्पदाहरूको अध्ययन गरी त्यसको आधारमा पोखरी र पोखरीको मध्य भागमा रहेको मन्दिर निर्माण गर्दा विश्वसनीयता बढ्ने विचार व्यक्त गर्नुभयो ।
गुठी संस्थानका पूर्वनिर्देशक लक्ष्मणराज ज्ञवालीले सिम्रौनगढको पनि अध्ययन, अनुसन्धान गरेर भाज्या पोखरीमा शिखर शैलीको मन्दिर पुनःनिर्माण गर्दा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
इतिहासविद् एवम् अध्ययन कार्यदलका संयोजक प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै प्राप्त सामग्रीको आधारमा भाज्या पोखरी र मन्दिर १८ औँ शताब्दीको होइन १२ औँ शताब्दीको रहेको बताउनुभयो ।
पोखरीको मध्य भागमा रहेको इँटै इँटाले बनेको शिखर शैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको विचार व्यक्त गर्दै उहाँले भाज्या पोखरी काठमाडौँको रानीपोखरीभन्दा पाँच सय वर्ष पुरानो रहेको अध्ययन अनुसन्धानले देखाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले पुरातात्विक र ऐतिहासिक महत्व बोकेको सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै प्राप्त प्रमाण र तथ्यको आधारमा उपभोक्ता र अमानतमार्फत मौलिक शैलीमा मन्दिर निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
पुरातत्वविद्, संरक्षणविद्, सम्पदाविद् र इतिहासविद्को सुझाव र सल्लाह समेटी बन्ने कार्यदलको प्रतिवेदन महत्वपूर्ण दस्तावेज बन्ने विचार राख्दै प्रमुख प्रजापतिले भन्नुभयो “जिम्मेवारीबोध भएरै सम्पदा संरक्षण गरिरहेको हो, जनशक्तिको अभाव देखेर शिल्पकलाको तालिम दिइरहेको छ ।”
भनपाका उपप्रमुख रजनी जोशीले बहुउद्देश्य बोकेको पोखरीलाई जीर्णोद्धार, पुनःनिर्माण गरेर जीवन्तता दिएर संरक्षण गरिरहेको बताउनुभयो ।
अन्तरक्रियामा प्रेमसिंह बस्नेत, गुठी संस्थाका प्रमुख हरि सुवेदी, स्मारक संरक्षण कार्यालयका प्रतिनिधि कल्पना प्रजापति र वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *