भर्खरै :

बीआरआईमा नलाग्न युरोपलाई अमेरिकी दबाब

रोम, १२ मार्च । संरा अमेरिकाले युरोपेली देश इटालीलाई चीनको बेल्ट एण्ड रोड परियोजनामा समर्थन नगर्न दबाब दिएको खुलासा गरेको छ । चीनद्वारा प्रस्तावित परियोजनालाई संरा अमेरिकाले ‘निरर्थक परियोजना’ को संज्ञा दिएको छ । संरा अमेरिकी राष्ट्रपति कार्यालयसम्बद्ध अधिकारी गारेट मार्किसले इटालीले सो परियोजनालाई समर्थन गर्दा त्यसले विश्वव्यापी वैधता पाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
“इटाली विश्वको प्रमुख अर्थतन्त्रमध्ये पर्दछ । साथै संसारकै प्रमुख लगानी गन्तव्य हो । चीनको त्यो निरर्थक परियोजनालाई इटालीले वैधानिकता दिन जरुरी छ ।”, मार्किसले ट्वीटरमा लेखेका छन् ।
चीनको विश्वव्यापी प्रभाव नियन्त्रण गर्न जोडतोडका साथ लागिरहेको संरा अमेरिकी प्रशासनले आर्थिक सङ्कटबाट उकासिन चीनसँग सहकार्य गर्न अघि बढेको इटालीको गतिविधि रुचाएको थिएन ।
अमेरिकी अधिकारीले चीनको सो परियोजनाबाट इटालीका जनतालाई खासै कुनै फाइदा नहुने बरु दीर्घकालीनरूपमा यसले इटालीको विश्वव्यापी प्रतिष्ठामा आँच पु¥याउने दाबी गरेका छन् ।
इटालीमाथि मात्र होइन, संरा अमेरिकी सरकारले आफ्नो मोर्चाका अन्य देशलाई समेत चीनको परियोजनामा समर्थन नगर्न दबाब दिंदै आएको छ । इटालीका प्रधानमन्त्री गिसेप कोन्टेले यो महिनाको अन्त्यतिर चीनका राष्ट्रपति सी चिनफिङसँग साझेदारी सम्झौतामा हस्ताक्षर हुनसक्ने भनाइ सार्वजनिक भएसँगै उच्चपदस्थ अमेरिकी अधिकारीबाट यस्तो भनाइ सार्वजनिक भएको हो ।
“सबै प्रकारका आवश्यक सावधानीको ख्याल गरी इटाली नयाँ रेशम मार्ग परियोजनामा सामेल हुँदैछ । यसो गर्नु इटालीको लागि फाइदाजनक छ ।” इटालीका प्रधानमन्त्री कोन्टेले भने ।
चीनका राष्ट्रपति सी आगामी मार्च २२ देखि २४ सम्म इटालीको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री कोन्टेले आगामी अप्रिलमा चीनको राजधानी पेइचिङमा हुने बेल्ट एण्ड रोड शिखर सम्मेलनमा पनि सहभागी बन्न मनसाय व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *