भर्खरै :

बिग्रेका सडक

बाटो बनाउन थालेको वर्षौं बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा काठमाडौँ उपत्यकालगायत देशैभरिका जनताले दुःख र अस्वस्थकर वातावरण भोगिरहनु परेको छ । वर्षायाममा हिलो र अरू बेला धुलोको मारले विशेषतः काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जनता निकै मारमा परेका छन् । दैनिक दसौं हजारको सङ्ख्यामा गाडी गुड्ने कलङ्की–नागढुङ्गा सडक बनाउन थालेको वर्षौं बितिसक्दा पनि अझै पनि पूर्णता नपाउँदा सो क्षेत्रका जनताको जीवन अस्तव्यस्त बनेको छ । स्वास्थ्यमा प्रतिकूल असर पर्नेमात्र नभई कहींकतै जानुपर्दा पनि धुलाम्य जानुपर्ने बाध्यता छ । बटुवा र मोटरसाइकलमा आवातजावत गर्ने सर्वसाधारणको यात्रा निकै कष्टकर हुने गरेको छ ।
पर्यटकीय गन्तव्यस्थल नगरकोट जाने बाटो बन्न थालेको वर्षौं भइसकेको छ । सत्तासीन दल नेकपाका एकजना अध्यक्ष प्रचण्डका घरबेतीले ठेक्का पाएको सो सडकको निर्माण कार्य अझै सम्पन्न भएको छैन । नगरकोटको प्राकृतिक सौन्दर्य हेर्न जाने पर्यटक भने मुखैभरि धुलो पोतेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि साङ्गासम्म दुवैतिर बाटो चौडा बनाउने क्रम चलिरहेको छ । तर, दैनिक हजारौँ हजार साना–ठूला गाडी चल्ने राजमार्ग निर्माण कार्य तीव्र नबन्दा यात्रु मर्कामा मात्र परेका छैनन्, बरू सवारी दुर्घटनाको सम्भावना पनि बढ्दो छ ।
काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था झल्काउने यी केही उदाहरणमात्र हुन् । निर्माण थालनी भएको वर्षौं बितिसक्दा पनि बाटो भत्काउने कामबाहेक केही नभएपछि आक्रोशित स्थानीय जनताले सडक अवरोध गरेर पनि सरकारलाई दबाब दिने गरेका छन् । तर, ठेकेदारसामु लाचार सरकारले केही पनि लछारपाटो लगाउन सकेको छैन ।
सडक कुनै पनि सहरको शोभा हुने गर्दछ । सुन्दर सहरको परिचय नै सुन्दर सडक हुने गरेको छ । सफा, सुरक्षित र वातावरणीयरूपमा सुन्दर सडक त्यो स्थानमा मानिसको परिचय र गौरव हो । विदेशीहरूले कुनै पनि देशप्रतिको प्रभाव आधारभूत रूपमा सडकमार्फत गर्छन् । तर, नेपालको राजधानीका अधिकांश सडकको दुरवस्थाको कारण नेपालको परिचय नै संसारसामु अस्तव्यस्त देश बन्नेछ । सडक निर्माणको थालनी भएपछि त्यसलाई यथाशीघ्र सम्पन्न गर्नुपर्छ । निर्माण अवधि जति लामो हुन्छ, त्यत्ति नै सरकारी कोषको अपव्यय हुने गर्दछ । साथै जनताले पनि दुःख पाएका हुन्छन् । बिगे्रका सडकमा सवारी साधन गुडाउँदा गाडी पनि बिग्रने गर्दछ । धुलाम्य बाटोले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गर्दछ ।
सरकारले सडक निर्माणका ठेक्का पाएका ठेकेदारलाई सम्झौताअनुसार काम सम्पन्न गर्न दबाब दिन नसक्दा वा नबनाउँदा कारबाही नगर्दा लापरबाही हुन थालेको हो । समयमै काम गर्न नसकेका ठेकेदारले सत्तासीन राजनीतिक नेतृत्वको छायामा ओत लाग्ने गरेका हुन्छन् । कारबाहीबाट जोगिन उनीहरूले यसरी राजनीतिक नेतृत्वको शरण लिने गरेका हुन्छन् । शासक दललाई पनि शासनमा आफ्नो दबदबा कायम राख्न ठेकेदारहरूकै सहारा लिने गर्छन् । यस्तो सम्बन्धकै कारण राज्यको कोषबाट ठेकेदार र शासक दलका नेताहरू धनी बनेका छन् । देशको समृद्धि भने बिग्रेका सडकमा उडेको धुलोसँग फुङ्ग उडिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *