भर्खरै :

आर्थिक समानता नभएको समाजमा श्रमिक महिला अझ पीडित

भक्तपुर, २ चैत । “पुँजीवादी व्यवस्थाविरूद्ध सम्पूर्ण काम गरी खाने महिलाहरूले सङ्घर्ष नगरी हुन्न । समाजवादी व्यवस्थाको निम्ति निरन्तर सङ्घर्ष गरी अघि बढ्नुपर्ने आजको आवश्यकता हो । आर्थिक समानता नभएको समाजमा श्रमिक महिलाहरूले अझ बढी दुःख पाउँछन् । देश र जनताको सेवा गर्ने भावनासहित राजनीतिमा श्रमिक महिलाहरू अघि बढेको खण्डमा श्रमिक महिलाहरूलाई स·ठित पारी आमूल परिवर्तन र सङ्घर्षको बाटोमा हिँड्न अझ सहज हुन्छ ।”
१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ पाँचौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नारायणमान बिजुक्छें (रोहित) ले उक्त भनाइ राख्नुभएको हो ।
उहाँले जोड दिँदै भन्नुभयो, “महिला प्रतिनिधित्वको नाममा आरक्षण प्रणाली गलत छ । यसले महिलाहरूको योग्यता बढाउनेभन्दा पनि कमजोर बनाउँछ । समाज परिवर्तनको गतिलाई रोक्छ ।”
पुँजीवादी व्यवस्थाले श्रमिक महिलाहरूलाई पछाडि ढकेल्न विभिन्न उपाय खोज्ने बताउँदै अध्यक्ष रोहितले भन्नुभयो, “अन्धविश्वासले महिलाहरूको वृत्ति विकासलाई रोक्छ । अस्तित्वमै नभएको अर्थात् हुँदै नभएको कुरामा विश्वास गर्नु अन्धविश्वास हो । बोक्साबोक्सीको प्रथा एउटा उदाहरणमात्रै हो । महिलालाई अन्धविश्वासविरूद्ध लड्न शिक्षा दिनुपर्दछ ।”
आजको आवश्यकता भनेको वर्गीय आन्दोलनलाई उठाउनु हो । त्यसको लागि कामदार वर्गका महिलाहरूलाई सैद्धान्तिक रूपमा पोख्त बनाउनुपर्दछ । महिलाहरूको सांस्कृतिक स्तर उकास्न छलफल, अन्तरक्रिया, गोष्ठी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्दछ, उहाँले भन्नुभयो ।
“समाजमा निजी क्षेत्र हावी हुनु पुँजीवाद बलियो हुनु हो । १३ रूपैयाँको औषधि ९० रूपैयाँ तिनुपर्ने बाध्यता जनतालाई छ । पुँजीवादको ठूलो मार श्रमिक महिलाहरूमाथि परेको छ । त्यसकारण यसविरूद्ध निरन्तर सङ्घर्ष गर्न आवश्यक छ ।” अध्यक्ष रोहितले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता दिने प्रावधानसहितको ऐन गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल–भारत खुला सीमा भएको हुँदा पितृत्व र मातृत्व ठेगान नभएकालाई वंशजको नेपाली नागरिकता दिने अहिलेको संवैधानिक प्रावधान नेपालको हितमा छैन । बुबा पहिचान नभए पनि वंशजको नेपाली नागरिकता दिने संवैधानिक र ऐनको प्रावधानले सामाजिक विकृति बढाउने खतरा छ ।”
गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने कानुन तत्काललाई बनाउनु उचित नभएको स्पष्ट पार्दै सांसद सुवालले भन्नुभयो, “नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लि·को महलमा पुरूष वा महिलाबाहेक अन्य पनि उल्लेख गर्ने प्रावधान छ । चिकित्सा विज्ञानले प्रमाणित नगरेको लि·को पहिचान उल्लेख गर्नुहुँदैन । नेपालजस्तो गरिब देशमा शल्यक्रिया गराई लि· परिवर्तन भएकालाई नागरिकतामा पनि सोहीबमोजिम परिवर्तन गरिदिने प्रावधान तत्काललाई आवश्यक छैन ।”
उहाँले भन्नुभयो, “नेपालीसँग विवाह गरेका विदेशी महिला वा पुरूषलाई विदेशको नागरिकता त्यागेको प्रमाणित नगराई नेपाली नागरिकता दिनुहुँदैन । अ·ीकृत नेपाली नागरिकता लिएकालाई पदाधिकारीमा लाने गरी संविधान संशोधन गर्नुहुँदैन । मधेस एक प्रदेश बनाउने गरी संविधान संशोधन गर्नु हुँदैन ।”
“नेपालको संविधान, २०७२ मा दलको नाम, उद्देश्य, चिह्न वा झण्डा देशको एकतामा खलल पर्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको हुन नहुने प्रावधान छ तर ओली सरकारले स्वतन्त्र मधेश गठबन्धन नामको पार्टीसँग असन्तुष्टि जनअभिमतद्वारा समाधान गर्ने गरी सहमति ग¥यो । यसकारण यो सहमति संविधानविपरीत छ ।” उहाँले भन्नुभयो ।
सरकारमा गएका पार्टीहरू देशभित्रका भ्रष्टाचारी, कमिसनखोर, गुण्डागर्डीहरू र देशबाहिरका विस्तारवादी र साम्राज्यवादीहरूको प्रभाव परेको चर्चा गर्दै सचिव सुवालले दर्शन र सिद्धान्तभन्दा पनि निर्वाचनमा पैसाको छेलोखेलो गर्ने र गुण्डागर्दी गर्ने पार्टीहरू धेरै स्थानमा जित्नु र सरकार उनीहरूकै गठन हुनुले नेपाली जनताले दुःख पाएको बताउनुभयो ।
सरकारमा गएका पार्टीहरूको नाम फरक छ । तर, काम एउटै भ्रष्टाचार र निजीकरण, गर्ने, विदेशी लगानी ल्याउने नाममा देशको उद्योग व्यापार समाप्त पार्ने र उपनिवेश बनाउने नै हो, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई नेपालको कम्युनिष्ट आन्दोलनसँग जोडेर अघि लानुपर्नेमा जोड दिनुभयो ।
समाजवादी व्यवस्थामा मात्र श्रमिक महिलाहरूले साँचो अर्थमा न्याय र सुख पाउने हुँदा समाजवादी व्यवस्था निर्माणका निम्ति श्रमिक महिलाहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय जगतमा भएका कम्युनिष्ट आन्दोलन, मजदुर आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन, उपनिवेशवादविरोधी आन्दोलन, साम्राज्यवादविरोधी आन्दोलनहरूमा क्रान्तिकारी महिला अगुवाहरूको योगदानबारे उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका प्रतिनिधि नारायणबहादुर दुवालले महिलाहरू राजनीतिक रूपमा सचेत र स·ठित रहनुपर्ने विचार राख्नुभयो ।
आयोजक समितिका संयोजक सृजना सैंजूको सभापतित्वमा भएको कार्यक्रममा देविका दनेखू र सरस्वती सिंख्वालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा इन्जिनियर समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले ‘कम्युनिष्ट घोषणापत्रमा के छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *