भर्खरै :

परिश्रमको कमी र खानपिन नमिल्दा स्वास्थ्य समस्या बढ्दो

भक्तपुर, २ चैत  । भक्तपुर नपा ४ नं वडा स्वास्थ्य समितिको आयोजनामा शनिबार मिर्गाैला, मधुमेह, उच्च रक्तचाप, युरिन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर भयो ।
शिविर उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले स्वस्थ नागरिकबाट मात्र सभ्य सुसंस्कृत समाजको परिकल्पना गर्न सकिने बताउनुभयो । शारीरिक परिश्रमको कमी र खानपिनमा नियन्त्रण नहुनाले नगरवासीहरूमा विभिन्न रोगहरू देखा परेकोले समयमै स्वास्थ्य उपचार गर्न स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । नगरपालिकाले नगरका सबै वडाहरूमा स्वास्थ्य शिविर सञ्चालनबाट नगरवासीहरू धेरैजना लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले वडा – वडामा शारीरिक व्यायाम गर्न व्यायामशालाको व्यवस्था गरिएको चर्चा गर्नुभयो ।
स्वास्थ्य समिति सल्लाहकार उपेन्द्र सुवालले नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यलाई पूरा गर्न ख्वप विश्वविद्यालयको स्थापनाका लागि नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको बताउँदै शिविर सञ्चालनबाट वडावासी स्वस्थ र निरोगी जीवन यापन गर्नसक्ने विचार व्यक्त गर्नुभयो ।
भनपा कार्यपालिका सदस्य एवं ४ नं वडा स्वास्थ्य समिति संयोजक कृष्णलक्ष्मी दुवालको सभापतित्वमा भएको शिविरमा वडा सदस्य राजेन्द्र माक, स्वास्थ्य समिति सदस्यद्वय कृष्णगोविन्द दुवाल, न्हुछेराम भेले, स्वास्थ्यकर्मी बिमला कुम्पाख, स्थानीय हरिसुन्दर सुवाललगायतले बोल्नुभएको थियो । शिविरमा करिब ५०२ जना वडावासीले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *