भर्खरै :

भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो – ४

निकोलस माडुरोसँग अन्तर्वार्ता
बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः
ग्युरिनः तपाईँलाई सेनाको समर्थन अझै छ भन्ने कुरामा तपाईँलाई कति विश्वास छ ? सेनाभित्र एकप्रकारको त्रास व्याप्त छ । तपाईँको विरोधमा बोल्ने कोही पनि मानिसलाई जेल कोचिएको छ ।
माडुरो ः मविरुद्ध चलिरहेको प्रचार अभियानले बनाएको यो अर्को मिथक हो । भेनेजुयलाको राष्ट्रिय बोलिभारियाली सशस्त्र सेना संरचनागतरूपमै मानवतावादी छ । उनीहरू बोलिभारियाली छन् । प्रजातान्त्रिक छन् । संरचनागत रुपमा संस्थागत छन् । आफ्नै मूल्य र नयाँ चिन्तनमा बनेको सेना हो त्यो । प्राध्यापकहरूबाट पढाइने र नियमित शिक्षणको परिपाटी बनेको सेना हो भेनेजुयलाको राष्ट्रिय सेना । यो नयाँकिसिमको सशस्त्र फौज हो । जथाभावी मानिसको समूहले बनेको सेना होइन भेनेजुयाली राष्ट्रिय सेना । वास्तवमा यो सेना सेनामात्र पनि होइन न त यो विद्रोही सेना नै हो । यो पिनोचे (चिलीका पूर्वतानाशाह) शैलीको सेना होइन । न यो त्यस्तो बन्ने नै छ । यो सेना भेनेजुयलाको संविधानप्रति वफादार सेना हो । संविधानप्रति दृढतापूर्वक वफादार सेना । सुरक्षामा परिचालित । देशको रक्षाको लागि आफूलाई सदा तयार राख्ने सेना । उच्च नैतिक मूल्य मान्यता बोकेको सेना । उनीहरू सिद्धान्तनिष्ठ छन् । उनीहरू संविधानले देखाएको आफ्नो प्रधानसेनापतिप्रति बफादार छन् । यतिबेला उनीहरूको प्रधानसेनापति बनेको निकोलस माडुरो हो । भेनेजुयलाको संविधानअनुसार म नै यतिबेलाको राष्ट्रप्रमुख र सरकार प्रमुख हुँ । म नै प्रधानसेनापति हुँ । उनीहरू वफादार छन् किनभने उनीहरूमा विवेक छ र नैतिकवान् छन् । उनीहरू विद्रोही सेना होइनन् । उनीहरू सेरा अमेरिका, डोनाल्ड ट्रम्प साम्राज्यको स्वार्थको सेवा गर्ने सशस्त्र सेना होइन । डोनाल्ड ट्रम्पले ट्वीटरमा आदेश दिएका छन् । यो पत्याउनै गा¥हो कुरा छ, ग्युरिन । डोनाल्ड ट्रम्प, जोन बोल्टन, माइक पम्पेओ, माइक पेन्स– उनीहरूले भेनेजुयलाको सेनालाई आफ्नो देशका राष्ट्रपतिविरुद्ध विद्रोह गर्न आदेश दिएका छन् । यो त हद पार गरेको अवस्था हो नि । मलाई लाग्छ, आजसम्म संसारका कुनै पनि देशको सन्दर्भमा यस्तो सीमा पार गरिएको थिएन । तर, सेना अहिले कहाँ छ ? के उनीहरू डोनाल्ड ट्रम्पको आदेश माने ? अहँ गएनन् । सेना वफादार छन् । आफ्नो देश र संविधानप्रति उनीहरू वफादार छन् र आफ्नो प्रधानसेनापतिलाई वैधानिक प्रमुख मानेका छन् । कमाण्डर ह्युगो चाभेजको समयदेखि नै यो तहको सम्बन्ध कायम हुँदै आएको हो । त्यसकारण यो सम्बन्ध निकै गहिरो, इमानदार र सबै सैनिक अधिकारी, सेना र सिपाहींहरूबीचको वस्तुगत सम्बन्ध हो । अनि यो नै हाम्रो देशको सबभन्दा बलियो शक्ति हो ।
ग्युरिनः ह्युगो चाभेजले आजको भेनेजुयला देखेका भए के भन्नुहुन्थ्यो होला ?
माडुरोः जसरी पहिला आफ्नो देशको लागि लड्न उनी उत्प्रेरित हुने गर्दथे, त्यसरी नै उत्पे्ररित हुने थिए । सन् २००२ को अप्रिल ११ र १२ मा तत्कालीन जर्ज डब्ल्यु बुश सरकारले चाभेजविरुद्ध सत्ताविप्लव गराउन यस्तै प्रयास गर्दा उनले यस्तो प्रकारको चुनौतीको सामना गर्नुपरेको थियो । उनलाई अपहरण गरिएको थियो । उनीहरूले चाभेजको हत्या गर्ने योजना बनाएका थिए । तर, चाभेज एक सेकेण्डको लागि पनि आँत्तिएनन् । आफ्नो सिद्धान्त जोगाउन कति पनि हरेश खाएनन् । आफ्नो आदर्श जोगाउन र जीवनको लागि लड्न कति पनि पछि सर्नुभएन । त्यसैकारण चाभेज हाम्रो लागि ठूलो प्रेरणाका स्रोत हुनुहुन्छ । म पनि सधैं सोच्छु–यस्तो अवस्थामा चाभेज भइदिए के गर्नुहुन्थ्यो होला ? त्यही प्रश्नले मलाई अगाडिको सही बाटोमा हिंड्न मद्दत गर्दै आएको छ । हरेक दिन के गर्ने भन्ने विषयमा निक्र्यौल गर्न मद्दत गर्दै आएको छ ।
ग्युरिनः एउटा अन्तिम प्रश्न । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलोम्बियाको सिमानामा ५ हजार सेना तैनाथ गरे तपाईंले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
माडुरोः उनले चाहे ५ हजार किन, लाखौं सेना राख्न सक्छन् । कोलोम्बियाको सिमानाभित्र भए उनले लाखौँ ट्याङ्क ल्याउन सक्छन् । लाखौँ लडाकू विमान र लाखौँ लाख सिपाहीँ ल्याउन सक्छन् । यसमा केही समस्या छैन । कोलोम्बियाको सिमानाभित्र बसेसम्म कुनै समस्या हुनेछैन । हामी भेनेजुयलाको रक्षा गर्छाैँ र उनीहरूलाई भेनेजुयलाप्रति सम्मान गर्नुपर्ने बनाउँछौँ । संसारको विवेकले र संसारका उत्पीडित जनताको एकताले डोनाल्ड ट्रम्पको हात बाँध्नुपर्छ । ल्याटिन अमेरिकामा नयाँ युद्ध सुरु गर्न डोनाल्ड ट्रम्पलाई रोक्नुपर्छ । म संसारभरका सबै जनतालाई विचारधाराभन्दा माथि उठेर विवेकपूर्वक सक्रिय ऐक्यबद्धताको लागि आह्वान गर्छु । भेनेजुयलामा युद्ध हुन नदिऔं । भेनेजुयलामा हमला हुन नदिऔँ । सबैले डोनाल्ड ट्रम्पलाई भनौं–भेनेजुयलाबाट हात झिक । भेनेजुयला शान्ति, अमनचयन र खुसी चाहन्छ ।
ग्युरिनः बिनाअनुमति कुनै पानीजहाज भेनेजुयलाभित्र आए के तपाईंहरू गोली हान्नुहुन्छ ? कुनै विमान बिनाअनुमति भित्र पसे के तपाईँ आक्रमण गर्नुहुन्छ ?
माडुरोः उनीहरूले हामीबाट चोरेको डलर राखेर पानीजहाज पठाउनुपर्छ । ८० टन हाम्रो सुनसहितको पानीजहाज पठाउनुपर्छ । पैसा राखिएको पानीजहाज आओस् । हाम्रो पैसाले भरिएको जहाज । त्यो पैसाले हामी हाम्रो देशका समस्या समाधान गर्ने थियौँ ।
ग्युरिनः भोकोले पिरोलिएका मानिसहरू, खानेकुरा नपाएका मानिस, स्वास्थ्य सेवा पाउन नसकेका मानिस, इन्धन नपाएर आत्तिएका मानिसहरूलाई तपाईं यतिबेला के भन्नुहुन्छ ?
माडुरोः मैले केही भन्नुभन्दा पनि उनीहरूको लागि केही गर्छु । म रोजगारी सिर्जना गर्नेछु । निवृत्तिभरण व्यवस्था गर्नतिर लाग्नेछु । भेनेजुयलाका परिवारको रक्षाको लागि काम गर्नेछु, यो कामलाई निरन्तरता दिनेछु । चरम गरिबी घटाउन मिहिनेत गर्नेछु । सन् २०१७ देखि २०२५ भित्रमा गरिबीलाई शून्यमा पु¥याउने हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ र हामी त्यो उपलब्धि हासिल गर्नेछौँ । हामी के गर्नेछौँ, तपाईँले देख्नुहुनेछ ।
ग्युरिनः अब अन्तिम प्रश्न । भेनेजुयलामा आजभोलि चिज किलोको कति पर्छ तपाईंलाई थाहा छ ?
माडुरोः त्यो त क्षेत्रअनुसार फरक फरक छ ।
ग्युरिनः हामीलाई बताइएअनुुसार भेनेजुयलामा एक किलो चिजको मूल्य एक महिनाको तलब बराबर हुन आउँछ ।
माडुरोः हामीकहाँ तलबको दर फरक–फरक छ । यो नितान्त भेनेजुयलाको मामिला हो ।
मलाई लाग्छ, तपाईँका दर्शकलाई यो विषयमा कुनै चासो होला । तर, हेर्नोस्, यदि हामीसँग भेनेजुयाली जनताको रोजगारी, सामाजिक सुरक्षा, सार्वजनिक स्वास्थ्य र सार्वजनिक शिक्षाको तुलना गर्ने समय भएको भए तपाईँका दर्शकले यो विषयमा अझ प्रस्ट कुरा बुझ्नुहुने थियो । आजलाई यतिमात्र भनौँ, भेनेजुयलामा हामीसँग रोजगार सिर्जना गर्ने सामाजिक सुरक्षा नीति छ । भेनेजुयाली जनताले आफ्ना समस्या आफ्नै तरिकाले प्रगतिशील तरिकाबाट समाधान गर्दै जानेछ । त्योबाहेक उनीहरूले केही चाहेका छैनन् । म तपाईँलाई यो प्रस्ट पार्न चाहन्छु ।
ग्युरिनः तपाईँले बेलायतका विपक्षी दलका नेता जेरेमी कोरबनबारे यो सङ्कटको बारेमा सुन्नुभएको छ ? तपाईंलाई उहाँले पुग्दो सहयोग नगरेको जस्तो लाग्छ ? विगतमा उनी भेनेजुयलाका बलिया समर्थक थिए ।
माडुरोः अहँ । उहाँसँग मेरो कुरा भएको छैन ।
ग्युरिनःके तपाईंलाई उहाँले समर्थन चालू राख्नुपर्छ भन्ने लाग्छ ?
माडुरोः मेरो विचारमा उहाँ बेलायतको नेता बन्न चालू राख्न जरुरी छ ।
अनुवाद ः नीरज
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *