ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ४ चैत । भक्तपुर नगरपालिका वडा नं. ९ देगइनास्थित ऐतिहासिक वाचु हिटीमा निरन्तर पानी आउने व्यवस्था गरिएको छ । लामो समयसम्म पानी नआएको उक्त ढुङ्गेधारामा वडा कार्यालय, तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजना र स्थानीय जनताको प्रयासपछि पानी आउने व्यवस्था गरिएको हो ।
ढुङ्गेधाराको मुहान बेची ब्वङ (कुवा) नजिकै हाल मालपोत कार्यालय रहेको स्थानमा भएको उल्लेख गर्दै वडाध्यक्ष रवीन्द्र ज्याख्वले सोही मुहानबाट पानी आउने व्यवस्था गरिएको बताउनुभयो । तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनामार्फत आवास योजना सञ्चालन गरेपछि मुहानको संरक्षण गरी देगइनास्थित वाचु हिटी र ब्रह्मायणी मन्दिर नजिकैको ढुङ्गेधारामा पानी आउने व्यवस्थाका लागि प्रबन्ध गरिएको आयोजना प्रमुख ओमहरि थाश्रेष्ठले जानकारी दिनुभयो । निजी आवास बनाउने क्रममा घरको जगखन्दा ठाउँ ठाउँमा धाराको पाइप काटिएको हुनसक्ने र सोही कारणले ढुङ्गेधारा सुकेको उहाँको धारणा थियो ।
वाचु हिटीको परम्परागत मुहानदेखि धारासम्मको पाइप तथा मुहान सुधार गर्ने कार्य चालू रहेको वडाध्यक्ष ज्याख्वले बताउनुभयो । त्यस क्षेत्रका सडकहरू कालोपत्रे गर्नुपूर्व नै वाचु हिटीलाई पुनर्जीवन दिने हेतुले सुधार कार्य भइरहेको उहाँले प्रस्ट पार्नुभयो । ब्रह्मायणी मन्दिर नजिकैको ढुङ्गेधारालाई पनि पुनर्जीवन दिने प्रयास भइरहेको उहाँको कथन थियो ।
वाचु हिटी र ब्र्रह्मायणी नजिकैको ढुङ्गेधारा धार्मिक एवं सांस्कृतिक महत्वका धाराहरू भएको र स्थानीय ज्येष्ठ नागरिकहरू तथा महिलाहरूले दैनिक नित्यकर्म गर्न ती धाराको पानी प्रयोग गरिरहेको स्थानीयहरू बताउँछन् । स्थानीय रत्नकुमार प्रजापतिले भन्नुभयो, “दुवै ऐतिहासिक ढुङ्गेधारालाई जीवन्तता दिन स्थानीय जनताको तर्फबाट पटक–पटक प्रयत्नहरू भए, बल्ल सफल हुने सम्भावना देखिएको छ ।”
यसैबीच वडा कार्यालयको अगुवाइमा स्थानीय महिला समूह, देगइना युवा क्लव र स्थानीय जनताको सहभागितामा आइतबार वाचु हिटी र त्यस वरपर सरसफाइ गरिएको थियो । महिला तथा स्थानीयहरूको व्यापक सहभागिता रहेको उक्त सरसफाइको क्रममा ढुङ्गेधारा परिसरमा रहेको हिलो तथा झारपातहरू सफा गरिएको कार्यपालिका सदस्य छोरीमैंया सुजखू (प्रजापति) ले बताउनुभयो । धारामा निरन्तर पानी नआएकोले ढुङ्गेधारा परिसर फोहर देखिएको उहाँको भनाइ थियो । केही समयअघि पानीपर्दा सडकको पानी धारा परिसरमा जम्मा भएकोले झन् फोहर भएको चर्चा गर्दै त्यस क्षेत्रको वातावरणीय सुधार अति आवश्यक रहेको जनभावनाप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो ।
तुमचो दुगुरे आयोजनामार्फत त्यस क्षेत्रको वातावरणीय सुधारको योजना तयारी भइरहेको प्राविधिक दयाप्रसाद न्याइच्याईले जानकारी दिनुभयो । आयोजना क्षेत्रभित्र परेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदाहरू जीर्णाेद्धार र संरक्षण गर्ने दायित्व आयोजनाले नै बहन गरिरहेको उहाँको धारणा थियो । अहिले अर्को ऐतिहासिक सम्पदा बेचीब्वङको संरक्षण कार्य चालू रहेको उहाँले अवगत गराउनुभयो ।
वाचु हिटी परिसरमा पाटी पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यससँगै बौद्ध चैत्यसमेत निर्माण गरिएको छ । खुला स्थानमा स्थानीय युवाहरू शारीरिक व्यायाम गर्ने हेतुले दैनिक खेलकुद गतिविधिमा व्यस्त रहन्छन् । वाचु हिटीमा निरन्तर पानी आउने व्यवस्था भएपछि स्थानीय ज्येष्ठ नागरिक एवं महिलाहरूलाई नित्य पूजा गर्न सहज हुने र त्यस क्षेत्रको वातावरण सुन्दर र सफा हुने वडाध्यक्ष ज्याख्वले बताउनुभयो ।
Leave a Reply