यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– सुरज सिंह
हिमालको हिउँ पग्लेर बग्ने स्वच्छ नदी–नाला बग्ने एवम् पहाड र पाखा पखेरामा समेत मुहान फुटेर स्वच्छ पानी बगेको हुनाले नेपाललाई जलस्रोतको धनी देशहरूमध्ये मानिन्छ । तर वनविनाश र अव्यवस्थित सहरीकरणका कारण देशैभरका गाउँ–सहरहरूमा खानेपानीको अभाव चुलिएको छ । पहाडका अधिकांश गाउँवस्तीहरूमा गाउँलेहरू खानेपानी लिन आधा घण्टादेखि ४–५ घण्टासम्म हिंड्नुपरिरहेको छ । तराईका गाउँ–वस्तीहरूमा ट्युवेलमार्फत भूमिगत पानी उपयोग भइरहेका छन् तर ती पानी सूक्ष्म जीवाणु र अत्यधिक फलाम र आर्सेनिकजस्ता हानिकारक तत्वबाट मुक्त छैन । देशको राजधानी काठमाडौँ उपत्यका खानेपानीको सन्दर्भमा काकाकुल सहर हो । त्यसैले यहाँ खानेपानी आधारभूत आवश्यकताको वस्तुभन्दा व्यापारको वस्तु बनिसकेको छ । व्यापार नाफाको लागि गरिन्छ, त्यसको सकारात्मक र नकारात्मक प्रभाव तपसिलको विषय हुनजान्छ । त्यसैले खोलाबाट सिधै तानेर ट्याङ्करमा हालेर ल्याएको पानी शुद्ध खानेपानी बनिरहेको छ । सात चरणमा प्रशोधन भएर आएको ‘मिनरल वाटर’ मा पनि सूक्ष्म जीवाणु कोलिफर्म अत्यधिक सङ्ख्यामा पाइएको छ ।
देशको समृद्धि र जनताको सुखको नारा दिने सरकारले देशको जलस्रोतको उचित व्यवस्थापन गरी खानेपानीको अभावमात्र समाधान गरिदिए जनताले सरकारको नाराको सार्थकता देख्थे । हुन त संविधानतः जलस्रोतको संरक्षण, व्यवस्थापन र खानेपानीको जोगाडको कार्य जिम्मेवारी सङ्घीय सरकारमा सीमित छैन । प्रदेश र स्थानीय सरकारसम्म पुगेको छ । तर स्थानीय सरकारहरू संवेदनशील भए पनि स्रोत–साधनको अभावमा शिथिल छन् भने प्रदेश र सङ्घीय सरकारको कानमा जनताको चित्कार पस्न सकेको आभास हुँदैन ।
Leave a Reply