भर्खरै :

अदूरदर्शी सरकारका कारण पराधीनता बढ्दो

भक्तपुर, ९ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई सचेत गराउने उद्देश्यले शनिबार चाँगु नपाको न्यौपाने गाउँमा कोणसभा गरे ।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले दूरदर्शिताको कमीले देशको अर्थतन्त्र दिन प्रतिदिन परनिर्भर हुँदै गएको बताउनुभयो ।
स्वदेशी उत्पादन घटिरहेको र विदेशी सामानको आयात १४ गुणाले बढेको तथ्य प्रस्तुत गर्दै उहाँले चीनसितको व्यापारमा ७ सय विलियन अमेरिकी डलर बराबरको फाइदा अमेरिकालाई भइरहेको तर अबको व्यापार युद्धले अमेरिकालाई नै बढी घाटा हुने बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले संसारमा सबभन्दा बढी सुन खानी र पेट्रोल खानी भएको सार्वभौम देश भेनेजुयलामाथि गरेको हस्तक्षेपविरूद्ध राष्ट्रपति निकोलास माडुरो सरकार सङ्घर्षरत रहेको बताउँदै अध्यक्ष ख्याजूले साम्राज्यवादी देशका सञ्चारमाध्यमहरूले भेनेजुयलाबारे झूटा समाचार दिइरहेको बताउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले नागरिकता विधेयकको कारण देशको सार्वभौमिकता र स्वाधीनता धरापमा परेको बताउँदै जन्मको आधारमा नागरिकता पाएका विदेशी नागरिकहरूले भविष्यमा देशको मुख्य–मुख्य कार्यकारिणी अधिकार हातमा लिनसक्ने खतरा रहेको बताउनुभयो ।
सी.के.राउतजस्ता विखण्डनकारी अपराधीहरूसित काँध मिलाउने सरकार प्रमुख अपराधी सावित भएको चर्चा गर्दै उहाँले नेकपाको सरकार कम्युनिष्ट नभएको बताउनुभयो ।
सभामा नेक्राविसङ्घका मिलन गणेजू, नेक्रायुसङ्घका संगीता नेपाली, नेमकिपा चाँगु १ का अध्यक्ष कुमार तामाङ, सदस्य भरतप्रसाद न्यौपानेलगायतले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थानीय समस्याहरूबारे बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *