भर्खरै :

सार्वजनिक यातायातमा सुधार

सरकारले काठमाडाँै उपत्यकाको सार्वजनिक यातायातलाई अझै व्यवस्थित गर्न सकेको छैन । सर्वसाधारणको निम्ति सार्वजनिक यातायातका साधनमा यात्रा गर्नु सकसपूर्ण छ । एकातिर उपत्यकाका अधिकांश बाटाघाटा बिग्रेभत्केका छन् । धुलो र धुवाँले मानिस बस्न अयोग्य ठाउँ बनेको छ–काठमाडाँै । त्यसमाथि निकै अव्यवस्थित सार्वजनिक यातायातका साधनले कामकाजका लागि दैनिक यात्रा गर्नुपर्ने सर्वसाधारण समस्यामा परेका छन् । यातायातका साधनको बढ्दो सङ्ख्या र बाटाघाटा रुग्न बन्दा दैनिक घण्टौँ जाम झेल्नुपर्ने अवस्था छ ।
सार्वजनिक यातायातका साधनले मनपरी जहाँ पनि रोक्ने र एकै ठाउँमा लामो समयसम्म रोक्ने गरेका छन् । कार्यालय समयमा यात्रुलाई हतार हुने अवस्थामा सार्वजनिक यातायातमा सकेसम्म बढी यात्रु कोच्दा यात्रा कष्टप्रद हुने गरेको छ । क्षमताभन्दा बढी यात्रु कोचेर लामो समय एकै ठाउँमा गाडी रोक्दा यात्रुले निकै सास्ती व्यहोर्नुपरेको छ ।
सार्वजनिक यातायातका साधनको भाडादर तोकिएको भए पनि यातायात मजदुरहरूले मनपरी भाडा असुल्ने गरेका छन् । कदाचित यात्रुले आपत्ति जनाए उनीहरूको अशोभनीय व्यवहारले यात्रु पिरोलिने गरेका छन् । अधिकांश यातायात मजदुरले गर्ने व्यवहार अशिष्ट हुँदा यो पेशाको गरिमा र ओज नै घटेको छ । कतिपय रुटमा यातायात साधनबीचको प्रतिस्पर्धाका कारण यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
सार्वजनिक यातायात गरिब तथा विपन्न जनताको यातायातको साधन हो । आर्थिक रुपमा विपन्न जनता र निम्न मध्यम वर्ग नै सार्वजनिक यातायातका उपभोक्ता हुन् । सार्वजनिक यातायातको समस्या मूलतः समाजको तल्लो सीमान्तमा रहेका जनताको समस्या हो । यसको समाधान व्यापक सर्वसाधारण जनताले दैनिक भोग्ने समस्याको समाधान हो ।
सार्वजनिक यातायातको यात्रा सकसपूर्ण भएकैले सक्नेले दुईपाङ्ग्रे सवारी साधन खरीद गरी उपयोग गर्न थालेका छन् । सडकमा धेरै सङ्ख्यामा दुईपाङ्ग्रे यातायातका साधन हुनुको मूल कारण सार्वजनिक यातायातका समस्या नै हुन् । सार्वजनिक यातायातको यात्रा आरामदायी र व्यवस्थित हुने हो भने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या क्रमशः घट्नेछ जसले सवारी जामको समस्या केही हदसम्म न्यूनीकरण गर्नेछ ।
सरकारले सार्वजनिक यातायातमा सुधार गर्न दीर्घकालीन योजना ल्याउन हतार भइसकेको छ । राजधानीमा बढ्दो जनसङ्ख्यासँगै आएको यो समस्या समाधान गर्न सरकारले ढिला गरे यसले दैनिक लाखौं जनताको समयमात्र ध्वस्त गर्ने होइन, बरु जनजीवन कष्टकर बन्दै जानेछ ।
सार्वजनिक यातायातका साधनमा काम गर्ने मजदुरलाई शिष्ट र व्यवहार कुशल बनाउन सरकारले सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरी तालिम दिनुपर्छ । तोकिएको समयमा गाडी रोक्ने र अन्यत्र गाडी रोक्न निषेध गर्नेमा कडाइ गर्न जरुरी छ । गाडीमा कोचाकोच यात्रु राख्ने चालक र सहचालकलाई आवश्यक कारबाहीको बन्दोबस्त गर्नुपर्छ । तोकिएको भाडादरभन्दा बढी भाडा लिने यातायात मजदुरलाई आवश्यक कारबाही गर्न जरुरी छ । मनलागी भाडा लिने अभ्यासलाई कारबाहीको विषय बनाउनुपर्छ । प्राविधिक समस्या भएका यातायातका साधन चलाउन रोक लगाउने र तोकिएको मापदण्डभन्दा कम मापदण्डका गाडीलाई निषेध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *