भर्खरै :

आदर्श माविको भवन शिलान्यास

भक्तपुर, १२ चैत (रासस)ः मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको भवनको शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सो भवनको आज संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
तलेजुको दरबार परिसरमा रहेको उक्त विद्यालयमा परम्परागत एवं मल्लकालीन शैलीमा विद्यालय भवन निर्माण गरिनेछ । मध्यपुरथिमि नगरपालिकाको रु एक करोडको लागतमा निर्माण गरिने सो भवन तेलिया इँटा, चुना र सुर्कीको प्रयोग गरी परम्परागत शैलीमा निर्माण गरिने श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रु ५० लाख फिर्ता गरी नगरपालिका आफैले निर्माण थालेको हो ।
“थिमिको सम्पदा र धरोहरलाई बिगार्ने भएपछि नगरपालिकाले आफ्नै बजेटमा भवन निर्माण गर्न लागेको हो”, उहाँले भन्नुभयो । विसं २०२१ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन गरिन्छ । विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *