भर्खरै :

“सरकार उपत्यकाका जनतालाई उठिबास गर्न लागिरहेको छ”

भक्तपुर, १२ चैत । नेपाल मजदुर किसान पार्टीका तत्कालीन केन्द्रीय सल्लाहकार एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य ज्ञानबहादुर न्याईच्यार्इँको आठौँ स्मृति सभा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार सम्पन्न भयो ।
उक्त स्मृति सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पार्टी कार्यकर्ताहरू सङ्गठन विस्तारमा लाग्नुपर्छ र पार्टी प्रकाशन अध्ययन गर्न गराउन अघि बढ्नुपर्छ भन्नुभयो ।
उहाँले फास्टट्राक, करिडोर, स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रङ्गशालाको नाउँमा काठमाडौँ उपत्यकामा भएका सीमित जग्गा हडपेर जनतालाई उठिबास गर्न यो सरकार लागिपरेको औँल्याउनुभयो । ललितपुरको बोङा र खोकना क्षेत्रका गरिब किसानहरूलाई उठिबास गर्ने उद्देश्यले विकासको नाउँमा फास्टट्रयाक, करिडोर, स्मार्ट सिटीको योजना अगाडि ल्याएको विचार राख्दै उहाँले सरकारको यो काम किसानहरूलाई सर्वहारा बनाउने कुचाल हो भन्नुभयो ।
नेकपाको सरकार गरिब जनताविरोधी सरकार हो । तिनीहरू कम्युनिष्ट होइनन्, विकासको नाउँमा बजेट सिध्याउने भ्रष्ट मनस्थितिबाट सरकार ग्रसित छ, जहाँ जनतालाई समस्या हुन्छ त्यहाँ किसान कार्यकर्ता जनतामाझ पुग्नुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ, खानेपानीको मुहान क्षेत्रमा प्रहरी चौकीको व्यवस्था गर्नुपर्छ, उपचार पोखरीको सुधार गर्नुपर्छ, उपचार पोखरी क्षेत्र वरिपरि घर निर्माण बन्द गर्नुपर्छ, मापदण्ड नियमन गर्नुपर्छ, टोल र वडा– वडाका पोखरी संरक्षण गर्नुपर्छ ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सांसद सृजना सैंजूले आफूले ज्ञानबहादुर न्याईच्यार्इँ एक सरल, घमण्ड नगर्ने, व्यक्तिगत स्वार्थबाट टाढै रहने सङ्घर्षशील व्यक्तित्वको रूपमा बुझेको बताउनुभयो ।
पहाड, तराई र हिमालमा किसानहरूको समस्या फरक फरक रहेको उल्लेख गर्दै उहाँले प्रदेश सभाका सांसदहरू विनायोजना आ–आफ्नो क्षेत्रमा बजेट लाने र चुनाव खर्च उठाउने कुचेष्टा गर्दै छन् भन्नुभयो । कमिसन, भ्रष्टाचारी, तस्करीविरुद्ध नेमकिपाले विरोध गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले ज्ञानबहादुर न्याईच्यार्इँ कर्तव्यनिष्ठ, इमानदार सङ्घर्षशील जनताका सेवक थिए भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका सभापति गोविन्द दुवालले ज्ञानबहादुर न्याईच्यार्इँ विरोधीलाई पनि सम्झाउन सक्ने खुबी भएका जनताका सेवक थिए भन्नुभयो ।
स्मृति सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले उहाँको योगदानलाई सम्झेर नै पार्टीको घोषणापत्रअनुसार भनपाले काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्लाका सदस्यद्वय केशवप्रसाद तिमिल्सिना र नारायणभक्त न्हेम्हाफुकीले पनि ज्ञानबहादुर न्याईच्यार्इँको जीवनीबारे आ–आफ्नो धारणा राख्नुभयो ।
गणेशमा स्मृति सभा
गणेश माध्यमिक विद्यालय, भार्वाचोको आयोजनामा विद्यालयका संस्थापक एवम् किसान नेता ज्ञानबहादुर न्याईच्याईँको आठौँ स्मृति सभा मङ्गलबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “व्यक्तिभन्दा व्यक्तिले बोकेको विचार र आचरण ठूलो हुन्छ । ज्ञानबहादुर न्याईच्यार्इँ पार्टीको विचार र नीतिलाई कार्यान्वयन गर्ने एक अभियन्ता थिए । ज्ञानबहादुर न्याईच्याईँलगायतका तत्कालीन पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरूले भक्तपुरलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायतका क्षेत्र अगाडि बढाउन बलियो जग हाल्ने काम गरे । आज तिनै जगको आधारमा तला थप्ने काम हामी जनप्रतिनिधिहरूले गरिरहेका छौँ ।
प्रमुख प्रजापतिले रात्री कक्षा तथा साक्षरता कक्षाबाट सुरु भएको शैक्षिक जागरणको अभियानले आज विभिन्न कलेज हुँदै विश्वविद्यालयसम्मको योजना बनिसकेको बताउनुभयो  ।
भनपाले स्थानीय पाठ्यक्रममा भक्तपुरको परिचय स्थापना गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अग्रजहरूको जीवनी तथा सङ्घर्षका घटनाहरू समावेश गरेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले पुराना पुस्ताबाट देश र जनताको निम्ति निःस्वार्थरूपले सेवा गर्नुपर्ने प्रेरणा लिनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपाका नेता कार्यकर्ताहरूको सङ्घर्ष र आन्दोलनको उपलब्धिस्वरुप आज भक्तपुरले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा नमुना जिल्लाको रूपमा उभ्याउन सकेको बताउनुभयो । उहाँले गरिब र दुःखीलाई मुक्त गर्न निःस्वार्थ र इमानदारीपूर्वक जनताको सेवामा प्रतिबद्ध हुनुपर्छ भन्नुभयो ।
ठूला राजनीतिक पार्टीहरूले वर्गीय चेतना नजगाएको उल्लेख गर्दै उहाँले असल पार्टीको पहिचान गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले ज्ञानबहादुर न्याईच्यार्इँजस्ता असल, मिलनसार कार्यकर्ताहरूको योगदानकै कारण भक्तपुर जिल्ला ज्ञान विज्ञानको केन्द्र, एक घर एक स्नातकको रूपमा परिचित हुन थालेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न सभामा नेमकिपा वडा नं. १ एकाइ समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवट, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेक्राकिसङ्घ १ वडा एकाइ समितिका अध्यक्ष लक्ष्मीभक्त खत्री, रमेश न्याइच्याई, गणेशराम थुसा र लक्ष्मीसुन्दर सुवालले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *