भर्खरै :

मध्यपुरमा युवा – विद्यार्थीको कोणसभा

भक्तपुर, १३ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको संयुक्त आयोजनामा देशको समसामयिक राजनीतिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले गरिरहेको कोणसभा बुधबार मध्यपुर नगरपालिका चोकमा सम्पन्न भयो ।
उक्त सभामा नेक्राविसङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले ३३ किलो सुन काण्ड र निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउन नसक्ने वर्तमान सरकार निर्लज्ज भएको चर्चा गर्दै देशको सार्वभौमिकता खतरामा पर्दा ठूला राजनीतिक दलका भ्रातृ सङ्गठनहरूले चुइँक बोल्न नसकेको बताउनुभयो ।
नेपाली जनता आफै सार्वभौमिकता रक्षार्थ एकजुट भई लड्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको नागरिकता प्रदान गर्न संविधान संशोधन गर्नु देशको हितविपरीत भएको बताउनुभयो ।
सचिव प्रजापतिले भन्नुभयो, “जेलमा राख्नुपर्ने विखण्डनकारी सीके राउतसित काँध मिलाउने केपी ओलीको सरकार आफै अपराधी भएको पुष्टि भएको छ ।”
नेक्रायुसङ्घ भजिस सचिव एचएस सुवालले सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप र नाकाबन्दीको विरोध गर्नुपर्ने बताउनुभयो ।
चीनबाट भागेर आएका विखण्डनकारीलाई भारतमा शरणार्थी रहेका दलाई लामा भेटाइ दिने र प्रजग कोरियामाथि अमेरिकी नाकाबन्दीको समर्थन गर्ने सर्तमा संरा अमेरिकाले नेपाल सरकारलाई ५६ अर्बको आर्थिक सहयोग उपलब्ध गराउने विषय नेपालको आन्तरिक तथा परराष्ट्र मामिलामाथिको हस्तक्षेप भएको बताउँदै उहाँले उक्त सर्त कुनै पनि हालतमा सरकारले मान्न नहुने र अमेरिकी साम्राज्यवादको विरोधमा युवा–विद्यार्थीलगायत सबै जनता एकजुट हुनुपर्ने चर्चा गर्नुभयो ।
नेक्रायुसङ्घ भजिसका जगतराम धुख्वा, रमेश वैद्य, नेक्राविसङ्घ मध्यपुर अध्यक्ष अमर डलीलगायतले बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण गर्ननसक्ने सरकार नामले कम्युनिष्ट भए पनि व्यवहारले पुँजीवादी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *