भर्खरै :

सूक्ष्म प्रकाशकीय चिपको विकास

ललितपुर, १३ चैत । नेपाली वैज्ञानिकले अति सूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी (शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम) नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कँुद्ने काम गरिएको हो ।
फुटुङ रिसर्च इन्ष्टिच्युटमा कार्यरत वैज्ञानिकले सफलतापूर्वक उक्त प्रविधिको विकास गरेका हुन् । इन्ष्टिच्युट र नेपाल रिसर्च एलायन्सद्वारा बुधबार अयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
आवश्यक सम्पूर्ण प्रकाशकीय उपकरणलाई कलमको निबभन्दा पनि सानो आकारमा एकीकृत गर्दै अत्यन्त कम मूल्यको रूपमा विकास गर्न उहाँहरू लागिरहनुभएको छ ।
इन्ष्टिच्युटका प्रमुख वैज्ञानिक डा. असीम ढकालले भन्नुभयो, “यस प्रविधिलाई श्वासप्रश्वास रोग (फोक्सोसम्बन्धी) को निदान, अवस्था र फोक्सोको भित्री भागको छविको निर्माण गर्न प्रयोग गर्ने योजना बनाएका छौँ ।” उहाँले नेपालमै नेपाली वैज्ञानिकले नानो–प्रविधिको विकास गर्नसक्छन् भन्ने विश्वास दिलाउन यसको आविष्कार गरिएको बताउनुभयो ।
सामाजिक अभियानकर्मी महावीर पुनले सरकारको नीति आफ्नो तरिकाले अघि बढेका कारण वैज्ञानिकले आशातीत उपलब्धि हासिल गर्न नसकेको बताउँदै प्रदेश नं ३ को सरकारले विज्ञान प्रविधि सम्मेलनमा खर्च गर्न लागेको रु. ५० लाख संसाधनमा खर्च गरेको भए ठूलो उपलब्धि हासिल हुन्थ्यो भन्नुभयो ।
सो अवसरमा जारी प्रेस विज्ञप्तिमा बिरामी प्रयोगशालामा जानुपर्ने हालको स्थिति अन्त्य गराउन वैज्ञानिक लागिपरेको उल्लेख गरिएको छ । सो चिपले कपालको रौँभन्दा लगभग १०० गुना सानो संरचनामा कुँदाएर तन्तुको छविचित्र निकाल्ने काम गर्छ । यसको आकार चार सय न्यानोमिटरको हुने विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *