भर्खरै :

नाटककार शशीको योगदानबारे चर्चा

काठमाडौँ, १३ चैत । नेपालभाषा तथा नेपाली भाषाको माध्यमबाट साहित्य सिर्जनामा योगदान गर्नुभएका व्यक्तित्व वासु शशीको ८३ औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वक्ताले शशी साहित्य क्षेत्रका स्वाभिमानी व्यक्ति भएको धारणा राख्नुभयो ।
विसं १९९३ मा काठमाडौँ पशुपतिमा जन्मनुभएका सुप्रसिद्ध कवि तथा नाटककार शशीको २५ भन्दाबढी कविता सङ्ग्रह, खण्डकाव्य, गीति सङ्ग्रह, मुक्तक सङ्ग्रह, नाटक, उपन्यास, अनुवाद कृति प्रकाशित छन् ।
त्यस्तै अङ्ग्रेजी तथा नेपाली भाषाका महत्वपूर्ण कृतिको अनुवाद, चलचित्र तथा टेलिचलचित्रमा कथा, पटकथा तथा संवादको लेखनका साथै गीति एल्बम पनि प्रकाशित छन् । ‘झुमिँ यम्ह मनु’ तथा ‘ताचा प्वाँय्’ नाटककार शशीका नेपाल भाषा क्षेत्रमा प्रसिद्ध नाटक हुन् । त्यस्तै नेपाली भाषामा शशीका नाटक, साँचोको झुप्पा तथा बुद्ध प्रमुख नाटक हुन् ।
उहाँको उपन्यास ‘फूल ओइलाएपछि’ तथा ‘संसारमा सबभन्दा एक्लो जीव’ साहित्य क्षेत्रका महत्वपूर्ण कृतिका रूपमा रहेको छ ।
वासु शशी स्मृति परिषद्ले आयोजना गरेको सो कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले शशी नेपाली साहित्य क्षेत्रका गौरव भएको बताउँदै साहित्य जगत्ले उहाँलाई स्वाभिमानी साहित्यकारको रूपमा सम्मान गरेको तथा आफ्नो मातृभाषा नेपाल भाषा तथा नेपाली भाषा तथा अङ्ग्रेजी भाषामा साहित्य साधनाको माध्यमबाट विशेष योगदान गर्नुभएका र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको गठनदेखि हालको भवन निर्माणमा पनि अतुलनीय योगदान गर्नुभएको स्मरण गर्नुभयो ।
शताब्दीपुरुष जोशीले सोही अवसरमा वासु शशी साहित्य पुरस्कार–२०७५ बाट उपन्यासकार श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान तथा श्रेष्ठ प्रिया पत्थरलाई सम्मान गर्नुभयो ।
परिषद्का अध्यक्ष गणेश रसिकले बहुमुखी प्रतिभाका धनी वासु शशीको योगदानलाई चीरस्मरणीय गर्न परिषद्ले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो । परिषद्का सचिव प्रद्युम्न जोशीले शशीले नेपाल भाषा र नेपाली भाषामा गरेको साहित्यिक योगदान कहिल्यै बिर्सन नसकिने बताउनुभयो । सो परिषद्ले हालसम्म ३४ वटा कृति प्रकाशित गर्नाका साथै करीब ३० साहित्यकारलाई सम्मान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *