भर्खरै :

आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको प्रशिक्षण सुरू

भक्तपुर, १३ चैत । भक्तपुर नगरपालिकाद्वारा आयोजित आधारभूत तह (कक्षा १ देखि ५) मा अध्यापनरत शिक्षकहरूको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थीकेन्द्रित शिक्षक प्रशिक्षण बुधबारबाट सुरू भएको छ ।
प्रशिक्षण उद्घाटन कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयको सन्तुलन मिलाएर अगाडि बढेमा एउटै खालको शैक्षिक गुणस्तरीय शिक्षा दिन सकिने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरभित्रका सामुदायिक आधारभूत विद्यालयहरूमा मन्टेश्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गरी अनुगमनसमेत भइरहेको र अब नगरपालिकाले स्थानीय पाठ्यक्रमअनुरूप नयाँ पुस्ताका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोडेर शिक्षा दिने उद्देश्यले विषयगत तालिमको आवश्यकतालाई जोड दिइरहेको उहाँले बताउनुभयो ।
नगरभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर, विद्यार्थी अनुशासन र शुल्कमा एकरूपता ल्याउने हिसाबले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन पाठ्यक्रमको आवश्यकता भएको चर्चा गर्दै प्रमुख प्रजापतिले शिक्षक–शिक्षिकाहरू प्रविधिमैत्री हुनुपर्ने, फरक विशेषता आवश्यक भएको र विद्यार्थीलाई हीनताबोधको भावनाबाट मुक्त पार्न शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
‘एक घर एक स्नातक’ को घोषणाले भक्तपुरको शैक्षिक मुहार फेरिएको बताउँदै प्रमुख प्रजापतिले योग्य र असल नागरिक तयार गर्न शिक्षकहरूले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष तथा कार्यक्रमका संयोजक उकेश कवांले तालिमको उद्देश्यबारे प्रस्ट पार्दै शैक्षिक क्षेत्रलाई नयाँढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चैत १३–१४ गणित, १५–१६ अङ्ग्रेजी, १७ गते सामाजिक शिक्षा, १८ गते नेपाली र १९–२० गते विज्ञान विषयको प्रशिक्षण सञ्चालन हुने जानकारी गराउनुभयो ।
नगर शिक्षा अधिकारी मेघनाथ रिमालले पाठ्यक्रमको प्रभावकारी उपयोगको निम्ति भक्तपुर नगरपालिकाले शिक्षक–शिक्षिकाको तालिमलाई अगाडि सारेको र घोकन्ते शिक्षालाई निरूत्साहित गरी विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो ।
“विद्यार्थीलाई बोझिलो शिक्षा नभई विद्यार्थीको रूचि र क्षमताअनुसार पढाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शैक्षिक उन्नतिको निम्ति तालिमको आवश्यकता भएको र भक्तपुर नगरपालिकाको उद्देश्य शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *