यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– सुशिला
‘पढ्न उमेर कहिल्यै पनि बाधक होइन’ भन्ने भनाइलाई नायिका करिस्मा मानन्धरले सार्थक बनाएकी छिन् । उमेरले झण्डै पचास वर्ष पुगेकी करिस्माले आफूभन्दा आधाभन्दा बढी कम उमेरका स्कूले विद्यार्थीहरूसँगै बसेर एसईई दिनु समाजका धेरै मानिसका लागि सिक्नयोग्य कुरा हो । पैसा, ख्याती र वृत्ति विकासकै कोणबाट हेर्दा करिस्मालाई एसईई दिइरहन कुनै आवश्यकता देखिंदैन । तथापि उनी यो उमेरमा निसङ्कोच स्कूले विद्यार्थी बन्नुले शैक्षिक योग्यता जागिर खान, पैसा कमाउनमात्र होइन भन्ने सन्देश दिएकी छिन् । उनको यो कामबाट अरू धेरै नेपाली महिला र पुरूषलाई पढ्न उत्साहित गरिनेछ ।
सांसद शान्ता चौधरीले पनि दाङमा ढल्कँदो उमेरमा एसईई दिइन् । चौधरीले भनेजस्तै जीवनमा उनले विद्यावारिधि गर्लिन् वा नगर्लिन्, त्यो त आफ्नै ठाउँमा छ । तर, उनले आफ्नै छोरीसँगै एसईई परीक्षा दिनुले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । अरूको घरमा जाने छोरीलाई किन धेरै पढाउनुप¥यो र भन्ने पुरानो सामाजिक मान्यता बोकेका मानिसलाई समाजले चिनेका यी दुई महिलाले ढिलै भए पनि एसईई दिएर महत्वपूर्ण पाठ सिकाएका छन् ।
समाजमा सकारात्मक परिवर्तनको लागि केही उदाहरण स्थापना गरिनुपर्छ । सकारात्मक उदाहरणले समाजलाई त्यही बाटोमा अघि बढ््न हौस्याउने गर्छ । त्यसो त करिस्मा र शान्ता यो अभियानकी सुरूवाती व्यक्तिहरू पक्कै होइन । रात्रीकक्षा पढेर एसएलसी दिएकी भक्तपुरकी रोशनमैंया सुवाल पनि छोरीलाई स्कूल पढाउनुपर्ने सन्देशका वाहक थिइन् । त्यत्तिबेलाको परिस्थिति आजजस्तो सहज पनि थिएन । छोरीलाई पढाउन समाज आज जस्तो अग्रसर र सकारात्मक पनि बनिसकेको थिएन । त्यो प्रतिकूल परिस्थितिमा पनि रात्री कक्षामा पढेको शिक्षाको आधारमा एसएलसी परीक्षा दिनु शैक्षिक अभियानको उल्लेखनीय पाटो थियो ।
आज पनि उमेरले ‘डाँडापारिको घाम’ बनिसकेका धेरै ज्येष्ठ र वयस्क मानिसहरू ज्ञानको प्यासले आफ्ना नातिनातिनासँग विद्यालयमा पढिरहेका समाचार आइरहेका छन् । शिक्षा क्षेत्रमा धेरै अग्रजको मिहिनेतको परिणामस्वरूप आज समाजमा पढाउनुपर्छ भन्ने विचार स्थापित भएको छ । सुन्दर भविष्यको लागि शिक्षामा ध्यान दिनुपर्छ भन्नेमा सबै मानिस सर्वसहमत छन् । शिक्षा क्षेत्रको यो उन्नतिको लागि आज उमेरले नभनेर पनि एसईई दिएका व्यक्तिहरू उदाहरण बनेका छन् ।
Leave a Reply