मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
श्यामकृष्ण खुलिमुली
हत्या !
भ्रुण हत्या । नजन्मिदै हुर्कदै गरेको शिशुको हत्या गरे । जसलाई आफैले रोपेका थिए, जसलाई आफैले मायाले सुसारेका थिए । त्यसकै हत्या भयो – क्षतविक्षत हुने गरी । विभत्स तरिकाले ।
सायद हत्याराहरू आफरनै हत्या हुनसक्ने आशङ्काबाट त्रसित थिए ।
म भर्खरै अवसान (हत्या) भएको उही बानेश्वरको संविधानसभा हुँदै आफरनो गन्तव्यतर्फ पाइला नापिरहेको थिएँ । सडकमा मान्छेको भीड थियो, गाडीको बेफिक्री ओहोरदोहोर थियो । संविधानसभा भवन सुनसान थियो । सायद कोरा बसिरहेको थियो, मौनधारण गरिरहेको थियो ।
मानिसहरू आइरहेका थिए । मानिसहरू गइरहेका थिए । कसैलाई कसैको कुनै मतलब थिएन । सब आ– आफरनै धुनमा थिए । मानौं संविधानसभाको हत्या भएकोमा कसैलाई कुनै मतलब थिएन ।
‘को हो ?’
अचानक पछाडिबाट कसैले मेरो दायाँ हात तानेपछि मैले सोधें ।
म ।
एकजना अपरिचित अधवैशे मान्छेले मलाई पहिलेदेखि चिनेझैं गरी जवाफ फर्कायो । तर, मैले उसलाई ठम्याउन सकिनँ । केटाकेटीदेखिको सम्झनाको फाइल पल्टाउन थालेँ तर चिन्नै सकिनँ, सम्झनै सकिनँ ।
म अलमलमा परेँ । सायद म अलमलमा परेको देखेर होला उसले फेरि भन्यो, “चिन्नुभएन ? म लेण्डुप दोर्जे क्या ।”
म झनै रिङ्गिए जातोझैं । बेरिएँ दिमागी जालोमा । को लेण्डुप दोर्जे ? न साथी न आफन्त । मैले टाउको हल्लाएँ, “अहँ म चिन्दिनँ ।”
“कस्तो नचिन्नुभएको ? इतिहास पढ्नुभएको छैन ? म के त सिक्किमको लेण्डुप दोर्जे ।” उसले निधारको पसिना पुछ्दै आफूलाई अझै प्रस्ट पा¥यो ।
झल्याँस्स बिजुली चम्कियो, मेरो दिमागमा । मैले जवाफ दिएँ, “अँ, त्यही लेण्डुप दोर्जे हो । जसले सिक्किमलाई इन्डियामा गाभेको थियो ।”
अब भने उसको अनुहार धपक्क बल्यो र भन्यो, “हो, म त्यही लेण्डुप दोर्जे हुँ ।”
अचम्म लाग्यो । हैन म निद्रामा छु या अनिद्रामा ? चिमोटें आफैलाई । कसरी लेण्डुपसँग भेट भयो ? यो त मरिसकेको मान्छे । मरिसकेको मान्छे अगाडि देखेर म दोधारमा परेँ –पत्याऊँ कि नपत्याऊँ ?
“हैन, तिमी त मरिसक्या हैन र ? कसरी फेरि यहाँ नेपालमा आइपुग्यौ ? कतै भूत पो हो कि ? ” अलि सर्तक हुँदै मैले भनेँ ।
“वास्तवमा म उहिल्यै मरिसकेको थिएँ । तर, के गर्नु राष्ट्रघाती र आत्मघाती भनेर स्वर्गमा बास नै नदिएपछि म भौतारिएँ । मेरो आत्मा भड्कियो । बरु इन्डियामै जान्छु भनेर त्यहाँ गएँ तर कसैले वास्तै गरेनन् । सिक्किम गएँ, त्यहाँ झन् सबले छिः छिः र दुरदुर गरे र लखेटे । अब अन्त कता जाऊँ, म बिलखबन्दमा परेँ । त्यसैले म नेपालमा छिरेँ ।” उसले बेलिबिस्तार लाउँदै भन्यो ।
मैले थप जिज्ञासा राखेँ,“कसरी नेपालमा छिर्न सफल भयौ त ?”
उसले यताउति हे¥यो र साउती गर्दै भन्यो, “हैन ऊबेला त मैले कति छिर्न कोसिस गर्दा पनि म सफल भइनँ । त्यसैले धैर्य गरेर पर्खँे । म कसैको गर्भमा छिरेँ । अब अर्को लेण्डुप दोर्जे अर्थात् म जन्मेर हुर्किसकेको छु ।”
म स्तब्ध भएँ, नेपालमा लेण्डुप दोर्जे जन्मेको सुनेर । मैले फेरि जान्न खोजेँ, “अनि त्यो को हो नि ?”
“अहँ, अहिले भन्न मिल्दैन । समय आएपछि आफै थाहा पाउनुहुनेछ ।”
म कसैलाई भन्दिनँ । भन न त्यो को हो ?
अहँ । बेकारको कोसिस । लाख कोसिस गर्दा पनि उसले नेपाली लेण्डुप दोर्जेको बारेमा कुनै कुरा चुहाएन । उसले बस यतिमात्रै भन्यो, “समय आएपछि आफै थाहा हुन्छ । अहिले पनि चिन्न र अनुमान गर्न सकिन्छ तर ठ्याक्कै नाम त बताउँदिन ।”
यति भनेर ऊ त्यहाँबाट अलप भयो ।
म झसङ्ग भएँ। भर्खरै हत्या गरिएको संविधानसभा भवनतर्फ नजर दौडाएँ । त्यो जहाँको तहीँ थियो । मैले आफरनो वरिपरि नियालेँ । म अन्तै पो छु कि ? वास्तवमा म नेपालमै रहेछु– अहिलेसम्म त । मैले बुद्ध सम्झेँ, सगरमाथा खोजेँ । अनि त्योभन्दा पनि मैले उही नेपालमा जन्मिसकेको लेण्डुप दोर्जे खोजेँ ।
म अझै नेपालका लेण्डुप दोर्जे खोज्दै छु । कतै तपाईंले चिन्नुभएको त छैन ? खबर गर्नु है , खुसुक्क ।
Leave a Reply