भर्खरै :

वैदेशिक लगानी र वातावरण संरक्षण

काठमाडौँमा शुक्रबार लगानी सम्मेलनको उद्घाटन भयो । शुक्रबार नै बाँकेमा नेपाल वातावरण पत्रकार महासङ्घको आयोजना भएको कर्णाली नदीको दिगो संरक्षणसम्बन्धी गोष्ठीले कर्णालीको अत्यधिक दोहन रोक्नमा जोड दिंदै सातबुँदे घोषणापत्र सार्वजनिक ग¥यो । त्यही दिन सुर्खेतबाट चुरे दोहन गरेर नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरण गरिएकोबारे स्थानीयले लिखित उजुरी दिएपछि डिभिजन वन कार्यालयले स्थानीय तहसमक्ष विवरण माग ग¥यो । चुरे क्षेत्रको अत्यधिक दोहनप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति चुरे संरक्षण अभियान चालू रहे पनि चुरे क्षेत्रका प्राकृतिक स्रोतसाधनको अवैधानिक र जथाभावी दोहन अझै पनि रोकिएको छैन ।
कुनै समय विकास र आर्थिक गतिविधिसामु वातावरण र पर्यावरणीय संरक्षणको विषय गौन मानिन्थ्यो । आर्थिक समृद्धि र विकासले नै मानिसको जीवनमा सहजता ल्याउने सिद्धान्तमा आधारित भएर मानवीय आवश्यकता पूरा गर्न प्राकृतिक सम्पदाको उपभोग गर्नुपर्ने मान्यताले व्यापकता पायो । तर, मानव समाजको कुनै कालखण्डमा व्यापकता पाएको यो सिद्धान्त आज गलत र अदूरदर्शी प्रमाणित भएको छ । विकासको नाममा वातावरण विनाश वा दोहनले कालान्तरमा मानिसको अस्तित्वमा नै गम्भीर चुनौती हुने पाठ संसारले सिकिसकेको छ ।
नेपाललाई आर्थिक रुपमा समृद्ध र विकासको गतिमा डो¥याउने भन्दै सरकारले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आमन्त्रण गरी लगानीको लागि आह्वान गरेको छ । कुनै पनि ठाउँको विकास र आर्थिक समृद्धि निःशर्त हुने गर्दैन । लगानीकर्तालाई लगानीको लागि उत्साहित गर्ने नाममा सरकारले नेपालका प्राकृतिक स्रोत र सम्पदाको दोहनको लागि ढोका खुला गर्नु बुद्धिमानी होइन ।
भौगोलिक र प्राकृतिक रुपमा नेपाल समृद्धमात्र छैन, बरु संवदेनशील क्षेत्र पनि हो । भूकम्प, बाढी पहिरोलगायत अन्य प्राकृतिक जोखिम नेपालको सबै भूभागमा सदैव मडराइरहेको हुन्छ । त्यस्तो प्राकृतिक प्रकोप नेपाली जनताको निम्ति दुःखका कारण बन्ने गरेका छन् । प्राकृतिक सम्पदाको दोहन नै त्यस्ता विपत्तिका प्रधान कारण हुन् । तसर्थ नेपालमा कुनै पनि खाले विकास निर्माण र लगानी हुनुपूर्व प्रकृति संरक्षण र संवेदनशीलताप्रति ध्यान दिन जरुरी छ ।
कुनै पनि लगानीको मूल ध्येय नाफा नै हो । विदेशी निकायले नेपालमा गर्ने लगानीको मूल ध्येय पनि नाफा कमाउनु हो । नाफा कमाउने लक्ष्यका साथ भित्रिएको लगानीले प्राकृतिक स्रोतको अत्यधिक उपयोग गर्न खोज्नु स्वाभाविक हो । तर, प्राकृतिक स्रोतको उपयोग दोहनको तहमा पुग्न दिनु भने नेपाल र नेपाली जनताको दीर्घकालीन हितमा हुनेछैन । जथाभावी प्रकृतिको दोहनले निम्तिने समस्याको समाधान अझ बढी कष्टकर र चुनौतीपूर्ण हुनेछ ।
कुनै पनि विदेशी लगानी नेपाल भि¥याउनुअघि त्यसले नेपालको प्रकृतिमा पार्ने प्रभावबारे गम्भीर अध्ययन गरिन आवश्यक छ । प्यास लाग्यो भन्दैमा विष पिउनु बुद्धिमानी होइन । विकास गर्ने नाममा नेपालसँग भएका सम्पदा विनाश गर्नु ठीक होइन । यसले विदेशी पुँजीलाई त खुसी बनाउला । तर, उनीहरूले चुुसेर छोडेका छोक्रा नेपालका लागि भविष्यमा दीर्घकालीन चुनौती हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *