भर्खरै :

पुस्तकालयको उद्घाटन

हेटौँडा, १६ चैत (रासस) : नेपाल पत्रकार महासङ्घको ६४ औँ स्थापना दिवसका अवसरमा आज शाखा मकवानपुरको पुस्तकालयको उद्घाटन गरिएको छ । महासङ्घको भवनमा निर्माण गरिएको पुस्तकालयको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गर्नुभएको हो ।
उहाँले उपमहानगरले पत्रकारिता क्षेत्रको आर्थिक तथा अन्य विकासका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पत्रकार समाजलाई सही बाटो देखाउने उच्च माध्यम रहेको बताउँदै पत्रकारले सत्यतथ्य बुझेर समाचार लेख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले मोफसलमा रहेका पत्रकार आर्थिक अभावका कारण समस्यामा रहेका र राज्यबाट उपलब्ध हुने सहयोग अत्यन्त न्यून रहेकाले राज्यले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमाया विष्टले राज्यबाट पत्रकारबीच भेदभाव गर्न नहुने र न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्नुभयो । पत्रकार महासङ्घका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियनका रुपेश दुलाल, स्वतन्त्र पत्रकार मञ्चका सुरेश श्रेष्ठ, पत्रकार महासङ्घका सचिव गणेश दर्पण अधिकारीलगायतका वक्ताले पत्रकारको हकहितका पक्षमा बोन्नुभएको थियो ।
उपमहानगरपालिकाको रु दुईलाख आर्थिक सहयोगमा सो पुस्तकालयको निर्माण गरिएको हो । साथै महासङ्घका प्रदेश अध्यक्ष विष्टले सो पुस्तकालय स्थापनार्थ रु एक लाख बराबरको किताब उपलब्ध गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *